२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सडक दुर्घटनामा निधन भएका सभासद हरि खड्काको निधनबारे छानविन गर्न समिति बनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले केन्द्रीय सदस्य एवं प्रवक्ता दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
समितिमा रोमी गौचन थकाली, कमल पंगेनी सदस्य छन् । समितिलाई एक महिना भित्र पार्टी केन्द्रीय कार्यसमिति समक्ष प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।
सरकारले नायव महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको संयोजकत्वमा यसअघि नै छानविन समिति बनाइसकेको छ ।
कांग्रेसले सभासद खड्काको निधनको शोकमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको । साथै खड्काको गृह जिल्ला बाग्लुङमा हुने अन्त्येष्टीमा उपसभापति रामचन्द्र पौडेल लगायत केन्द्रीय सदस्य एवं नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनेछन् ।
ट्रमा कक्ष निर्माण गर्न माग
कांग्रेसले खड्काको स्मरणमा धवलागिरी अञ्चल अस्पतालमा उच्च प्रविधि सहितको एक ट्रमा कक्ष निर्माण गर्नका लागि सरकारलाई आग्रह समेत गरेको छ ।
साथै दुर्घटनामा घाइते भएका नेताहरु हरिदत्त आचार्य, पार्वती आचार्य र कल्पना हमालको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकारलाई आग्रह गरेको छ ।
बैठक स्थगित
कांग्रेसले मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ । अर्को बैठकको मिति तय भएको छैन ।
पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासन समितिले गरेको सिफारिबारे छलफल गर्न कांग्रेसले मंगलबार बैठक बोलाएको थियो ।
प्रतिक्रिया 4