१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले टोटनहृयामलाई पराजित गर्दा सर्जिओ एग्युरो एक्लैले चार गोल गरेका छन् ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित टोटनहृयामलाई ४-१ को जित हात पारेको हो । सिटीका लागि चारै गोल एग्युरोले गरे ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १३ औं मिनेटमा एग्युरोको गोलबाट अग्रता लिएको थियो । तर, १५ औं मिनेटमा इरिक्सनले टोटनहृयामका लागि बराबरी गोल फर्काए ।
२० औं मिनेटमा पेनाल्टी गोल गर्दै एग्युरोले नै सिटीको अग्रता दोब्बर पारे । तर, ३२ औं मिनेटमा एग्युरो पेनाल्टीमा गोल गर्न चुके । डेभिड सिल्भालाई फल गरेपछि सिटीले दोस्रो पेनाल्टी पाएको थियो ।
खेलको ६१ औं मिनेटमा टोटनहृयामले पेनाल्टी पायो । तर, रोबर्टो सोल्डाडोको प्रहार सिटीका गोलरक्षक जोए हार्टले रोके ।
खेलको ६७ औं मिनेटमा एग्युरोलाई फल गरेपछि टोटनहृयामका फाजिओले रातो कार्ड पाए भने सिटीले पेनाल्टी पायो । यस पटक भने एग्युरोले कुनै गल्ती गरेनन् र हृयाट्रिक पूरा गरे ।
खेलको ७५ औं मिनेटमा फनान्डिन्होको लामो पासमा एग्युरोले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
प्रतिक्रिया 4