२३ मंसिर, काठमाडौं । यस वर्षको पहिलो ६ महिनामा नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय यात्रा गर्ने हवाइ यात्रुहरुको संख्या बढेको छ ।
सन् २०१४ को जून महिनासम्म १७ लाख २२ हजार ८ सय स्वदेशी तथा विदेशी यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत-जावत गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.५३ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको जून महिनासम्म १५ लाख १७ हजार ४ सय ६३ यात्रुहरु त्रिभुवन विमानस्थलबाट आवत-जावत गरेका थिए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेपछि हवाइ यात्रुको संख्या दोहोरो अंकले वृद्धि भएको हो ।
यस अवधिमा मलेसिया, अरब, दुबई, भारतलगायतका देशबाट बढी यात्रुहरु आवत-जावत गरेका छन् । मलेसियामा मात्रै करिव साढे ७ लाखको हाराहारीमा कामदारहरु रहेको अनुमान गरिएको छ । मलेसिया-नेपाल उडान भर्ने मलेसियन एयर र एयर एशियाको हवाइ यात्रु संख्या हृवात्तै बढेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
छ महिनाको अवधिमा एयर एशियाको यात्रु ८६.४६ प्रतिशत र मलेसियन एयरको हवाइ यात्रु १४२.११ प्रतिशतले बढेका छन् । मलेशियामा नेपाल एयरलाइन्सले पनि हवाइ सेवा सञ्चालन गरिरहेको छ ।
विमानस्थलमा उडान अवतरण संख्या १३.१३ प्रतिशतले बढेर ६ महिनामा १२ हजार ६ सय ७२ पुगेको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार त्रिभुवन विमानस्थलबाट अहिले औषतमा दैनिक ७० वटा अन्तर्राष्ट्रिय उडान अवतरण हुने गरेको छ ।
नेपाली कामदारको बाहुल्य रहेको युएई र भारतबाट नेपाल उडान भर्ने जहाजका यात्रु पनि बढेका छन् । भारतबाट नेपाल उडान भर्ने स्पाइस जेटको १.७२ प्रतिशत र जेट एयरवेजको १०.२९ प्रतिशले हवाइ यात्रु बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
युएईबाट नेपाल उडान भर्ने इत्तिहाद एयरवेजका यात्रुहरु पनि ३७.५१ प्रतिशतले बढका छन् । यस अवधिमा १ लाख ७६ हजार ५८५ यात्रु बोकेर जेट एयर सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी बनेको छ ।
त्यस्तै, धेरै यात्रुलाई सेवा दिनेमा कतार एयरवेज दोस्रो, एयर अरेयिबा तेस्रो, फ्लाई दुबई चौथो र एयर इन्डिया पाँचांै स्थानमा रहेका छन् । विमानस्थल कार्यालयका अनुसार एयर एशिया छैठौं, नेपाल एयरलाइन्स सातौं, स्पाइस जेट आठौं, इत्तिहात एयरवेज नबौं र मलेसिया एयरलाइन्स दशौं बढी यात्रु बोक्ने जहाज बनेका छन् ।
नेपाल एयरलाइन्समा यात्रु घटे
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको भने ६ महिनामा हवाइ यात्रु घटेका छन् । यस अवधिमा नेपाल एयरलाइन्सले ९७ हजार १२५ जना यात्रुलाई सेवा प्रदान गरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.३३ प्रतिशतले कमी हो । अघिल्लो वर्ष नेपाल एयरलाइन्सले १ लाख १२ हजार ६८ यात्रु बोकेको थियो ।
कुल यात्रु संख्या हेर्ने हो भने सबैभन्दा बढी अपि्रल महिनामा त्रिभुवन विमानस्थलबाट यात्रुहरु आवत-जावत गरेछन् । अपि्रलमा ३ लाख १२ हजार ८ सय ३८ यात्रु आवत-जावत गरेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा कम फेब्रुअरी महिनामा २ लाख ६१ हजार ७ सय ६३ यात्रुहरु त्रिभुवन विमानस्थलबाट आवत-जावत गरेको तथ्यांकमा देखिएको छ ।
प्रतिक्रिया 4