Comments Add Comment

तीन दलको बालुवाटार बैठक निष्कर्षबिहीन

three-party-meet

१३ मंसिर, काठमाडौं । सार्क सम्मेलनपछि शनिबार बसेको प्रमुख तीन दलको बैठक निष्कर्षबिहीन भएको छ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसँगै संविधान निर्माणमा देखिएको गतिरोध अन्त्यको प्रयासमा कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो ।

तर, बैठकमा दलहरुले आ-आफ्नो अडान नछाडेपछि बैठकमा कुनै सहमति हुन नसकेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई बताए ।

बैठकमा कांग्रेस र एमालेले आफूहरुको साझा प्रस्ताव सम्वाद समितिले संविधानसभामा पठाउनु पर्ने अडान लिएको छ । ‘हामीले भने सम्वाद समितिको सभापतिको प्रस्ताव अनुसार समितिको प्रतिवेदनको अनुसूचीमा राख्नसम्म सकिन्छौं भनेका छौं’ उपाध्यक्ष श्रेष्ठले भने ।

सत्तारुढ र विपक्षी आफ्नै अडानमा कायमै रहेपछि द्विपक्षीय छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

सहमतिको प्रयासमा एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यक्ष प्रचण्डबीच शनिबार नै छलफल हुनेछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र प्रचण्डबीच आइतबार विहान भेटवार्ता गर्ने तय भएको छ ।

‘सम्वाद समितिको बैठकअघि नै गतिरोध तोड्न प्रयास गर्ने भन्ने भएको छ’ श्रेष्ठले भनेका छन् ।

डा. बाबुराम भट्टराई सभापति रहेको सम्वाद समितिको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ ।

त्यसअघि एमाओवादीले संविधानसभामा रहेका २० दलको बैठक समेत बोलाएको छ । प्रचण्डले आइतबार नै राजनीतिक समितिको बैठक पनि राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment