Comments Add Comment

एमाले सभासदलाई ककसमा नलाग्न निर्देशन

Uml-samsadiya-dal

२३ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्ना सभासदहरुलाई कुनै पनि नामका ककस निर्माणमा सहभागी नहुन र पार्टी नीति विपरीत नबोल्न तथा हस्ताक्षर नगर्न निर्देशन दिएको छ ।

एमाले संसदीय दलको मंगलवारको बैठकमा दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सभासदहरुलाई पार्टीको निर्णय भन्दा विपरीत अभिव्यक्ति नदिन आग्रह गरे ।

‘ककसका नाममा संविधान निर्माणमा सकस थपिने भएकाले त्यस्ता कुनै पनि गतिबिधिमा नलाग्न नेताहरुले आग्रह गर्नुभएको छ’ एमाले सभासद यज्ञराज सुनुवारले भने-‘पार्टीको निर्णय र नीतिलाई बोकेर संविधान निर्माणमा लाग्ने कुरा भएको छ’ ।

पछिल्लोपटक एमालेका थारु सभासदहरुले हस्ताक्षर अभियान चलाएको सन्दर्भमा नेताहरुबाट यस्तो निर्देशन आएको स्रोतले जनाएको छ ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले एमालेले सहमतिका लागि आफ्नो घोषणापत्र र निर्णयभन्दा बाहिर गएर केही विषयमा कांग्रेससँग सहमति गर्नुपरेको बताएका थिए ।

बार्ता र छलफलका क्रममा धेरै कुरा तलमाथि हुने भएकाले अहिले नै उत्तेजित नहुन पनि नेताहरुले सभासदलाई आग्रह गरेका थिए ।

बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता ओलीले सम्वाद समितिको प्रतिवेदन अब फेरि सोही समितिमा फर्काउन नहुने पार्टीको धारणा सुनाएका थिए ।

‘प्रतिवेदन फेरि सम्वाद समितिमै फर्काइयो भने अझै दुई तीन महिना सहमतिका नाममा अड्काउने र माघ ८ लाई गुजार्ने षडयन्त्र हुनेछ’ ओलीको भनाइ उधृत गर्दै सभासद सुनुवारले भने ‘अब जे गर्ने हो संविधानसभाबाटै टुंगो लगाउनुपर्छ, कुनै पनि हालतमा समितिमा फर्काउन हुँदैन’ ।

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले प्रतिवेदन बुझाउने क्रममा यो प्रतिवेदन संविधानसभामा छलफल र मतदानका लागि नभएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment