Comments Add Comment

निर्वाचित प्रधानमन्त्रीबाट पछि नहटेको एमालेको प्रष्टोक्ति

uml-leaders

२३ असोज, काठमाडौं । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमाले दुई तिहाइ बहुमतबाट भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । साथै आफ्नो दल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको लाइनबाट पछाडि नहटेको नेताहरुले स्पष्ट पारेका छन् ।

एमाले संसदीय दलको बुधवारको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालले सभासदहरुलाई पार्टीको नीतिबारे जानकारी गराएका हुन् ।

दलको बैठकमा शीर्ष नेताहरुले सकेसम्म सबैलाई सहमतिमा ल्याउने, नत्र दुई तिहाइ बहुमतबाट भने पनि तोकिएको मितिमा संविधान जारी गर्नुपर्ने बताएको सभासद पार्वत गुरुङले जानकारी दिए । ‘सहमतिकै लागि प्रचण्डलाई संयन्त्रको नेता मानिएको र कतिपय मुद्दामा लचिलो बनेको कुरा नेताहरुले गरेका छन्’ गुरुङले अनलाइनखबरसँग भने’तर सहमतिका नाममा संविधान नबनाई अब समय खेर फाल्न हुदैन भन्ने कुरामा दुवै नेताको एउटै मत छ ।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वका कुनै पनि संविधान सर्वसम्मतिबाट नबनेको बताउँदै सबैलाई सहमत गराएर संविधान बनाउन नसकिने बताए ।

ओलीले भने-विश्वमा अहिलेसम्म सर्वसम्मतिबाट संविधान जारी भएको इतिहास कहीँ पनि छैन, राम्रोका लागि सहमति गर्ने हो, तर सानातिना शक्तिहरु सहमतिमा आएनन् भन्दैमा पर्खिने कुरा छैन ।

बैठकमा पूर्वप्रधानमन्त्री नेपालले पनि सबै पक्षलाई सहमतिमा ल्याउन अझै पहल गर्नुपर्ने भन्दै नत्र प्रक्रियामा गएर भने पनि संविधान जारी हुने बताए ।  उपाध्यक्ष भीम रावलले तीन दल र अन्य पक्षसँग भएका सम्झौताहरुको बारेमा सभासदहरुलाई जानकारी गराए ।

माओवादीलाई पैसा बाँड्न लागेको गुनासो

बैठकमा सहभागी कतिपय सभासदले शासकीय स्वरुपमा एमाले संसदीय पद्दतिमा फर्केको र राहतका नाममा माओवादी कार्यकर्तालाई पैसा बाँड्ने सहमति गरिएकोमा आपत्ति जनाएका थिए ।

सभासदको जवाफमा अध्यक्ष ओलीले विभिन्न राजनीतिक परिवर्तनमा मारिएका एमालेका कार्यकर्ता र सर्वसाधारणका परिवारलाई पनि राहत रकम दिइने गरी सम्झौता भएको बताए ।

कांग्रेसको प्रस्तावमा गइनसकेको जवाफ

पार्टी नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अडानबाट पछि नहटेको जानकारी दिएका सभासद पार्वत गुरुङले बताए ।

‘वार्ताका क्रममा संसदीय प्रधानमन्त्रीय प्रणालीमा जान सकिने कुरा आए पनि पार्टीको घोषणापत्र अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको लाइनबाट एमाले पछि हटेको छैन भन्ने कुरा नेताहरुले जानकारी दिए’ गुरुङले भने ।

सरकारको आलोचना

बैठकमा सरकारको काम कारवाहीका बारेमा उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले सभासदहरुलाई जानकारी गराएका थिए ।

सरकारको कामकारवाही शन्तोषजनक नभएको र सभासदले मन्त्रीहरुलाई भेटेर काम जनताका काम गराउन नपाएको गुनासो सभासदहरुले गरेका थिए ।

सभासदको माग सम्बोधन गर्दै ओलीले तिहारपछिदेखि पालैपालो सभासदहरुले मन्त्रीहरुलाई भेट्ने व्यवस्था दलको कार्यालयमा मिलाउने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment