Comments Add Comment

बिरामी जाँच्दा बढी पैसा लिने डाक्टरलाई सीडियो कार्यालयले समात्ने

४ असोज, काठमाडौं । तपाई बिरामी भएर कुनै अस्पताल वा मेडिकल सेन्टरमा जाँदै हुनुहुन्छ भने विरामी जाँचेको शुल्क कति तिर्ने गर्नुभएको छ ? यदि तपाईलाई पाँचसय रुपैयाँ वा सोभन्दा बढी शुल्क लिइएको छ भघने तपाईले सोझै सीडीयो कार्यालयमा उजुरी गर्नुभए हुन्छ ।

बिरामी परीक्षणका क्रममा मनपरी शुल्क असुल्ने चिकित्सकहरुले यसै सातादेखि अनिवार्य रुपमा सरकारले तोकेको नयाँ शुल्कसीमा लागू गर्नुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबारबाट लागु हुने गरी भदौ १२ गते नै चिकित्सकहरुको नयाँ शुल्क निर्धारण गरेको हो ।

घटीमा २५०, बढीमा ४७५ मात्र

doctorसरकारले तोको नयाँ शुल्क अनुसार चिकित्सकहरुले बिरामीबाट दुई सय ५० रुपैयाँ देखि ४ सय ७५ रुपैयाँसम्म मात्र लिन पाउने छन् ।

सरकारले परिक्षण शुल्कलाई चिकित्सकको विज्ञता र अनुभवका आधारमा विभिन्न चार तहमा बाँड्दै २ सय ५० देखी ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यस अनुसार एमबीबीएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् भने एमडी/एमएस वा त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षर्भन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।

एमबीबीएसपछि पाँच वर्षर्भन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रजुयट डिप्लोमा) गरेका डाक्टरका हकमा पाँच वर्षसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन् ।

मन्त्रालयले देशभरका चिकित्सकहरुले तोकिएको शुल्क सीमाभन्दा बढी शुल्क लिएको पाइएमा चिकित्सकलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले तोकिए भन्दा बढी शुल्क उठाउँने जोसुकै चिकित्सक कारवाहीमा पर्ने बताए ।

लोहनीका अनुसार नियमविपरीत बढी शुल्क असुल्ने चिकित्सकलाई स्पष्टीकरण लिएर रकम फिर्ता गर्न लगाउने देखि निलम्बनसम्मको कारवाही हुनेछ ।

मन्त्रालयकै प्रारम्भिक तथ्यांक अनुसार चिकित्सकहरुले बिरामीबाट हाल एकपटकको परिक्षणमा १८ सय रुपैयाँसम्म लिइएको भेटिएको छ ।

अबदेखी बिरामीबाट त्यती धेरै रकम असुल्ने चिकित्सकले ४ सय ७५ भन्दा बढी लिएको फेला परेमा कारबाही गरीने डा. लोहनीले बताए । उनका अनुसार बिरामी वा बिरामी पक्षले बढी शुल्क लिएको बिषयमा मन्त्रालय, मेडिकल काउन्सिल वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने छन् । ‘चिकित्सकले बिरामीसँग मनपरी शुल्क लिने तर शुल्क अनुसारको सेवा र समय नदिने समस्या धेरै भेटिएको छ’ उनले भने-‘त्यही भएर यस्तो मनपर्दी रोक्न चिकित्सकहरुको शुल्कमा सिमा निर्धारण गर्नुपरेको हो ।’

मन्त्रालयका अनुसार डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफूले लिने शुल्क सबैले देख्नेगरी टाँस्नुपर्ने व्यवस्था समेत गरेको छ । डा. लोहनीका अनुसार अबदेखि डाक्टरहरुले ७ दिनसम्म र पहिलोपटक फलोअपमा आउँदा निशुल्क सेवा दिनुपर्ने हुन्छ ।

गत वर्ष मंसिर २१ मा मन्त्रिपरिषदबाट जारी ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका ०७०’ मा रहेको कानुनी व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले नयाँ शुल्क निर्धारण गरेको हो ।

यसअघि तत्कालिन शाही सरकारको समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका डा. उपेन्द्र देवकोटाले पनि सेवा शुल्क तोकेका थिए । ०५९ मंसिर ४ मा मन्त्रीस्तरीय निर्णयबाट एमबीबीएस डाक्टरको सेवा शुल्क अनुभवका आधारमा ७५ देखि १ सय ५० रुपैयाँ तोकिएको थियो । १० वर्षर्भन्दा बढी अनुभवप्राप्त चिकित्सकले २ सय ७५ सम्म लिन पाउने व्यवस्था गरिएको थियो । तर देवकोटा मन्त्रीबाट हटे लगत्तै उक्त नियम कार्यान्वयनमा आउन सकेको थिएन ।

त्यसो त तत्कालीन राजा वीरेन्द्रले आफू राजा बनेर गज्ञीमा बसेर गरेको पहिलो निर्णयमा डाक्टरले लिने शुल्क घटाएर उदाहरणीय काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment