Comments Add Comment

‘मोबाइल एपको व्यवसायीक सम्भावना प्रशस्त रहेको छ’

Seminar_Ncell-App-Camp-final-2
१९ कात्तिक, काठमाडौं । एनसेल एपक्याम्प-२०१४ मा छनोट भएका एक सय ५० समूहका लागि एप निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहति एनसेलले मोबाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकालले प्रतिस्पर्धी समूहहरुलाई सिर्जनशील बन्न आग्रह गर्दै एप्लिकेसन निर्माण गर्दा एप्लिकेसन प्रयोगकर्तालाई लामो समयसम्म व्यस्त राख्नका लागि आवश्यक विशेषताहरु समेट्नुपर्ने आवश्यक रहेको बताए ।

उनका अनुसार एप्लिकेसन निर्माताले बजारीकरणका लागि सामाजिक सञ्जालबाट फाइदा लिनु महत्वपूर्ण हुनेछ ।

अन्तक्रिर्यामा सहभागी वक्ताहरुले एप्लिकेसन निर्माणसँग सम्बन्धित कानुनी तथा प्राविधिक चुनौतीका साथसाथै सम्भावनाहरुबारे छलफल गरेका थिए । उनीहरुले सबैखाले व्यवसायीहरुले आफ्नो खर्च घटाउन मोवाइल एप्लिकेसनको प्रयोग गर्ने क्रम बढेको बताए ।

‘विश्वका अन्य विकासित देशहरुले इन्टरनेटलाई व्यवसायीक रुपमा प्रयोग गरिरहँदा नेपालमा भने त्यो सम्भव भएको थिएन । तर, नेपालमा इन्टरनेट तथा मोबाइल प्रयोगकर्ताहरुको संख्या उल्लेखनीय रुपमा बढेकाले हाल यस क्षेत्रमा व्यवसायिक सम्भावनाहरु प्रशस्त देखिन्छन्’ गोल्छा अर्गनाइजेसनका अध्यक्ष सञ्जय गोल्छाले भने- ‘अब हामीले यो क्रमलाई पछ्याउन सक्नुपर्छ ।’

सहभागीहरुलाई हौसला प्रदान गर्दै फोकस वान नेपालका कार्यकारी निर्देशक आदिश श्रेष्ठले नेपाली व्यवसायीहरुलाई मोवाइल एप्लिकेसनहरुले तथ्यांक संकलनका लागि पनि सहयोग पुर्‍याउने क्रम बढेको बताए ।

यस्ता एप्लिकेसनहरुमा लगानी गर्न इच्छुक कम्पनीहरुको संख्या पनि हाल उल्लेखनीय रहेको बताउँदै उनले भने, ‘मोबाइल एप्लिकेसनकै कारण तथ्यांक संकलन कार्य सहज र द्रूत भइरहेको छ ।’

Seminar1_Ncell-App-Camp-final

एनसेलका बिटुसी विभाग प्रमुख भाहदत जेहतावले एप्लिकेसनको विश्वव्यापीकरण मात्रै ठूलो समस्या नभएको बताए । निर्माताले आफ्नो लक्ष्यप्रति केन्द्रित भएर एप्लिकेसन निर्माण गरे आफ्नो उद्देश्य प्राप्त गर्न सक्छन्, उनले भने ।

कार्यक्रममा सहभागी समूहहरुले प्रतिलिपी अधिकार तथा अन्यचुनौतीका बारेमा जिज्ञासा राखेका थिए । ‘नेपालमा मोबाइल एप्लिकेसनलाई प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार प्रतिलिपी अधिकारका रुपमा हेर्ने गरिन्छ, जसअनुसार मोवाइल एप्लिकेसन बनाउनेले कुनै निकायमा दर्ता गराइराख्नु पर्दैन । तर निर्माताले कानुनी रुपमा आफू सुरक्षित रहन दर्ता गर्नु फलदायी हुन्छ’ पायोनियर ल एसोसियट्सकी एड्भोकेट अञ्जू उप्रेती ढकालले भनिन् ।

त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले सरकारले प्रविधि विकासको क्षेत्रमा कानुन बनाउने प्रक्रियामा प्रतिक्रियात्मक भूमिकामात्रै निर्वाह गर्ने गरेको बताउनु भयो ।

एनसलेले आवेदन परेका ४ सय ५७ आवेदकहरुमध्ये १ सय ५० वटा समूहलाई प्रतिस्पर्धाका लागि छनोट गरेको छ । छनोट भएका समूहहरुले कृषि, पर्यटन, शिक्षा तथा कर्पोरेट गरी विभिन्न विषयगत क्षेत्रहरुमा सम्बन्धित एप्लिकेसन निर्माण गर्नेछन् ।

छनोट समूहहरुमध्ये अब प्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि अवसर दिइनेछ ।

यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।

साथै, मूख्य बिजेता समुहले २०१५ मा हुने अन्तराष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment