Comments Add Comment

महेश बस्नेतले कुरै बुझेनन् : पूर्व उद्योगमन्त्री थापा

१३ कात्तिक काठमाडौं । खेतान समूहले सञ्चालन गर्न लागेको दोलखाको खरीढुंगास्थित ओरियन्टल म्याग्नेसाइट उद्योगको विषयलाई लिएर उद्योग मन्त्री महेश बस्नेत र पूर्वउद्योगमन्त्री कर्णबहादुर थापावीच विवाद देखिएको छ ।
पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग सञ्चालनका लागि खेतानको प्रस्ताव गरेभन्दा लचिलो भएर सम्झौता गरेकाले आफूले उक्त निर्णय उल्ट्याएको मन्त्री बस्नेतले दाबी गरेका छन् ।mahesh-purna
तर, पूर्वमन्त्री थापाले भने महेश बस्नेतले कुरै नबुझेको र यसविषयमा आफूसँग सल्लाहसमेत नमागेको बताएका छन् ।
एमालेले केपी ओली समूहका थापालाई फिर्ता बोलाएर सोही समूहका युवा संघ अध्यक्ष बस्नेतलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिए पनि पूर्वमन्त्री थापाले बस्नेतप्रति आफ्नो कुनै गुनासो नरहेको बताए ।
‘बस्नेतलाई मैले नै अघि बढाएको हुँ, अरुसँग गुनासो भए पनि उनीसँग मेरो कुनै गुनासो छैन,’ पूूर्वमन्त्री थापाले भने, ‘तर, उनलाई कसले के सिकाइरहेको छ कुन्नि, ओरियन्टल म्याग्नेसाइटका बारेमा उनले बोलेको कुरामा केही पनि सत्यता छैन ।’
राष्ट्रघाती निर्णय सच्याएँ – मन्त्री बस्नेत
खेतान समूहलाई ओरिण्ड म्याग्नेसाइट उद्योग सञ्चालनको अनुमति दिँदा राष्ट्रघात हुने देखेर नै रोकेको हुँ’ बस्नेत भन्छन्, यसअघि उद्योग मन्त्रालयले गरेको सम्झौताअनुसार उद्योग सञ्चालनको अनुमति दिन सकिँदैन ।’
खेतान समूहको प्रस्तावपछि तत्कालीन उद्योगमन्त्री थापाको कार्यकालमा समूहसँग उद्योग सञ्चालनको विषयमा १० बुँदे सहमति भएको बस्नेतले बताए ।
तर, पूर्वमन्त्री थापाले भने खेतान समूहले प्रस्तावमात्रै ल्याएको र त्यसबारे कुनै निर्णय भइनसकेको स्पष्ट पारे ।
‘तर, यो प्रस्ताव हेर्दा ७५ प्रतिशत सरकारी स्वामित्व रहेको कम्पनी १२ वर्षसम्म एउटा अमूक समूहले कब्जामा लिने अवस्था देखियो’ मन्त्री बस्नेतले भने -यसको फाइल मैले र सचिवज्यूले हेर्‍यौ र सहमति दिँदा राष्ट्रलाई फाइदा हुने अवस्था कहीँ पनि देखेनौं ।
महेश बस्नेतले कुरै बुझेनन् : थापा
तर, पूर्वमन्त्री थापाले भने  ओरियन्टल म्याग्नेसाइटका बारेमा बस्नेतले कुरै नबझेको भन्दै खेतान समूहसँग आफ्नो पालामा कुनै सहमति नभएको बताएका छन् ।
‘यो सबै छलफलकै प्रक्रियामा थियो, राजेन्द्र खेतान को हो, मैले चिनेको पनि छैन, उसँग मेरो भेट भएको पनि छैन, पूर्वमन्त्री थापाले अनलाइनखबरसँग भने, मैले कसैसँग अनुचित लाभ लिएको कसैले प्रमाणित गर्छ भने म राजनीतिक जीवनबाटै सन्यास लिन तयार छु ।’
पूर्वमन्त्री थापाले कम्पनीका ७५ वर्षीय जीएम दिनेश भट्टराईमार्फत आफूले उनीहरुको बि्रफिङ सुनेको तर खेतानलाई अहिलेसम्म नचिनेको बताए । उनले भने- राजेन्द्र खेतान भन्ने मान्छे त भागी भागी हिँडेको छ भन्ने सुन्छु, उसलाई मैले चिनेकोसम्म छैन ।’
ओरियन्टल म्याग्नेसाइट उद्योग सञ्चालन गर्न दिँदा राष्ट्रलाई कुनै घाटा नहुने पूर्वमन्त्री थापाले दाबी गरे ।
‘सुरुमा सञ्चालनमा लाग्ने १४ करोड खर्च साढे १२ प्रतिशत शेयर रहेका खेतान समूह र उडिसाको ओरियन्टल म्याग्नेसाइट उद्योगले आफैं लगाउने बताएका थिए,’ पूर्वमन्त्री थापाले भने, ‘नेपाल सरकारले एक पैसा खर्च नगरी उद्योग सञ्चालन हुनु र ५/७ सय नेपालीले रोजगारी पाउनु के राष्ट्रघात हो ?’
हाल बन्द रहेको ओरियन्टल म्याग्नेसाइट उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत शेयर छ । यसमा खेतान समूहको साढे १२ प्रतिशत र उडिसाको ओरियन्टल म्याग्नेसाइट उद्योगको साढे १२ प्रतिशत शेयर छ ।
हाल बन्द रहेको रुग्ण उद्योग सञ्चालन गर्न खेतान समूहले इच्छा गरेको नभई उद्योग मन्त्रालयले नै आग्रह गरेको थापाले बताए । तर, यसमा अर्थमन्त्रालयको अवरोधले सहमति हुन नसकेको उनले अनलाइनखबरलाई बताए ।
‘बन्द रहेका उद्योगहरु सञ्चालनमा आउँदा कसरी राष्ट्रघात हुन्छ ?’ पूर्वमन्त्री थापाले अनलाइनखबरसँग भने,’खेतान गु्रप र उडिसाको कम्पनीले १४ करोड लगानी गर्ने र उद्योगले काम नगरेमा त्यो पैसा नेपाल सरकारसँग नमाग्ने प्रस्ताव गरेका छन् ।’
दुई अर्ब ६१ करोड रुपैयाँ सेयर रहेको उद्योगमा १४ करोड  प्रारम्भिक लगानी गरेर सञ्चालनमा आएपछि दुई वर्षसम्म सरकारलाई ५ प्रतिशत मुनाफा दिने खेतानको उल्लेख छ ।
त्यस्तै अर्को २ वर्षसम्म १० प्रतिशत र अर्को ३ वर्षसम्म १५ प्रतिशत मुनाफा कम्पनीले सरकारलाई बुझाउने खेतान समूहको प्रस्ताव छ ।
त्यसैगरी लगानी उठेपछि ५ वर्षसम्म नाफाको ५० प्रतिशत मुनाफा कम्पनीले नेपाल सरकारलाई बुझाउने खेतान समूहको प्रस्ताव थियो ।
यस्तो प्रस्तावले सरकारलाई घाटा नहुने र सयौं नेपालीले रोजगारी पाउने र सरकारलाई आर्थिक लाभ हुने पूर्वमन्त्री थापाको दाबी छ ।
म्याग्नेसाइटको बजार भारत हो । तर, यसको खानी नेपाल र चीनमा मात्रै छ । चीन सरकारले आफ्नो देशको म्याग्नेसाइट उद्योगलाई सहुलियत दिन थालेपछि दोलखामा रहेको उद्योगको बजार सुकेको र भारतले चीनबाट सस्तोमा म्याग्नेसाइट खरिद गर्न थालेको पूर्वमन्त्री थापाले बताए ।
‘तर, अहिले चीन सरकारले सहुलियत बन्द गरेको छ र नेपालमा यो उद्योग चल्न सक्ने अध्ययनले देखाएको छ, थापाले भने, ‘यसको बजार भारत नै भएकाले उडिसाको कम्पनीसँग मिलेर उद्योग सञ्चालन गर्दा राम्रो हुने देखिन्छ ।’

यो पनि पढ्नुहोस्

महेश बस्नेतले फेल गराए खेतानको खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment