१७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेले पेश गरेको सात प्रदेशको प्रस्तावमा संघीयताको गन्ध समेत नरहेको बताएका छन् ।
सम्वाद समितिको बैठकमा प्रचण्डले कांग्रेस र एमालेले १४ प्रदेशलाई सात अञ्चल बनाएर ल्याएको बताए । उनले भने-‘तपाईहरुले ०४७ सालको संविधान फर्काउन खोज्नु भएको जस्तो लाग्छ ।’
सम्वाद समितिको बैठकमा प्रचण्डले बोल्नुअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले सात प्रदेशसहितको विवादित विषयमा साझा प्रस्ताव पेश गरेका थिए ।
कोइराला र ओलीको नाम लिँदै उनले गणतन्त्र समेत उल्टाउन खोजेको आरोप लगाए । उनले भने-‘तपाईहरुलाई इतिहासले माफ गर्ने छैन् । जनताले माफ गर्ने छैन ।’
गिरिजाप्रसादले अधिकारसम्पन्न मधेस प्रदेश बनाउने सम्झौता गरेको भन्दै उनले भने-‘गिरिजाप्रसाद नभएको बेला तपाईहरु कुन बाटो जाँदै हुनुहुन्छ ?’
कांग्रेस र एमालेले छुट्टै प्रस्ताव ल्याएर सहमतिको प्रयास भाँडेको प्रचण्डको आरोप छ ।
प्रतिक्रिया 4