Comments Add Comment

आयोग पदाधिकारीको नाममा संसदीय सुनुवाइमै विवाद

२४ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष र सदस्यमा गरिएको सिफारिस समावेशी नभएको भन्दै संसदीय सुनुवाइ विशेष समितिमा सभासदहरुले ती नाम फिर्ता हुनुपर्ने माग गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिको शुक्रवारको बैठकमा मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरुको बारेमा परेका उजुरीमाथि सुनुवाइ गर्ने कार्यक्रम थियो ।

बैठकको शुरुमै सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कर्णले सिफारिस भएका ५ मध्ये एकजना मोहन अन्सारी बाहेक अरु सबै पहाडे बाहुन क्षेत्री मात्र रहेकाले यी नाम फिर्ता हुनुपर्ने बताए ।

संवैधानिक परिषदले आयोगको अध्यक्षमा पूर्व प्रधानन्यायाधीस अनुपराज शर्मा र सदस्यहरुमा प्रकाश वस्ती, गोविन्द शर्मा पौडेल, सुदिप पाठक र मोहन अन्सारीको नाम सिफारिस गरेको थियो ।

बैठकमा राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले पनि संसदीय सुनुवाइ कर्मकाण्डीमात्र हुन थालेकाले ‘कि नाम अस्वीकार गरौं कि सुनुवाईनै नगरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली र कांग्रेस सभासद डा. प्रकाशशरण महतले पनि घुमाउरो पाराले संसदीय सुनवाइ विशेष समितिलाई बलियो बनाउने हो भने संवैधानिक परिषदले सिफारिस गरेका कतिपय विवादास्पद नाम हटाउने हैसियत राख्नुपर्ने बताएका थिए ।

सभासदहरुको आपत्तिपछि समितिका सभापति केबी गुरुङले समावेशी हुन नसक्नुको कारण संवैधानिक परिषदलाई सोध्ने निर्णय सुनाएका थिए ।

बैठकले दुई दिनभित्र परिषदबाट जवाफ माग्ने निर्णय गरेको समितिका सभापति गुरुङले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको परिषदमा सभामुख, प्रधानन्यायाधीश, विपक्षी दलका नेता प्रचण्ड र चार मन्त्री सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment