Comments Add Comment

पोर्चुगल मा सुशी तालिम र पोर्तुगीस भाषा कक्षा संचालन गरिने

पोर्चुगल । नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल ले नोभेम्बर १६ तारिखदेखि सीपमूलक सुशी तालिम शुरु गर्ने भएको छ । शनिबार सम्पन्न महासंघ सचिवालयको बैठकले हेल्प डेस्कको स्थापनासहित पोर्तुगीस भाषा कक्षा पनि संचालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिदैं अध्यक्ष कान्छा शेर्पाले तालिमका लागि आवेदन दिन युवाहरुलाई अनुरोध गरेका छन् । तालिमका लागि लिस्बनका सुशी बारमा काम गर्दै रहेका सुशी सेफ र सुशीमेनहरु कान्छा शेर्पा, बालकुमार लिम्बु, बीरेन पुन मगर, टेण्डी शेर्पा, याम गुरुङ, दीलिप फगामीमगर, टेन्जी शेर्पा र टेक फगामी मगरले सहजीकरण गर्नेछन् । प्रशिक्षार्थीको संख्या सीमित हुनेछ । दैनिक ४ घन्टाका दरले तालिम दिइने छ । तालिमको अवधि २५ दिनेको हुनेछ ।

ईच्छुक नेपाली युवाहरुले महासंघका कान्छा शेर्पा, राजु लामा तामाङ, वीरेन पुन मगर, कला राई, याम गुरुङ, रामचन्द्र श्रेष्ठ र योगेन्द्रमिलन छन्त्यालसँग सम्पर्क गरी आवेदन फाराम बुझाउन सक्ने छन् ।

पोर्चुगलमा विश्वभर प्रसिद्ध जापानीज खाना सुशी पाइने रेष्टुरेन्टहरु धेरै संख्यामा नभए पनि बफेट पाइने ठाउँहरुमा सुशीको निकै माग हुने गरेको रेष्टुरेन्ट व्यवसायीहरु बताउँदछन् । भात, समुन्द्री खाना र फलफूल प्रयोग गरी तयार गरिने सुशी युरोपियन शहरहरुमा निकै महङ्गो र स्तरीय खाना मानिन्छ । सुशीमा निपुण कामदारले पोर्तुगलमा पनि अरुभन्दा तुलनात्मक रुपमा सजिलो र राम्रो आम्दानी हुने काम पाउन सक्छ ।

महासंघले नेपालीहरुलाई अत्यावश्यकीय सूचना र सेवा प्रदान गर्न हेल्प डेस्क पनि संचालन गर्ने भएको छ । पासपोर्ट नवीकरणको समस्यालाई न्यूनीकरण गर्न हाम्रो प्रयास अत्यन्त प्रभावकारी बनाउने छौं, उपाध्यक्ष वीरेन मगरले बताए । पोर्तुगलको बसाईंमा आइपर्ने सबै खालका समस्या समाधानका लागि परामर्शको भूमिका निभाउने हेल्प डेस्कबारे अर्का उपाध्यक्ष राजु लामाले बताए ।

यसैगरी महासंघले नवआगन्तुक नेपालीहरुका लागि आधारभूत पोर्तुगीस भाषा कक्षा संचालन गर्ने भएको छ । भाषा कक्षाका लागि हाललाई योगेन्द्रमिलन छन्त्याल, भिक्टर म्यानुअल र सोनामछिरिङ शेर्पाले सहजीकरण गर्ने छन् ।

(योगेन्द्रमिलन छन्त्यालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment