+
+
Shares

पलेँटीमा आभासको सांगीतिक यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १८:०६

काठमाडाैं । बितेको १३ वर्षदेखि पलेँटी संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास स्वयं यसपटकको कार्यक्रममा प्रस्तुत हुने भएका छन् । नेपालयले संचालन गर्दै आएको यस लघु सांगीतिक कार्यक्रमको सुरूवात पनि आभाषकै गीतहरूबाट भएको थियो ।

केही अन्तरालको विश्रामपछि गएको फ्रेब्रुअरीबाट पलेँटीलाइ बिषयवस्तु अथवा ‘थीम’मा आधारित हुनेगरि पुनः सुरु गरिएको हो । त्यसअनुसार गत महिनाको पलेँटीमा नेपाली संगीतमा महिला गायनको चर्चा भएको थियो । यसपालीको विषय आभासको संगीतिक यात्रामा केन्द्रित हुनेछ । गत महिनामा झैँ यसपालीको पलेँटीका ’न्यारेटर’ पनि आभास नै रहनेछन् । उनले यो महिनाको आफ्नो पलेँटीलाई ’मैले हिंडेको सांगीतिक गोरेटो’ शीर्षक दिएका छन् ।

सानै उमेरदेखि संगीतमा झुकाव भएका आभाससँग नेपाली संगीतका विविध धारसँग यात्रा गरेको लामो अनुभव छ ।  किशोर उमेरमा उनी नेपालको वैकल्पिक धारसँग सम्बन्धित रहे । सुरुमा नेपालको वामपन्थी धारको निकट रहेका मञ्जुल र रामेशबाट गीति यात्रा थालेका आभास एउटा कालखण्डमा पुगेर अम्बर गुरुङको गुरुकूलका विद्यार्थी बन्न पुगे। विविधताले भरिएको सांगीतिक यात्राले आफ्नो सोचलाई फराकिलो बन्न मद्दत गरेको उल्लेख गर्दा आभासमा गर्वको अनुभूति देख्न सकिन्छ ।

कविका रूपमा समेत परिचय बनाएका आभास संगीतका तीनवटै विधा लेखन, गायन र संगीतमा क्रियाशील कलाकार हुन् । उनका सांगीतिक रचनाहरूले सामाजिक,राजनैतिक साथै मानव मनको निजात्मक भावलाई समेत समेट्ने गरेको पाइन्छ । उनी आफ्ना रचनाहरूमा हाम्रो समाजमा विद्यमान विविध विषयलाई समेटने प्रयत्न गर्छन् । संगीतका निम्ति रचना समेट्दा आभास आफ्नो वैचारिक घेरालाई फराकिलो बनाउन रुचाउँछन् । त्यसैले उनका संगीतमा मञ्जुल, विक्रम सुब्बा, बानिरा गिरी, तीर्थ श्रेष्ठ,विप्लव प्रतीक, श्रवण मुकारुङ, भीष्म उप्रेतीजस्ता अनेकौं कविका गीतहरू समेटिएका हुन्छन् ।

’मैले नेपाली सांगीतिक क्षेत्रमा कलालाई धेरै महत्व दिने र विचारलाई धेरै महत्व दिने दुबै सोचका अगुवा र दौतरीहरूसँग संगत गर्न पाएँ त्यसले गर्दा मेरो सांगीतिक यात्रा झन रोमाञ्चक रह्यो । पछिल्लो समयमा यी दुबै धारका कलाकारमा ’कला जीवनकै निम्ति हो’ भन्ने कुरामा समानता भेटेपछि झन् रमाइलो अनुभूति हुन थाल्यो । म अहिले त्यही रमाइलो अनुभूतिका साथ संगीतमा क्रियाशील छु, ’ आभासले भने ।

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका  धेरै सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीमा प्रस्तुत भएका कलाकारसँग प्रत्यक्ष संगत गर्न पाउनुलाई पनि सुनौलो अवसरको रुपमा व्याख्या गर्छन् आभास ।

’पलेँटीमा प्रस्तुत भएका कलाकारहरूको ज्ञान र कला साधनाले मलाई सँधै सकारात्मक सोचतर्फ आकर्षित गरेको अनुभूत हुन्छ । आफ्नो विधाका अगुवाहरूसँग संगत गर्न पाउनु कुनै गहन पुस्तक पढ्नु जस्तै रहेछ,’ आभासले भने ।

यस महिनाको पलेँटीमा आभासले विगतका आफ्ना अनुभवका साथ डेढ दर्जन जति सांगीतिक रचना सुनाउने छन् । कार्यक्रमका लागि आभासले विगतका सांगीतिक अभियान ’संकल्प’ र ’आस्था’ कालदेखि अहिलेसम्मका गीतलाई छनोटमा राखेका छन् । कार्यक्रममा उनले गीतसँगै वि.सं. २०३६ साल र त्यस यताको उनको सांगीतिक यात्रा साथै त्यस यताका राजनैतिक तथा सामाजिक परिवर्तन र तिनमा रहेका विविध पक्षमा केन्द्रित आफ्नो संस्मरण पनि सुनाउने छन् ।

‘कलालाई राजनैतिक तथा सामाजिक चेत र वैयक्तिक भावना दुबैको संगम हो भन्ठान्छु र त्यही सोचमा रहेर आफ्नो सृजना धर्म निभाउँदै आइरहेको छु,’ उनी भन्छन्, ’यसपालीको पलेँटीमा म आफ्नो त्यही चेतको धारमा उभिएर प्रस्तुत हुने छु ।‘

अँग्रेजी महिनाको अन्तिम शुक्रवार मात्र हुँदै आएको पलेँटी गएको महिनादेखि अन्तिम सप्तान्त अथवा महिनाको अन्तिम  शुक्रवार, शनिवार र आइतबार गरी तीनदिन आयोजना हुन थालेको छ । श्रोता दर्शकको रुचि र चासोको आधारमा कार्यक्रमका दिनहरू अझै थप्न सकिने कुरा समेत नेपालयले जानकारी गराएको छ ।

यही मार्च २९, ३० र ३१ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।

पलेँटीको टिकट बूकिंग पलेँटी र नेपालयका सामाजिक संजालमार्फत तथा बेबसाइटबाट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?