Comments Add Comment

बिदेशबाट आएको ४ अर्ब हत्याउन सुमार्गीको दौडधुप

२४ मंसिर, काठमाडौं । सबैजसो शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर आर्थिक उनन्तीमा चमत्कार गरेका अजय सुमार्गीले बिदेशबाट आएको बेबारिसे ४ अर्ब रुपैयाँ हात पार्न दौडधुप गरिरहेका छन् ।Ajaya-Sumargi

नयाँ कम्पनी खोलेर दुई ठूला बैंकमा बेबारिसे अवस्थामा रहेको रकम हत्याउन उनले अहिले शक्तिकेन्द्रहरुमा लबिङ गरिरहेको बुधबार साप्ताहिकले जनाएको छ ।

केही महिनाअघि नबिल बैंकमा सवा तीन अर्बभन्दा बढी र नेपाल इन्भेस्टमेन्ट बैंकमा पौने १ अर्ब रुपैयाँ कुनै टापु मुलुकबाट जम्मा हुन आएको थियो । तर, दुवै बैंकले खोजी गर्दा सो नामको कम्पनी नै नेपालमा दर्ता भएको भेटिएन् ।

रकम बेबारिसे भएपछि ती बैंकले राष्ट्र बैंकलाई खवर गरेका थिए ।

राष्ट्र बैंकले स्रोत नखुलेको र बिना दर्तावाल कम्पनीको नाममा आएको रकम जफत गर्ने प्रक्रिया थालेकै बेला व्यापारी अजय सुमार्गीले उक्त रकम आफ्नो भएको दाबी गरेका थिए । सम्बन्धित बैंकहरुले कुन स्रोतबाट कुन प्रयोजनका लागि आएको हो ? सोबारे खुलाउन भनेपनि सुमार्गीले स्रोत खुलाउन सकेनन् । उक्त रकम बैंकमा त्यतिकै थन्किएर रहेको छ ।

केही समय चुप बसेपछि अहिले एउटा नयाँ कम्पनी स्थापना गरेर उक्त रकम त्यही कम्पनीको नाममा आएको देखाउने तयारी भइरहेको छ । पुरानो मितिमा सोही नामको कम्पनी दर्ता नहुने भएपछि त्यसका लागि उद्योगमन्त्री महेश बस्नेतलाई उपयोग गर्न थालिएको छ । यो अभियानमा उद्योग मन्त्री बस्नेतले राम्रै सहयोग र समर्थन गरेको हुँदा त्यो काम चाँडै नै सल्टिने सम्भावना रहेको बुधबार साप्ताहिकले जनाएको छ ।

त्यति ठूलो रकम दावी गर्ने कम्पनीलाई दिलाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लबिङ नगर्ने कुरा भएन । प्रचण्डले उक्त रकम कुनै अवरोध बिना नै पाउनुपर्ने अडान राखेका छन् ।

रकमको विषय प्रधानमन्त्री सुशील कोइरालासम्म पनि पुगिसकेको छ । बालुवाटारबाट आएको खबर भन्दै सुमार्गीले ‘उहाँ पनि पोजेटिभ हुनुहुन्छ, चाँडै काम बन्लाजस्तो छ’ भन्न थालेका छन् ।

विदेशबाट आएको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने अधिकार बैंकलाई भए पनि उक्त रकमका बारेमा हालसम्म केही प्रक्रिया अघि बढेको छैन् । राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका प्रमुख मुकुन्द महतले भने कुनै पनि कारोबार शंकास्पद हो कि होइन भनेर टुंगो लगाउन सम्बन्धित बैंकलाई नै निर्णय गर्न दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment