Comments Add Comment

मोदीको भ्रमण रद्द हुनु स्वागतयोग्य : नारायणकाजी

४ मंसिर, काठमाडौं । पूर्वपराराष्ट्रमन्त्री एवं एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द गरेर भारतले स्वागतयोग्य काम गरेको बताएका छन् ।Narayan-Kaji-1
‘सार्क सम्मेलनका बेला मोदीको यसप्रकारको भ्रमण उपयुक्त थिएन,’ नेता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘भारतले मोदीको भ्रमण रद्द गर्नु सही र स्वागतयोग्य कार्य भएको छ ।’
एमाओवादीभित्र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिँदै आएका नेता श्रेष्ठले भने-‘दुईपक्षीय भ्रमणका बेला आपसी सहमतिमा मोदीले यस्ता भ्रमण कार्यक्रमहरु गर्न सक्ने भए पनि सार्कजस्तो बहुपक्षीय सम्मेलनका बेला यो प्रकारको भ्रमण उपयुक्त थिएन ।’
भारतीय प्रधानमन्त्रीले जनकपुर वा लुम्बिनीमा सार्वजनिक भाषण गर्नु अनुपयुक्त हुने श्रेष्ठको तर्क छ । तर, भारतले बेलैमा भ्रमण स्थगित गरेर विवादबाट जोगिनु राम्रो कदम भएको उनले बताए ।
आफ्नै पार्टीको विरोध
एमाओवादी र २२ दलका नाममा शुक्रबार हुने भनिएको जनकपुुर बन्दको श्रेष्ठले विरोध गरेका छन् । ‘मोदीले बाह्रबिघा मैदानमा भाषण गर्न र साइकल बाँड्न पाउनुपर्छ भन्नु अनि सीडियो कार्यालय र वाणिज्य दूतावासमा धाउनु पार्टीलाई कलंकको टीको लगाउने कार्य हो ।’
नेता श्रेष्ठले मोदीको पक्षमा २२ दलका नाममा घोषणा गरिएको आन्दोलन र जनकपुर बन्दलाई अनावश्यक र अनुपयुक्त बताएका छन् ।
मधेसवादी नेताले हप्काए
यसैवीच बुधबार आयोजित गणतान्त्रिक मोर्चाको बैठकमा मोदीको जनकपुर भ्रमणको आलोचना गर्दा एमाओवादी नेता श्रेष्ठले मधेसवादी नेताबाट खप्की खानुपरेको छ ।
बैठकमा उपाध्यक्ष श्रेष्ठले एमाओवादी अध्यक्ष प्रचण्डसँग मोदीको भ्रमणबारे पार्टीले लिएको नीतिबारे असन्तुष्टि जनाएका थिए । मोदीले भाषण गर्न पाउनुपर्छ र साइकल बाँड्न पाउनुपर्छ भन्दै २२ दलले आन्दोलन गर्नु नाजायज भएको श्रेष्ठले बैठकमा बताएका थिए ।
तर, बैठकमा एमाओवादी नेता श्रेष्ठलाई हप्काउँदै उपेन्द्र यादवले भने- ‘साइकल बाँड्न हुँदैन भने के कार बाँड्नुपर्छ भन्न खोज्नुभएको हो ?’
त्यसैगरी लक्ष्मणलाल कर्णले एमाओवादी नेता श्रेष्ठलाई उडाउँदै मोर्चाको बैठकमा भने-‘मोदीले साइकल नबाँड्ने भए के मोटरसाइकल बाँड्नु ?’
गणतान्त्रिक मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले पनि मोदीले बाह्रविघा मैदानबाटै सम्बोधन गर्नु उपयुक्त हुने आफूलाई लागेको बताएका थिए ।
विज्ञ भन्छन्, हामीले अवसर गुमायौं
यसैवीच पराराष्ट्र मामिलाविद एवं एमालेका युवा नेता राजन भट्टराईले मोदीको भ्रमण रद्द हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । छिमेकी पाहुनलाई स्वागत गर्ने अवसर हतपति नआउने भट्टराईको विश्लेषण छ ।
मोदीको भ्रमण रद्द भएपछि विहीबार साँझ एभिन्युज टेलिभिजनमा पत्रकार टीकाराम यात्रीसँग कुरा गर्दै भट्टराईले मोदीको अभिनन्दन कुन ठाउँमा गर्ने भन्ने कुरा सरकारको भएको भन्दै विपक्षीले यहाँ हुनुपर्छ भनेर जवरजस्ती गर्नु गल्ती भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment