Comments Add Comment

काठमाडौं-त्रिशुली सडक विस्तार हुँदा व्यापार र पर्यटनमा टेवा पुग्ने

KTM-Trishuli-sadak-marmat
१२ कात्तिक, काठमाडौं । सडक विभागले भारतीय एक्जिम बैंकको सहयोगमा काठमाडौँ-त्रिशूली सडकको स्तरोन्नति प्रक्रिया अघि बढाएको छ ।

भारत सरकारको सहयोगमा २०१७ सालमा निर्माण गरिएको त्रिशूली जलविद्युत् केन्द्र निर्माणका लागि सामान ढुवानी गर्न खनिएको साँघुरो सडकलाई चौडा बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

सडकलाई चौडा गराउने क्रममा हाल कालोपत्र गरिएको साढे तीन मिटरलाई पाँचदेखि साढे पाँच मिटर चौडा बनाउने गरी तयारी गरिएको छ ।

सडक सुधार आयोजनाका प्रमुख प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार सडक स्तरोन्नतिका क्रममा भारत सरकारको सहयोगमा बालाजु रानीपौवा खण्डको २१.६ किमी सडकको स्तरोन्नतिको काम सुरु भइसकेको छ । रानीपौवादेखि विदुर नगरपालिकाको पिपलटारसम्मको ३४.०९ किमि सडकको बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।

बालाजु-पिपलटार सडक स्तरोन्नतिका लागि एक अर्ब ७२ करोड २५ लाख रुपैयाँ खर्च हुने आयोजना प्रमुख अनन्त पौडेलले जानकारी गराए ।

उनका अनुसार बालाजुु-रानीपौवा सडकका लागि २८ करोड रुपैयाँमा बोलपत्र स्वीकृत भई अन्तिम सर्वेक्षणको काम भइरहेको छ । सडक स्तरोन्नतिका लागि हालसम्म डिभिजन सडक कार्यालय, नुवाकोटले हेर्दै आएको बोलपत्र प्रक्रिया सकिएसँगै आयोजनालाई हस्तान्तरण गरिने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख बुद्धि गुरुङले बताए ।

नेपालको विकासका बहुसम्भावना उजिल्याउनेे यो सडक स्तरोन्नति काठमाडौं उपत्यका र पूरै मुलुकको विकासका लागि बहुउपयोगी हुने विश्वास लिइएको छ ।

काठमाडौँ क्षेत्र नं ७ का सभासद् रामवीर मानन्धर काठमाडौँ-त्रिशूली सडक स्तरोन्नति काठमाडौँको विकासका साथै नेपालकै समग्र विकासका लागि बहुउपयोगी हुने विश्वास व्यक्त गर्छन ।

नेपालको प्राचीन इतिहास हेर्ने हो भने व्यापारिक रुपमा काठमाडौँले तिब्बतलाई प्रभाव पारेको थियो । त्यहाँको व्यापारमा नेपालीको अंश भएकामा वर्तमानमा आएर तिब्बत विकासको पथमा धेरै अगाडि बढेको छ । तर, नेपालले आर्थिक विकासको क्षेत्रमा भने अझै उल्लेख्य प्रगति गर्न सकेको छैन ।

विगतमा तिब्बत आउने धार्मिक पर्यटक नेपालबारे सुनेर प्रभावित हुने गरेकामा अहिले आएर नेपालबारे थाहै नहुने अवस्था सिर्जना हुनु दुःखद भएको सरोकारवालाको भनाइ छ ।

तिब्बतको बजार दिनप्रतिदिन बढ्दै जाने तर नेपाल विकासमा पछि पर्दै गएको वास्तविकतामा तिब्बतमा आउने पर्यटकमध्ये केहीलाई नेपाल तान्न सकेमात्र पनि पर्यटन व्यवसायमा ठूलै टेवा पुग्न सक्ने विश्वास लिइएको छ ।

पहिलेपहिले मानसरोवर जाने भारतीय तीर्थयात्री धेरै हुने भए पनि अहिले घट्दै जानुलाई तिब्बतसँग नेपालको व्यावसायिक सम्बन्ध टाढिँदै गएको अनुमान गरिएको छ ।

व्यावसायिक सम्बन्ध कमजोर बन्दै जानुमा राजनीतिक कारण एउटा पाटो रहे पनि मुख्य कारण भने आर्थिक नै रहेको सभासद् मानन्धरको भनाइ छ । नेपालको आर्थिक विकासका लागि ल्हासासम्म जोडिएको रेलमार्गलाई केरुङ नाकाबाट तिब्बत र त्रिशूली जोड्नैपर्छ भन्ने उनको धारणा छ ।

उक्त कार्यका लागि हालै प्रारम्भ गरिएको सडक स्तरोन्नति निकै उपयोगी हुने विश्वास लिइएको छ ।

उनले भने- ‘नेपालले त्यहाँबाट लुम्बिनीसम्म रेल चलाउन सक्ने हो भने तिब्बत, लुम्बिनी, सारनाथको बौद्ध मार्ग बन्न सक्छ । भारतीय रेलसेवालाई लुम्बिनीसम्म ल्याउने हो भने तिब्बत आउने पर्यटक नेपाल हुँदै भारत जाने र भारत आउने पर्यटक लुम्बिनी हुँदै तिब्बत जान धेरै सजिलो हुन सक्छ ।’

यस्ता पर्यटक मनोरञ्जनका लागि मात्रभन्दा पनि नेपालबारे धेरै जान्न खोज्ने किसिमका पर्यटक हुने भएकाले नेपालको सम्भावित विकासका लागि काठमाडौँ-त्रिशूली सडक स्तरोन्नति वरदान सावित हुनसक्ने हुँदा स्तरोन्नतिसँगै रेलमार्ग निर्माणलगायतका विषयमा भारत र चीनभन्दा पनि नेपालले सक्रियता देखाउनुपर्नेमा उनको जोड थियो ।

तिब्बतसँग व्यापारको बाटो खोल्नु भनेको चीनको विशाल बजारसँग सम्बन्ध जोड्नु हो । वर्तमानमा नेपालमा चिनियाँ सामानको अत्यधिक प्रचलन छ ।

सडक स्तरोन्नतिसँगै यातायातको मार्गले जोड्न सक्ने हो भने त्यहाँबाट सामानका साथै मानिस पनि यहाँ आउन थाल्ने भएकाले काठमाडौंको बालाजु, बसपार्कलगायतका स्थानमा व्यापारको क्रम तत्काल बढ्न जाने स्थानीयवासी दिनेश अधिकारीले बताए ।

पछिल्लो समयमा चिनियाँ पर्यटक नेपालमा धेरै नै बढेका छन् । चिनियाँहरु साहसिक खेलमा विशेष रुचि राख्ने र नेपालमा साहसिक खेलका सम्भावना पनि धेरै भएका कारण त्यस किसिमका पूर्वाधारको विकास अपरिहार्य देखिएको उनले बताए । वासुदेव पौडेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment