Comments Add Comment

नेपालमा बीस प्रतिशत मानसिक रोगी

११ मंसिर, काठमाडौं । नेपालको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा कुनै न कुनै मानसिक रोगको समस्या रहेको मानसिक रोगका विज्ञहरूले बताएका छन् । यस्ता मानसिक रोगीमध्ये कडा समस्यामा झण्डै दुई प्रतिशत रहेको समेत विज्ञहरूले औँल्याएका छन् ।

लुम्बिनीमा बिहीबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय सार्कस्तरीय मानोरोग चिकित्सक सम्मेलनमा मानसिक रोग विशेषज्ञ डा. कपिल उपाध्यायले नेपालमा मनोरोगको उपचार सर्वसाधारण जनताको पहुँचमा नरहेका कारण जनता यस रोगबाट प्रभावित भएको बताए ।

उनका अनुसार नेपालमा ग्रामीण क्षेत्रका जनतामा उपचारको सहज पहुँच छैन सहरबजारका मानिसमा सामाजिक लान्छनाका डरले उपचारमा नआउने गरेकाले यसका बिरामी प्रभावित छन् । डा. उपाध्यायले मानसिक रोग मानिसलाई वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले लाग्ने गरेको बताउँदै नेपालमा भने मनोवैज्ञानिक कारणले बढी यस्ता रोगी हुने गरेको बताए ।

उन नेपालमा गरिबी, हिंसा, द्वन्द्व, घरेलु हिंसा, व्यस्ततालगायत कारणले मनोवैज्ञानिक मानसिक रोगी बढ्दै गएको बताउँदै पछिल्लोपटक नेपालको दशबर्से द्वन्द्वको पीडा र वैदेशिक रोजगारीमा गएका परिवारमा यस्तो समस्या बढी देखिएको बताए ।

मनोचिकित्सक सङ्घ नेपालका महासचिव निर्मल लामिछानेले नेपालमा आत्महत्या गर्ने मानसिक रोगी अधिकांश डिप्रेसन, लागुऔषध तथा मादकपदार्थ प्रयोगकर्ता बढी भएको अध्ययनमा पाइएको बताए ।

सार्क मनोचिकित्सा फेडरेसनका सचिव डा. रणोदीपरञ्जन घोस रायले मानिस जति सामाजिक बन्दै जान्छ त्यति नै मानसिक तनाब बढ्दै जाने बताउँदै यसका आधारमा मानसिक रोगीको सङ्ख्या पनि बढ्दै गएको बताए ।

सम्मेलनमा सार्क राष्ट्रलगायत १२ देशका झण्डै ४०० मनोचिकित्सकहरुले सहभागिता रहेको नेपाल मनोचिकित्सक सङ्घका सहसचिव डा मनोज ढुङ्गानाले जानकारी दिए । सहभागीमध्ये नेपालका १५० र विदेशबाट २५० जनाको सहभागिता रहनेछ ।

‘मानसिक स्वास्थ्यका लागि शान्ति’ भन्ने नाराका साथ सुरु यस सम्मेलन तीन दिनससम्म चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment