Comments Add Comment

गगन थापा र लोकमानको घरछेउमा खाल्डो ! (फोटो कथा)

old-baneshwor (9)

१९ कात्तिक, काठमाडौं । सुशील कोइराला र केपी ओलीले नेतृत्व गरेको सरकार जनताप्रति कति गैरजिम्मेवार छ भन्ने हेर्न राजधानीबाट टाढा जानुपर्दैन, पुरानो बानेश्वरदेखि मैतीदेवी हुँदै पुतलीसडकसम्म हिँडे पुग्छ ।

सिनामंगल, भीमसेन गोला, पुरानो बानेश्वर, मैतिदेवी र डिल्लीबजार हुँदै पुतलीसडक जोडिने सडक लथालिङ्ग भए पनि त्यसलाई मर्मत गर्ने चासो सरकारले देखाएको छैन । सडकभरि खाल्डैखाल्डा छन्, जहाँ पानी र ढल जमेर सवारी साधन मात्र होईन,पैदलयात्री समेत हिँड्न सक्ने अवस्था छैन । सडक आसपासका व्यापारीहरु विस्थापित हुने अवस्थामा छन् ।

काठमाडौंको यही क्षेत्रमा बस्छन् युवा नेता गगन थापा र अख्तियार प्रमुख लोकमानसिंह कार्की । माधव नेपालको चुनाव क्षेत्रलाईसमेत छुन्छ यो बाटोले । सडक निर्माणका लागि भन्दै दुई वर्ष अघिदेखि भत्काइएको सडक कहिलेदेखि निर्माण पूरा गरिने हो, कुनै टुङ्गो छैन । भीमसेनगोलादेखि पुरानो बानेश्वर चोकसम्मको सडकमा डोजरले उधिनेर पूर्णरुपमा भत्काइएको छ । सडकभरि निर्माण सामग्री राखिएकाले पैदल हिँड्न नसकिने अवस्था छ ।

old-baneshwor (3)

लामो समयदेखि बाटो नबन्दा यस क्षेत्रका कतिपय व्यापारीहरु पसलै विक्री गरेर अन्यन्त्र जान थालेको भीमसेनगोला चौकका व्यापारी अनिल साहले बताए । यो रुटमा चल्ने ९८ वटा सफा टेम्पो समेत चल्न नपाउँदा जीविकोपार्जन गर्न मजदुरहरुलाई समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सिनामंगल सफा टेम्पो इकाइ अध्यक्ष कमल सापकोटाले बताए ।

बाटो भत्किँदा टेम्पो चालकहरु रुनमात्रै सकेका छैनन् । यात्रुहरुलाई गाडीमा यात्रा गर्दा टाउको र जीउ जोगाउन मस्किल पर्छ । बालबच्चा लिएर बाटो हिँड्ने स्थिति नै छैन । स्थानीयवासी गुनासो गर्दै भन्छन्, ‘हाम्रा नेताहरु बानेश्वरतिरै हिँड्छन्, यो बाटोमा त जनतामात्रै हिँड्ने हो, जनता मरुन् कि राखुन्, नेतालाई के मतलब ?’

पुरानो बानेश्वरदेखि सिनामंगलतर्फ जाने केही किलोमिटर सडक थुनिएको वर्ष दिन बितिसक्दा पनि ठेकेदारले बनाएका छैनन् । स्थानीयमा जानकारी अनुसार बाटो भत्किएकै कारण मैतीदेवी क्षेत्रमा तीन/चारवटा गाडी पल्टिइसकेका छन् ।

कता हराए नेता ?

विकास गर्छु भन्ने माधव नेपालको तस्वीर अंकित तोरणहरु चुनावका बेला बाटाभरि टाँगिएका थिए, अहिले माधव नेपाल यो बाटोमा एकचोटि पनि आएका छैनन् ।

old-baneshwor (6)

सार्वजनिक यातायातको समस्यालाई लिएर आन्दोलन गर्छु भन्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले पनि यो रुटमा एकैपटक यात्रा गरेका छैनन् । प्रधानमन्त्रीका सवारी चालकहरुले यो बाटोमा सुशील कोइरालालाई एकचोटि पनि हिँडाएका छैनन् । २२ दलका नेता प्रचण्डलाई अरु कुरा गर्दैमा ठिक्क छ, जनताका यस्ता समस्या कसले सरकारसम्म पुर्‍याउने भन्ने प्रतिपक्षी दलका नेतालाई थाहै छैन ।

ललितपुरको सानेपा बस्ने डा. बाबुराम भट्टराईलाई पनि मैतीदेवीका जनताको व्यथा थाहा छैन । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरै मैतीदेवी छेउको बानेश्वर हाइटमा छ । अख्तियारको कार्यालय धाउने उनको रुट पनि यही हो । तर, कार्की कुन बाटो हिँडिरहेका छन्, मैतीदेवीवासीलाई थाहापत्तो छैन ।

भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीको घर बाटो भत्केकै छेउमा भीमसेनगोलामा पर्छ । रातोपुल घर भएका गगन थापा पनि तरकारी किन्न आउने वा सिंहदरबार धाउने बाटो यही हो । तर, उनीहरु तर्केर सजिलो बाटो खोज्दै सिंहदरबार धाइरहेका छन् ।

प्रधानमन्त्री कार्यालयमा कृष्णहरी बास्कोटा हुँदासम्म उनले बेलाबखत सडकमा निक्लेर ठेकेदारलाई हप्काउँथे, अहिलेका सचिव शान्तराज सुवेदी शान्त भएर बसेका छन् ।

वर्ष दिन बितिसक्यो, ठेकेदार मस्त सुतेका छन् । स्थानीयको गुनासो छ, ‘सरकार र ठेकेदारको लापरवाहीले गर्दा यस्तो भएको हो ।’

ठेकेदारको दोष खानेपानीलाई 

सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरु सुदिप श्रेष्ठ, पेम्वा लामा र बालकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरु काम ढिलाइ हुनुमा आफ्नो दोष देख्दैनन् । खानेपानी संस्थानका कारण यस्तो हालत भएको ठेकेदार सुदीप श्रेष्ठ बताउँछन् । ‘हामीले पाइप बिछ्याएर काम अघि बढाइसकेका थियौं, तर खानेपानी संस्थानले अर्कै पाइप लगाउने भन्दै रोकेपछि सडक निर्माणको काममा ढिलाइ भएको हो,’ श्रेष्ठले भने ।

सार्कले नछुने रुट

काठमाडौंमा हुन लागेको १८ औं सार्क सिखर सम्मेलनमा भाग लिन छिमेकी देशका सरकार प्रमुखहरु नेपाल आउँदैछन् । भारतीय प्रधानमन्त्री मोदी हिँड्ने बाटो राम्रो पार्न सरकार जनकपुरसम्मै तम्सिएको छ ।

old-baneshwor (12)माइतीघर आसपास निजीघरमा समेत सरकारी खर्चमा रंग रोगन गरिँदैछ । काठमाडौंलाई झिलीमिली पार्ने अभियान चलिरहेको छ । तर, मोदी नहिँड्ने यो रुटमा भने सरकारले चासो दिएको छैन । पुरानो बानेश्वर साँच्चैको ‘थोत्रे बानेश्वरमा’ मा परिणत भएको छ ।

पुरानो बानेश्वरबाट मैतीदेवी हुँदै पुतलीसडक पुग्ने बाटो बिग्रिएपछि विदेशीहरु बस्ने बत्तीसपुतलीमा रहेको होटल द्वारिकाज र भर्खरै खुलेको मिराबेल होटल र बाजेको सेकुवालाई समेत घाटा परेको छ ।

सार्क सम्मेलनका लागि भन्दै काठमाण्डौका मुख्य सडकहरु रातारात कालोपत्रे गर्ने, रंगरोगन गर्ने, जेब्रा क्रसिङ गर्ने, सडक छेउमा हरियाली बनाउने काममा सरकारले तिव्रता दिएको छ । सम्मेलनमा आउने सार्क राष्ट्रका प्रमुखहरु सवार हुने क्षेत्रका सडकहरुलाई सिंगार्न राज्यले ध्यान दिए पनि अन्य स्थानमा भने विभेद गरेको गुनासो मैतीदेवीबासीले गरे ।

काठमाडौंवासी भन्दा सिम्रौनगढका जनता सचेत

त्यसो त बाटो मर्मत नभएका कारण बाराको स्रिमौनगढमा हालै स्थानीयवासीले आन्दोलन गरे । बाटो माग्ने जनतालाई प्रहरीले गोली हान्दा एक युवकको मृत्यु भयो, कैयौं घाइते भए । बाटोका लागि जनताले रगत बगाएपछि बल्ल सरकारले झुकेर बाटो मर्मत गर्छु भनेको छ ।

तर, राजधानीका जनतामा एक वर्षसम्म यस्तो अन्याय खेप्नुपर्दा पनि सिम्रौनगढका जनतामा जस्तो चेतना देखिएको छैन । मैतीदेवीबाट सिंहदरबार खासै टाढा छैन, हिँडेरै पुग्न सकिन्छ ।

old-baneshwor (1) old-baneshwor (2) old-baneshwor (4) old-baneshwor (5) old-baneshwor (7) old-baneshwor (10) old-baneshwor (11) old-baneshwor (13) old-baneshwor (14) old-baneshwor (15) old-baneshwor (16) old-baneshwor (17) old-baneshwor (18) old-baneshwor (19)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment