नारायण पंगेनी
२३ मंसिर, काठमाडौं । मानव अधिकारकर्मीहरुको महाभेलामा एकजना प्रतिष्ठित मानव अधिकारकर्मीले कम्युनिष्टहरुलाई ‘पानीका फोका’ भनेपछि कम्युनिष्ट नेताहरुले मञ्चबाटै आपत्ति जनाएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले मंगलवार राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै मानव अधिकारवादी नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुलाई ‘पानीका फोका’ भनेका हुन् ।
ढुंगानाले पानीका फोका भनेपछि माओवादी अध्यक्ष मोहन वैद्य आक्रोशित देखिए भने एमाले नेता माधवकुमार नेपालले मानवअधिकारवादीले कसैको पनि चित्त दुखाउन नहुने बताए ।
ढुंगानाले राजनीतिक दलहरुको असफलताकै कारण समयमा संविधान जारी हुन नसकेको बताए । सबैजसो राजनीतिक दलहरुको असफलताको ब्याख्या गरेका ढुंगानाले कम्युनिष्टहरुलाई पानीको फोकाको संज्ञा दिए ।
राजनीतिक दलका नेताहरुले अझै पनि चार वर्ष संविधान बनाउन नचाहेको उनको आरोप थियो । संविधानसभाभित्रका दलबीच सहमति भएर मात्रै नपुग्ने भन्दै ढुंगानाले संविधान बाहिर रहेका पक्षहरुसँग पनि सहमति खोज्नुपर्ने बताए ।
ढुंगाना संसदवादी रहेछन् : मोहन वैद्य

पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानापछि बोल्ने पालो पाएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले ढुंगानामाथि प्रहार सुरु गरिहाले । ‘ढुंगानाजीले मानवअधिकारका नाममा संसदवादी राजनीतिक गर्नुहुँदोरहेछ,’ वैद्यले भने, ‘कम्युनिष्टहरु पानीका फोका होइनन्, परिवर्तनका संवाहक हुन् ।’
वैद्यले ढुंगानालाई कांग्रेस भएकोतर्फ इंगित गर्दै कांग्रेसीहरु चाँहि पानीका फोका हुन सक्ने भन्दै प्रतिवाद गरे ।
वैद्यले सर्वपक्षीय सभामार्फत सहमति गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले संसदवादी व्यवस्थामात्रै होइन, जनवादी व्यवस्थाका लागि संघर्ष गर्नेहरुको पनि कदर गर्नुपर्ने उल्लेख गरे ।
आफ्नो भनाइ राखेर वैद्य कार्यक्रमबाट बाहिरिएपछि नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भने आफूहरुमा सुन्ने क्षमता भएको भन्दै वैद्यमाथि ब्यङ्ग्य गरे । ‘दमननाथजीको भनाइका कारण वैद्यजीले कांग्रेसलाई नै आक्षेप लगाउनुभयो,’ सिटौलाले भने, ‘कांग्रेसमा सुन्ने धैर्यता हुन्छ ।’
ढुंगानामा कांग्रेसको जीन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वसभामुख तथा मानवअधिकारवादी नेता ढंगानामा ‘कांग्रेसी जिन’ भएको टिप्पणी गरे ।
‘दमननाथजीमा कांग्रेसी जिन भएकाले वैद्यजीलाई पोल्यो होला, पोल्नु स्वभाविकै हो,’ नेता नेपालले ढुंगानालाई सुझाव दिँदै भने, ‘मानवअधिकारवादीले कसैलाई पनि ठेस पुर्याएर बोल्नुहुँदैन ।’
नेता नेपालले मानवअधिकारवादी भन्नेहरु राम्रो मानवअधिकारवादी हुन नसकेको जिकिर गरे ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रक्रियामा गएर भए पनि आगामी माघ ८ गतेभित्र संविधान बनाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए । ‘प्रक्रिया नै मान्दैनौं भनेका छैनौं,’ श्रेष्ठले भने, ‘सहमति सम्भव छ भने सहमति खोजौंं मात्रै भनेका हौं ।’
मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माघ ८ मा संविधान बन्न नसक्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकारको अवस्था दयनीय भएको भन्दै मानवअधिकारलाई प्रत्याभूत गर्नेखालको संविधान बन्नुपर्नेमा जोड दिएका थिए ।
संविधानसभाको सानो झाँकी

मानवअधिकारवादीहरुको भेलामा अतिथिहरुबीचको जुहारीलाई देखेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कार्यक्रमलाई ‘संविधानसभाको सानो झाँकी’ भएको टिप्पणी गरे ।
‘संविधानसभाभित्रको एउटा सानो झाँकी त तपाईँहरुले देखिहाल्नु भो’, नेम्वाङले भने, ‘संविधानसभामा चल्ने यस्तो कार्य नराम्रो कुरा होइन ।’
संविधानसभाको अवधि चार वर्ष भए पनि माघ ८ भित्रमा संविधान जारी गर्ने नेताहरुले नै प्रतिवद्धता जनाएकाले समयमै संविधान जारी गर्नुपर्नेमा नेम्वाङले जोड दिए । ‘माघ ८ कटाउनुपर्छ भन्ने कसैको पनि चाहना छैन,’ नेम्वाङले भने, ‘तर ढिलाइ भइरहेको छ ।’ संविधानसभाको प्रक्रिया छोट्याएर माघ ८ भित्रै संविधान जारी गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया 4