Comments Add Comment

हिन्दु राज्यका लागि हतियार उठाउने कांग्रेस नेताको चेतावनी

Khum-bdr-vela

२३ असोज, काठमाडौं । नेपाललाई हिन्दु राज्यमा पुनःस्थापित गर्न नेपाली कांग्रेसभित्रको ठूलो समूह संगठित भएको छ । सुरुमा खुमबहादुर खड्काले थालेको यो अभियानमा दर्जनौं सभासद र केन्द्रीय सदस्य सामेल भएपछि कांग्रेस नेतृत्व दबावमा परेको छ ।

‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’को नामबाट बिहीबार काठमाडौं नयाँ बानेश्वरमा आयोजित कांग्रेसको राष्ट्रिय भेलामा एक दर्जनभन्दा बढी केन्द्रीय सदस्य र त्योभन्दा बढी कांग्रेस सभासदहरु सहभागी थिए ।

हामी आन्दोलनको तयारीमा छौं, तपाईहरु कम्मर कसेर बस्नुस्, यदि हाम्रो आन्दोलन विरुद्ध हतियार प्रयोग भएमा हामी पनि हतियारबाटै जवाफ दिन्छौं-खुमबहादुर

मञ्चमा पूर्वसभामुख एवम् कांग्रेस नेता तारानाथ रानाभाट, भ्रष्टाचारी ठहर भएर जेल सजायँ भोगेका नेताहरु खुमबहादुर खड्का, चीरञ्जीवी वाग्लेसहित नेताहरु थिए ।

आदिवासी जनजाति समुदायका बरिष्ठ कांग्रेस नेता केबी गुरुङको समेत समर्थन रहेको यो अभियानमा कांग्रेस नेता दीपकुमार उपाध्याय, लक्ष्मणप्रसाद घिमिरे, पूर्णकुमार शेर्मा लिम्बु, मार्शलजुलम शाक्य र दूर्योधन सिंह चौधरी सहभागी भएका छन् ।

भेलामा कांग्रेस सभासदहरु राजीवविक्रम शाही, पार्वती डीसी चौधरी, स्वर्ण ज्वारचन, केशव थापालगायत करीव ३२ सभासद सहभागी भएको आयोजकले बताएका छन् ।

भेलामा कांग्रेस महासमिति सदस्य समेत रहेका अधिवक्ता कुमार रेग्मीले ‘हिन्दु राष्ट्रः नेपालको पहिचान र राष्ट्रियताको आधार’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

जबरजस्ती धर्म निरपेक्ष बनाइयो : खुमबहादुर

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता खुमवहादुर खड्काले पश्चिमाहरुले नेपाललाई बिखण्डन गर्न क्रिश्चियन धर्म प्रचारका लागि अर्बौं रुपैयाँ लगानी गरेर नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष घोषणा गराएको आरोप लगाए ।

उनले अब नेपाललाई सनातन हिन्दु राज्यमा पुनःस्थापत गर्ने आन्दोलन शुरु हुन लागेकाले देशभरका कांग्रेस कार्यकर्ता तयार भएर बस्नुपर्ने बताए । खड्काले भेलाका सहभागीलाई सम्बोधन गर्दै भने-‘हामी आन्दोलनको तयारीमा छौं, तपाईहरु कम्मर कसेर बस्नुस्, यदि हाम्रो आन्दोलन विरुद्ध हतियार प्रयोग भएमा हामी पनि हतियारबाटै जवाफ दिन्छौं ।’

खड्काले हिन्दु राज्यका लागि हुने आन्दोलनमा बल प्रयोग भएमा र कुनै घटना भएमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालको कुर्सी हल्लिने चेतावनी दिए ।

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालमा ९० प्रतिशत जनता हिन्दु र बौद्ध सहित ओमकार परिवारका सदस्य रहेकाले सनातन हिन्दु राज्य कायम गराउन आन्दोलन हुने बताए ।

कार्यक्रममा कांग्रेस नेताहरु पूर्णकुमार शेर्मा लिम्बु, पुष्पा भुसाल, रामजीवन सिंह, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतले हिन्दु राज्य बनाउने वा नबनाउने विषयमा जनमत संग्रह गर्न चुनौति दिए ।

भेलाले हिन्दु राज्यका लागि आन्दोलन गर्ने निर्णय गर्दै यसका लागि जनमत संग्रह गरे परिणाम मान्य हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक कांग्रेस नेता हरिबोल भट्टराईले अहिले केही नेताहरुको अगुवाइमा कांग्रेसको अभियान शुरु भए पनि यसमा सिंगो पार्टी पंक्ति सामेल हुने बताए ।

भेलामा सहभागी कांग्रेस सभासदहरुले संविधानसभाभित्र नया संविधानमा नेपाललाई सनातन हिन्दू राज्यका रुपमा कायम राख्न संगठित पहल गर्ने बताएका थिए ।

भेलाका सहभागी नेता कार्यकर्ताहरुले अब हिन्दु राज्य समर्थक सबै पार्टीका नेता कार्यकर्ता र साधुसन्तलाई समेटेर आवश्यक परे सशस्त्र आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment