Comments Add Comment

अदालतको अभियानले कारागारमा कोचाकोच

१ मंसिर, प्युठान । जिल्ला अदालत प्यूठानले सञ्चालन गरेको विशेष अभियानले अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । दण्ड जरिवाना असुलीका लागि अदालतले जिल्लामा दुईवटा टोली परिचालन गरी फरार अभियुक्तलाई पक्रने र जरिवाना असुल्ने काम गरिरहेको छ ।

अदालतको यस्तो अभियानले कारागारलाई भने समस्यामा पारेको छ । राणाकालिन समयमा घोडा राख्नको लागि बनाइएको तबेलामा बस्दै आएका प्यूठान कारागारका कैदी बन्दीहरु अदालतको अभियानले थप समस्यामा परेका हुन् ।

१० महिला र १५ पुरुष गरी २५ जना बस्न सक्ने क्षमताको भएपनि अहिले यहाँ ६७ जना कैदीवन्दी रहेका छन् । ५१ पुरुष र ७ महिला कैदी तथा ५ पुरुष र ४ महिला वन्दी रहेका छन् । अदालतको विशेष अभियानको क्रममा ६ जना कैदी थपिएका हुन् । त्यसै त साँघुरोमा बस्न बाध्य भएकाहरुलाई कैदी थपिएपछि झन् समस्या भएको छ ।

अदालतले दोषि ठहर गरेका ५ सय बढि व्यक्ति फरार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपक रेग्मीले बताए । यी मध्य केहिको मृत्यु भएको र केहि जिल्लामै नरहेको उनले बताए । अभियानको क्रममा ३ सय बढि पक्राउ पर्न सक्ने उनले बताए ।

अदालतका श्रेस्तेदार रुद्रमणी गिरीका अनुसार अदालतले कैद सजायँ र जरिवाना सुनाएकाहरुलाई पक्राउ गर्ने तथा जरिवाना असुल्ने अभियान संचालन जारी रहेको बताए । अदालतले देशव्यापी रुपमा जिल्ला प्रशासन, मालपोत, प्रहरी, नगरपालिका, गाविसमा कैद जरिवाना लागेकालाई सेवा सुविधाबाट बञ्चित गर्न निर्देशनसहित परिपत्र गरेको छ ।
-विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment