Comments Add Comment

एमालेमा पोलिटब्यूरो र स्थायी कमिटी सदस्य छान्न चुनाव हुने

२५ मंसिर, काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो र स्थायी कमिटी सदस्य चयनका लागि चुनाव हुने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी कार्यालय र निर्वाचन आयोगलाई चुनावको सम्पूर्ण तयारी गर्न निर्देशन दिएको छ । चुनावअघि विवाद विवाद मिलाउन उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल रहेको कार्यदल गठन भएको छ ।

पार्टी मुख्यालय बल्खुमा बसेको बैठकमा अध्यक्ष ओलीले सकेसम्म सहमति गर्ने र नभए निर्वाचन प्रक्रियामा जानु पर्ने बताए । यसअघि पदाधिकारी बैठकमा चुनावको तयारीका लागि निर्देशन दिने समझदारी बनेको नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार विधान विवाद मिलेमा शुक्रबार नै चुनाव हुने सम्भावना बढी छ ।

विधान विवाद मिलाउने जिम्मा रावल र पोखरेललाई

केन्द्रीय कमिटीको बैठकले विधानको धारा ३७ खबारे उत्पन्न विवाद समाधानका लागि उपाध्यक्ष र महासचिव रहेको कार्यदल बनाएको छ । ‘महाधिवेशनमा के पास भएको थियो अध्ययन गरेर समाधानको उपाय सहितको प्रतिवेदन बुझाउन कार्यदल बनाइएको छ’ केन्द्रीय सदस्य ठाकुर गैरेले अनलाइनखबरसँग भने ।

कार्यदलले प्रतिवेदन विहान १० बजे पदाधिकारी बैठकमा पेश हुनेछ भने दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

महाधिवेशनको निर्णय विपरीत पोलिटब्यूरो सदस्य हुने योग्यता तोकेर विधान प्रकाशित गरेको भन्दै माधवकुमार नेपाल पक्षले आपत्ति जनाउँदै आएको छ ।

नेपाल पक्षले पोलिटब्यूरोका लागि कम्तिमा दुई कार्यकाल पूर्ण केन्द्रीय सदस्य भएको हुनुपर्ने अडान राखेको छ । विधानमा भने बैकल्पिक केन्द्रीय सदस्य भएकाले पनि पोलिटब्यूरो सदस्य बन्न पाउने गरी व्यवस्था छ ।

महाधिवेशनको पक्षधरता मेट्छु

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म भएका कमिकमजोरीप्रति दुःख व्यक्त गरेका छन् ।

साथै उनले महाधिवेशनमा भोट हालेको तथा प्यालन बनाएकै आधारमा कसैलाई विभेद नगर्ने बताएका छन् । ‘पाँच वर्षसँगै हिड्नुछ । पार्टीलाई संस्थागत र सामूहिक रुपमा लैजान्छु । मलाई विश्वास गर्नुस्’ ओलीले भनेका छन् ।

ओलीले एकलौटी ढंगले पार्टी चलाएको भन्दै माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य तथा युवराज ज्ञवाली, सचिव योगेश भट्टराईले लिखित रुपमा राखेको मतबारे पदाधिकारी बैठकमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment