Comments Add Comment

मोबाइल एप निर्मातालार्इ व्यवसायिक रणनीतिबारे जानकारी

Ncell-App-Camp
२ मंसिर, काठमाडौं । एनसेलले मंगलबार राजधानीमा एप क्याम्पका प्रतिस्पर्धी १५० समूहलाई उनीहरुले निर्माण गर्ने एपको व्यवसायिक रणनीति तयार पार्न सघाउने तालिम आयोजना गर्‍यो । तालिममा सहभागीहरुलाई व्यवसायिक रणनीति राम्रो भए मात्र कुनै पनि एपले राम्रो व्यापारिक लाभ हासिलगर्न सक्ने जानकारी दिइयो ।

सहभागीलाई आफ्ना अवसरहरु पहिल्याउन प्रेरित गर्दै थ्री एच म्यानेजमेन्टका प्रालिका कार्यकारी प्रमुख सोहनबाबु खत्रीले एपको दीगो व्यापारिक सफलताका लागि गर्नुपर्ने मूलभूत कार्यहरुबारे जानकारी गराए ।

‘एउटा एपनिर्माण गर्दैमा मात्रै तपाईंको व्यवसाय पूरा हुँदैन । त्यसलाई बजारमा प्रतिस्पर्धा गर्न सुरुदेखि नै उपयुक्त रणनीति अवलम्वन गरेको हुनुपछ’ खत्रीले भने- ‘व्यवसायिक दीगोपन उद्यमशीलको कडी हो ।’

‘अवसरलाई राम्ररी केलाउनुहोस् ताकि तपाईंको व्यवसायमा धेरै लगानीकर्ता पछि लाग्नेछन् । एउटा सिपालु उद्यमीले उसले भेट्टाउने भन्दा धेरै अवसरहरु सिर्जना गर्न सक्छ । अरुको पनि समस्या, चिन्ता, भोक वा दुविधामा व्यवसायीले आफ्नो अवसर पत्ता लगाउँछ । ती बाहेक अन्य सकारात्मक स्थितिहरुमा पनि अवसर हुन्छन्’ खत्रीले सहभागीहरुलाई भने ।

तालिममा अन्तक्रिर्या गर्दै सहभागीहरुले व्यवसायमा सिर्जनशील कसरी बन्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । जवाफमा खत्रीले सम्भावित उपभोक्ताहरुको स्थानमा आफूलाई राखेर सोच्ने र उपभोक्ताहरुको आवश्यकता, बानी व्यवहार र उनीहरुको निर्णय गर्ने तरिकाबारे पर्याप्त अध्ययन गर्नुपर्ने बताए ।

‘सिर्जनशील बन्ने एउटा उपाय भनेको आफ्नो व्यवसायबारे धेरैभन्दा धेरै अध्ययन गर्नु हो । त्यसका साथै आफ्नो सिर्जनालाई सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ’ खत्रीले भने  । उनले एप निर्माणलाई एउटा व्यवसायका रुपमा चिन्नसक्नु, सफलता पाएपछि के गर्ने भन्ने बारे पहिलै तयारी नगर्नु र प्रयोगकर्ताका गुनासोहरु नसुन्नु उद्यमशील बन्न उद्यत जोकोहीका साझा कमजोरीहरु भएको बताए ।

तालिममा सहभागीहरुले व्यवसायका अवसर तथा मूल्य निर्धारण जस्ता विषयमा विभिन्न अभ्यासहरु गरेका थिए ।

एप क्याम्पका प्रतिस्पर्धीहरु हाल एप निर्माणका साथै त्यसको व्यसायिक मोडेल तय गरिरहेका छन् । मंसिर ५ माहुने अवधारणा प्रस्तुति विषयको तालिम पछि सहभागीहरुले आफ्नो एपको नमुना बुझाउनुपर्नेछ ।

त्यसपश्चात पर्यटन, कृषि, शिक्षा र कर्पोरेट प्रत्येक विधाका ६ वटा समूह गरी जम्मा २४ वटा समूह थप प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । एनसेलका अनुसार प्रतिस्पर्धाबाट बाहिरिने समूहहरुलाई समेत आफ्नो एप एनसेल एपस्टोरमा राख्ने सुविधा दिइनेछ ।

प्रतिस्पर्धामा जित्ने विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment