Comments Add Comment

किन चलिन् रेखा, किन चल्यो ‘हिम्मतवाली’

rekha-thapa-heroin
विजय आवाज
आमिर खानको नेपाल भ्रमणले ३ दिन नेपाली मिडिया तात्यो । एउटा बलिउडको सुपरस्टारको आगमनले देशमा चर्चा पाउनु नयाँ कुरा होइन । यता, असोज १५ गतेदेखि प्रदर्शनमा आएको रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ बक्स अफिसमा आक्रामण कलेक्शनका साथ अगाडि बढेको छ । नेपालमा बक्स अफिसको प्रचलन नुहँदा कमाइको सही आँकडा भन्न मुश्किल छ ।

रेखाको सिनेमाले कती कमायो भन्दा पनि किन चल्यो भन्ने बिषय मुख्य हो । बर्षमा एक सय सिनेमा बनेर ५ वटाले लगानी उठाउने बजार हो हाम्रो । साउन २३ गते प्रदर्शनमा आएको ‘कोहिनुर’को ब्यापार घटनाले निम्त्याएको परिणाम थियो । जसलाई बक्स अफिससँग तुलना गर्नु तर्कसंगत नहोला ।

‘हिम्मतवाली’ एउटा नारीप्रधान सिनेमा हो । नेपाली सिनेमा महिला हलमा ओइरिए चल्छ । रेखा थापा तिनै महिलाको प्रतिनिधी बनेर सिनेमा बनाउँछिन् । सलमान खानले ‘किक’मा हानेको एक्सन भन्दा रेखा थापाले फाइट हान्दा दर्शक बढी ताली बजाउँछन् । कारण, सलमानका लागि एक्सन सामान्य देखिन्छ, रेखा लागि विशेष ।
मानिस पुरुषको भन्दा महिलाको साहसमा बढी हौसिन्छ । उसलाई प्रेरणा र साथ दिन्छ ।

रेखाले ‘हिम्मतवाली’मा मात्र होइन, आफ्ना हरेक सिनेमामा यही फर्मुला अपनाएकी छिन् । काठमाण्डौमा पपकर्न टोक्दै ‘ब्याङ ब्याङ’ र ‘हैदर’ हेर्ने दर्शकका लागि ‘हिम्मतवाली’ पाच्य नहोला । तर, नेपाली समाज र दर्शक अझै पनि क्रिमडोल र समोसामा रमाउँदै सिनेमा हेर्न रुचाउँछन् । जुन यथार्थको नजिक रेखा थापा देखिन्छिन् ।
नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सक्नुपर्छ । कलाकारमा दर्शकले आफू पाउनुपर्छ ।

काठमाण्डौका पाँच तारे होटलमा पिज्जाको स्वाद लिएर, र्‍याम्पमा दौडने अनि समाज नसुहाउने फेशनमा रमाउने धेरै कलाकारका सिनेमाले नेपाली बक्स अफिसमा हावा खाएका छन् ।

रेखाले बर्षमा अफर आएका जस्ता सिनेमा पनि खेलिनन् । सस्तो रुपमा जहाँ पनि भेटिइनन् । लोकगीतदेखि म्यूजिक भिडियोमा दैनिक रुपमा टीभीको माध्यमबाट घर-घरमा पुगिनन् । उनलाई हेर्न दर्शकले एक बर्ष नै कुर्नु पर्‍यो । कलाकार सिनेमाको पर्दा र समाजसेवाबाट दर्शकसँग नजिक हुन सक्छ । तर, सस्तो रुपमा देखिनु आफ्नै लोकप्रियता घटाउनु जस्तै हो ।

चलचित्र चल्नुको अर्को कारण,  सुदर्शन गौतम पनि बने । दुबै हात नभएका सुदर्शन लाखौ नेपालीका प्रतिनिधी पात्र हुन् । जसले, शारीरिक रुपमा सशक्त र असक्त दुबैलाई प्रेरणा दिने काम गरे । उनको भूमिकाले समाजलाई सन्देश दिन्छ, जसका कारण चल्यो ‘हिम्मतवाली’ ।

उसो त रेखा थापाका फर्मुला सिनेमाले सधै उनलाई साथ दिन्छ भन्ने पनि छैन । सधै मारपिट र आफै हिरो बन्ने रेखाको फर्मुला दर्शकका लागि सधै प्रिय र नयाँ हुन्छ भन्न सकिदैन । यो बिषयमा उनले पनि ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment