Comments Add Comment

पारस शाह : हिजोका युवराज, आजका गँजडी !

paras-at-Thailand1

समाचार टिप्पणी

२५ असोज, काठमाडौं । एक जमानामा कपालको चुल्ठो बाटेर होटल- होटलमा मान्छे कुट्दै हिँड्ने पूर्वयुवराज पारस शाहको हत्कडी लगाएको तस्वीर शुक्रबार अनलाइनखबरमा प्रकाशित हुँदा धेरैले उनी पारस नै हुन् भनेर पत्याएनन् ।

झट्ट हेर्दा अफ्रिकातिरको जस्तो देखिने पारसको सकलले धेरैलाई झुक्यायो, के उनी पारस नै हुन् त ? कतिपयले त यो पारसको तस्वीरै होइन भन्ने दाबीसमेत गरे ।

हत्कडीसहितको तस्वीर प्रकाशित हुँदा पनि धेरैलाई पारस शाहको यस्तो हालतबारे पत्यार लागेन । तर, वास्तविकता कसैले नस्वीकारे पनि वास्तविकता नै थियो ।

paras-shahपूर्व युवराज पारसलाई यो हालतमा देखेर कतिपयलाई दुख लाग्यो होला, कतिपयलाई रमाइलो पनि लागेको जस्तो देखियो । तर, भर्खरै हृदयाघातको उपचार गरेर फर्केका पूर्वराजा, पूर्वरानी कोमल, औपचारिक पत्नी हिमानी र छोराछोरीले कसरी हेरे होलान् पारसको यस्तो तस्वीर ?

नेपालमा राजतन्त्र फर्काउँछु भन्ने अभियानमा लागेका कमल थापा, पदमसुन्दर लावती र विगतमा पारसको हातबाट पिटाइ खाने सगुन लावतीहरुले पारस (भावी राजा ! ?) को विद्रूप स्वरुप देखेर के सोचे होलान् ? के यही हालतका मान्छेलाई नेपालको राजगद्दीमा राख्न सक्लान् पूर्वराजावादीहरुले ?

मान्छेमा जति पनि रौनक, ओज वा आउँछ, त्यसमा सत्ताको निर्णायक हात हुँदोरहेछ भन्ने कुरा हिजोका युवराज पारस र आजका गँजडी पारसले स्पष्ट भेद छुट्याइदिएको छ ।

ज्ञानेन्द्र परिवारको स्वाभाविक नियति

पारस शाहको हालत यस्तो हुनुमा कसको दोष होला ? यो प्रश्नमा कतिपयले निर्मल निवासलाई अर्थात पारसका पितालाई दोष दिन खोजेका छन् । तर, वास्तविकता भन्ने हो भने पारसको यो नियति हुनुमा अरु कसैको नभएर उनको आफ्नै दोष छ ।

विगतमा पनि यिनै कुनै गतिलो चरित्रका मान्छे होइनन् । ज्ञानेन्द्रले उनलाई युवराजधिराज घोषणा गर्दाखेरि नै जनताले व्यापक विरोध गरेकै थिए । खान नपाएर हजारौं नेपाली युवाहरु खाडी मुलुकमा रगत र पसीना बगाइरहेका बेला पारसचाँहि धेर खान पाएर मात्तिएर गँजडी बनेका हुन् ।

गरीबहरुलाई जीवनबारे सोच्ने फुर्सद हुँदैन तर, शहरमा बस्ने प्रायः सम्भ्रान्त वर्गका युवाहरु लागू औषधको कुलतमा लाग्ने गरेका छन् । यही कुलतको प्रतिनिधि वर्ग र पात्र हुन् पारस शाह । उनी गुण्डागर्दी गर्ने गँजडीहरुका युवराज नै हुन् । चरीभन्दा कम होइनन् उनी । रुबेल चौधरीमाथि कुनै चरीले चितवनमा गोली चलाएको भए पारसले जस्तो छुट पाउने थिएन ।

त्यसैले पारस बिग्रिनुमा अरु कसैको कमजोरी नभएर उनको आफ्नै देखिन्छ ।

पूर्वराजावादीमा संकट

पारसको विषयमा कुरा गर्दा एउटा महत्वपूर्ण राजनीतिक विषय पनि सान्दर्भिक बनेर आउँछ । कमल थापा लगायतले नेपालमा राजतन्त्र फर्काउने जुन कुरा गरेका छन्, त्यसरी राजतन्त्र फर्कियो भने पारस उनीहरुका ‘सम्भावित राजा’ हुन् ।

ज्ञानेन्द्रको स्वास्थ्य आराम गर्नुपर्ने अवस्थामा पुगिसकेको छ, अझ पारसको शरीर हेर्दा पिताको भन्दा धेरै खराब छ । आफूलाई यस्तै अवस्थामा राख्ने हो भने पारसको आयु खासै लामो जाने देखिन्न । तर, पारसले आफूलाई कुलतबाट मुक्त राख्ने सम्भावना पनि छैन ।

पूर्वराजावादीहरुलाई ‘राजा’ को संकट पर्न थालेको छ । हृदयेन्द्रलाई राजा बनाउन अझै १६/१७ वर्षसम्म कुर्नुपर्ने हुन सक्छ, तर, त्यसबेलासम्म उनी राजा हुन्छु भन्ने संस्कारमा हुर्कने सम्भावना देखिन्न ।

त्यसैले पारसको दयनीय अनुहारले नेपालमा राजतन्त्र फर्काउनुपर्छ भन्नेहरुलाई कुरी कुरी गरिरहेको छ । कसलाई बनाउने राजा ? त्रानेन्द्रपछि कसलाई बनाउने ? पारसलाई ? उनका सकल हेर्दा राजा हुने जस्तो देखिन्छ र ? देखिँदैन ।

हिमानीको दुख

पारस शाह जति नै उद्दण्ड भए पनि उनकी पत्नी हिमानी इमान्दार मानिन्छन् । तर, यतिबेला उनको र पारसको औपचारिक सम्बन्ध छुटिसकेको छ । थाई युवतीसँग लागेका पारससँग हिमानीले पारपाचुकेमात्रै गर्न बाँकी छ अब ।

पारसको बिगँदो हालत वा सप्रँदो, दुबै अवस्थामा पनि हिमानीले उनीबाट सुखानुभूति गर्न पाएकी छैनन् ।

देशको बेइज्यत

पारसले थाइल्याण्डमा बसेर जे गरिरहेका छन्, त्यसले ज्ञानेन्द्र परिवारलाई मात्रै सास्ती दिएका छैनन्, लागू औषधमा पटक-पटक पक्राउ परेर पारसले नेपालको समेत बेइज्यत गरिरहेका छन् ।

नेपालीहरु विश्वमा इमान्दार नागरिकका रुपमा चिनिन्छन् । तर, देशमा बस्दा पनि सबैलाई दुःख दिइरहने पारसले बैंककमा बसेर नेपाल र नेपालीको पहिचान धमिलो बनाइरहेका छन् ।

त्यसैले नेपाल सरकार वा विशेषगरी बैंककस्थित नेपाली दूतावासले नेपालको बेइज्यत गरिरहेका पारसलाई काठमाडौं किन नफर्काउने ? उनलाई काठमाडौंमै राखेर देशबाहिर जान नदिने गरी अघोषित नजरवन्द वा पुनस्थापना केन्द्रमा किन नराख्ने ? कि यसैगरी देशको बेइज्यत भइरहन दिने ? सम्बन्धित पक्षले बेलैमा सोचोस् ।

स्वयं पारसका पिता ज्ञानेन्द्र शाह र राजा फर्काउँछु भन्ने कमल थापाहरुले पनि पारसको बारेमा सोचुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment