Comments Add Comment

नेपालभन्दा भारतमा बढी लैंगिक विभेद देखियो

१२ कात्तिक, काठमाण्डौ । लैंगिक असमानता घटाउने दिशामा नेपालले प्रगति गरिरहेको तथ्यांकले देखाएको छ । वल्र्ड इकोनोमिक फोरमले मंगलबार सार्वजनिक गरेको लैंगिक असमानता सूचक अनुसार नेपालले महत्वपूर्ण सुधार गर्दै १ सय १२ औँ स्थानमा उक्लिन सफल भएको छ ।nepal
प्रतिवेदनअनुसार लैंगिक समानताको दृष्टिले नेपाल भारतभन्दा २ स्थान माथि देखिएको छ । लैंगिक असमानता सूचकमा भारत १ सय १४ औँ स्थानमा रहेको छ । दक्षिण एशियामा लोकतन्त्रको पुरानो अभ्यासकर्ता मानिने भारत लैंगिक विभेदबाट मुक्त हुन नसकेको प्रतिवेदनमा देखाइएको छ ।

दक्षिण एसियाली मुलुक पाकिस्तान सबैभन्दा बढी लैंगिक असमानता रहेको दोस्रो मुलुकको सूचिमा पर्दै १ सय ४१ औँ स्थानमा रहेको छ । भुटान १ सय २० औँ स्थानमा छ ।
अघिल्लो वर्ष १ सय ३६ देशमध्ये १ सय २१ औँ स्थानमा रहेको नेपाल  ९ स्थान माथि उक्लिँदै यो वर्ष १ सय ४२ देशमा १ सय १२ औँ स्थानमा रहन सफल भएको हो ।
नेपालले लैंगिक असमानता सूचकमा अघिल्लो वर्ष ०.६०५ अंक पाएकोमा यो वर्ष ०.६४६ अंक पाएको छ ।

वल्र्ड इकोनोमिक फोरमको नयाँ प्रतिवेदनअनुसार लैंगिक असमानता सूचकमा नेपाल यो वर्ष ९ स्थान माथि उक्लिएको छ । राजनीतिक सशक्तीकरणमा पनि नेपाल अगाडि देखिएको छ

सबैभन्दा कम लैंगिक असमानता भएका कारण पहिलो स्थानमा रहेको आइसल्याण्डको ०.८५९४ अंक छ भने सबैभन्दा बढी लैंगिक असमानता भएका कारण अन्तिम स्थानमा रहेको यमनको ०.५१४५ अंक रहेको छ ।

आर्थिक सहभागिता, शैक्षिक अवस्था, स्वास्थ्य तथा सुरक्षा र राजनीतिक सशक्तीकरण जस्ता मापदण्डका आधारमा लैंगिक असमानता सूचक गणना गरिएको हो ।
प्रतिवेदन अनुसार महिलाको राजनीतिक सशक्तीकरणका हिसाबले नेपाल विश्वमा ६१ औँ स्थानमा रहेको छ ।
त्यस्तै महिलाको स्वास्थ्य र सुरक्षाका हिसाबले ८८ औँ स्थानमा छ । महिलाको शैक्षिक अवस्था तथा आर्थिक सहभागिताको क्षेत्रमा भने नेपाल केही पछाडि देखिएको छ । यी दुई सूचकांकमा नेपाल १ सय २२ औँ स्थानमा रहेको छ ।
प्रतिवेदनले विश्वका कुनै पनि देशमा लैंगिक खाडल पूर्णरुपमा पुरिन नसकेको देखाएको छ ।  स्क्यान्डेभेनियन क्षेत्रका ५ देशहरु सबैभन्दा कम लैंगिक असमानता रहेका देशका रुपमा शीर्ष ५ स्थानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment