२९ कात्तिक, काठमाडौं । क्याण्डी क्रसका सर्जक टमी पाल्मले र आफूले चाहेको एपनिर्माणमा लाग्न नेपाली एप निर्माताहरुलाई सुझाएका छन् ।
शनिबार एनसेल एप प्रतिस्पर्धाहरुलाई सम्बोधन गर्दै किङडटकमका गेम गुरु समेत रहेका पाल्मले आफूलाई मनपर्ने काम गर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाब दिए । ‘तपाईं आफू को बन्न चाहनुहुन्छ त्यहीबन्नुहोस् । जे गर्न मन लाग्छ त्यही काम गरेर रमाउनुहोस्’ उनले भनेका छन् ।
हाम्रा अगाडि सम्भावनाहरु पनि धेरै रहेको भन्दै उनले भने-‘यदि तपाईंमा विश्वव्यापी रुपमा केहीगर्ने प्रतिभा छ भने नयाँ कम्पनी खोल्नुहोस् र आफूले चाहेको एप निर्माणमा लाग्नुहोस् । यदि तपाईंले एप स्टोरहरुमा आफ्नो एपलाई पुर्याउन सक्नुभयो भने त्यो एउटा सुनौलो अवसर हुनेछ ।’ एप स्टोरहरुले तपाईं विश्वको कुन कुनामा हुनुहुन्छ भन्नेसँग मतलव नराख्ने भन्दै उनले भने-तर, त्यो ठाउँसम्म पुग्नु नै ठूलो चुनौती हो ।’
एप क्याम्पमा प्रतिस्पर्धा गरिरहेका समूहहरुलाई एप निर्माणका प्राविधिक तथा सैद्धान्तिक आयामहरुबारे थप ज्ञान प्रदानगर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पाल्मले एपनिर्माणबारे आफ्नो अनुभव समेत साटेका छन् ।
मोवाइल एप उद्योगमा सुपरिचित पाल्मकै अवधारणामा आधारित भएर बनेको क्याण्डी क्रस एप सन् २०१३ सम्म ५० करोड भन्दा बढी पटकभन्दा डाउनलोड भइसकेको छ भने ८३ करोड पटक प्रतिदिन खेलिन्छ । यो खेल प्रत्येक महिना ३३ करोडभन्दा बढी नयाँप्रयोगकर्ताले खेल्ने गरेको तथ्यांक छ ।
‘विभिन्न स्क्रीनका लागि काम गर्नुपर्दा हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्यो, ‘पाल्मले आफ्नो टिमले परिवर्तनशील प्रविधिका कारण आफ्नो टिमले गर्नुपरेको संघर्ष सुनाए-‘तर, जब हामीले उक्त खेललाई मोवाइल प्ल्याटर्फममा पनि लग्यौं धेरै समस्याको समाधान आफैं भयो ।’
पाल्मले क्याण्डी क्रस विश्वव्यापी हुनुमा विभिन्न प्ल्याटर्फममा काम गर्न सक्नु, एपलाई निःशुल्क डाउनलोड गर्न सक्नु र खेललाई एउटा सेवाका रुपमा विकास गर्न सक्नु मुख्य विशेषताहरु भएको समेत बताए ।
प्रश्नोत्तर सत्रमा, सहभागीहरुले क्याण्डी क्रस बनाउँदाको मुख्य अवधारणाबारे जिज्ञासा राखेका थिए । उनीहरुले खेलबाहेक अन्य एपहरु पनि क्याण्डी क्रसजस्तै लोकपि्रय र भाइरल बनाउन कसरी सकिएला भनेर सोधेका थिए ।
जवाफमा पाल्मले क्याण्डी क्रसको मूख्य अवधारणा नै विभिन्न प्ल्याट र्फममा चल्ने खेलको आवश्यकता भएको बताएका छन् । उनले नयाँ एप निर्माणकर्ताहरुलाई बजारीकरण र लोकपि्रयता हासिल गर्न फेसबुक जस्ता सामाजिक सञ्ञालबाट फाइदा लिन सल्लाह दिए ।
क्याम्पका प्रतिस्पर्धीहरुलाई व्यवसाय विकासका लागि मंसिर २ गते र अवधारणा प्रस्तुतिका लागि मंसिर ५ गते तालिम दिइने एनसेलले जनाएको छ ।
प्रतिक्रिया 4