+
+
Shares

नेताले भने- एनआरएनलाई नागरिकता दिनेमा ढुक्क हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते १८:४८

२५ असोज, काठमाण्डौ । नेपालको राजनीतिक नेतृत्वले गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने व्यवस्था आगामी संविधान हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली दिवसका अबसरमा शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं संवैधानिक संवाद समितिका सभापति डा.बाबुराम भट्टराई, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एनआरएनलाई नागरिकता दिनेमा अब कुनै शंका नरहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने-‘मैले तपाईहरुका समस्या र माग बुझेको छु, नागरिकता दिने सहमति भइसकेको छ, त्यसलाई संविधानमा व्यवस्था गर्छौं, एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको सम्मान गर्छौं ।’

प्रधानमन्त्री कोइरालाले एनआरएन परिचयपत्रले ब्यबस्था गरेअनुसारको भिसा नपाएको भन्ने गुनासोको सम्बोधन गर्न पनि आफू तयार रहेको बताए ।
संवैधानिक सम्वाद समितिका सभापति डा. भट्टराईले गैरआवासीय नेपालीलाई नागरिकता दिने सहमति भइसकेकाले अब एनआरएनहरुले मुलुकको दोहोरो अंकको वृद्धिका लागि पूँजी भित्राउन जोड गर्नुपर्ने बताए ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गैरआवासीय नेपालीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा आफू कहिल्यै पनि नरहेको भन्दै बिदेशी नागरिकता लिइसकेका नेपाली मूलका विदेशीलाई नेपाली नागरिकता दिँदा नेपालमा लगानीको वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नागरिकताको माग सम्बोधन भएकोमा राजनीतिक नेतृत्वको प्रसंसा गर्दै अब राजनीतिक स्थायित्व र लगानीमैत्री नीतिमात्र हैन, व्यवहार अंगीकार भए गैरआवासीय नेपालीले नेपालमा लगानी भित्राउने बताए ।

गैरआवासीय नेपाली दिवसका अवसरमा काठमाण्डौमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । आइतबार पनि नेपाली नागरिकताको निरन्तरता, लगानीका सम्भावना लगायतका विषयमा विविध कार्यक्रम आयोजना हुँदैछन् ।

यी कार्यक्रमसँगै गैरआवासीय नेपाली दिवस समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?