२३ मंसिर काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले १८औं सार्क सम्मेलनका बेला बनाइएको सडक नभत्काउन सरकारलाई निर्देशन दिएको छ ।
सार्क सम्मेलनका क्रममा बनाइएको अधिकांश सडक मेलम्ची खानेपानीको पाइप लाइन विच्छ्याउन भत्काउने तयारीबारे छलफल गर्न विकास समितिले मंगलबार सरकारी अधिकारीहरुलाई बोलाएर छलफल गरेको थियो ।
बैठकमा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले मेलम्चीको पानीका लागि पाइप विच्छ्याउन सडक भत्काउनु पर्ने बताए । मन्त्रालयका अनुसार मेलम्ची खानेपानीको पाइप विच्छ्याउने झण्डै ६०० किलोमिटर सडक भत्काइनेछ ।
सचिवको जवाफपछि सभासदहरुले पहिले सडक बनाउने अनि अहिले फेरि भत्काउने निकै आक्रोस व्यक्ति गरे ।
लगतै समितिले सार्कका क्रममा स्तरोन्नति तथा निर्माण गरिएका सडकहरुको अवस्था यथावत राख्न निर्देशन दिएको छ । साथै दिर्घकालीना सोचका साथ सडक विस्तार गर्न भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच समन्वय गरी ४/४ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
समितिले उपत्यकाभित्र सडक विस्तारको न्यूनतम आधारभूत मापदण्ड, सडक विस्तारसम्वन्धी भावी रणनीति र हालको अवस्थाबारे जानकारी माग गरेको छ ।
‘फूलवारी र बत्ति संरक्षण र विस्तार गर्नु’
विकास समितिले सडकको बीचमा लगाइएको फूल तथा विरुवा विस्तार तथा संरक्षण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । साथै रेलिङ तथा बत्तिको विस्तार तथा संरक्षण पनि भनेको छ ।
समितिले फूल तथा विरुवा, बत्ति लगायतको संरचना संरक्षणका लागि सुरक्षा प्रदान गर्न गहृ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा सभासदहरुले बानेश्वरदेखि माइतिघरसम्म आवश्यक जेब्राक्रस नभएको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया 4