Comments Add Comment

अष्ट्रिचको मासु खाने हो ? एउटै चराको दुई लाख पर्छ !

Ostrich (5)

नविन अर्याल

२६ मंसिर, भैरहवा । एउटा अष्ट्रिच चरालाई कतिसम्म पर्न सक्छ ? तपाईको अनुमान हुन सक्छ, मासु खाने चरो त हो, बढीमा ५० हजार रुपैयाँसम्म पर्ला । तर, तपाईले यस्तो अनुमान लगाउनुभएको छ भने पुरै गलत हुनुहुन्छ ।

डेढ सय किलोभन्दा बढी तौलको हुने एउटा अष्ट्रिच चरालाई नेपालमा दुईदेखि अढाइ लाख रुपैयाँसम्म पर्छ । नेपालमा अष्ट्रिचको मासुलाई तीन तहमा वर्गीकरण गरेर बिक्री गर्ने गरिन्छ ।

स्थानीय बजारमा सबैभन्दा महंगो मानिने अष्ट्रिचको विशेष भागको मासु टेन्डरलाेइनलाई किलोको २५ सय रुपैयाँतिर्नुपर्छ, जुन काठमाडौंका द्वारिकालगायतका तारे होटलले खरिद गर्छन् । राताे हड्डी नभएको मासुलार्इ एक किलोको मूल्य १७/१८ सय रुपैयाँ तिर्नुपर्छ । हड्डी मिसिएको मासुलार्इ भने किलोको ११ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

भालेभन्दा पोथी सानो

अष्ट्रिचको मासुको औषत मूल्य १६ सय रुपैयाँराख्ने हो भने पनि एउटा अष्ट्रिचको मूल्य अढाइ लाख रुपैयाँसम्म पर्छ । भैरहवा अष्ट्रिच र्फमका सञ्चालक सीपी शर्मा एउटा अष्ट्रिचको न्यूनतम मूल्य दुई लाख रुपैयाँपर्ने गरेको बताउँछन् ।

तर, भाले अष्ट्रिचभन्दा पोथीको तौल करिव २० देखि ३० किलो कम हुने हुँदा त्यस्तो हुन गएको हो । अष्ट्रिच फूलबाट बाहिर निस्किएको एक वर्षमै सय किलो नाघ्ने शर्माको अनुभव छ ।

भैरहवामा व्यवसायिक रुपमा अष्ट्रिच पाल्न सुरु गरेपछि नेपालमा पनि अष्ट्रिचको मासुका पारखीहरु बढ्दै गइरहेका छन् । अष्ट्रिचको मासुको माग अध्यधिक बढेको दाबी गर्दै सञ्चालक शर्माले मागअनुसार मासु पुर्‍याउन नसकेको बताए ।

Ostrich (2)

१७ करोडको व्यवसायले अर्ब नाघ्यो

करिव ६ वर्ष अगाडि रुपन्देहीको गंगोलीमा १५ सय अण्डा ल्याएर अष्ट्रिच व्यवसायिकरुपमा पाल्न सुरु गरिएको हो । पाँच जनाका लगानी रहेको अष्ट्रिच फार्म सुरु गर्दा १७ करोड लगानी गरेको सम्झन्छन् शर्मा ।

शर्माका अनुसार अहिले यसमा लगानी बढेर अर्ब नाघिसकेको छ । अहिले गंगोलीमा मात्र होइन, रुपन्देहीकै सूर्यपुरा र दाङमा समेत अष्ट्रिच फार्मको विस्तार गरिसकिएको छ ।

६० टन मासु बिक्री

तीन ठाउँमा व्यवसायिकरुपमा अष्ट्रिच पालन गरिरहेको फार्मले ६ वर्षको अवधिमा ५५ देखि ६० टन मासु बिक्री गरिसकेको अनुमान गरेको छ । यसले पनि अष्ट्रिच मासुको माग कति रहेछ भन्ने देखाउँछ ।

अष्ट्रिचको मासु सबैभन्दा बढी खपत राजधानीमा हुने गरेको सञ्चालक शर्माले बताए । उनका अनुसार राजधानीका तारे होटलदेखि बाजेको सेकुवालगायतका चर्चित रेष्टुरेन्टमा अष्ट्रिचको परिकार बन्ने गरेको छ ।

सर्वसाधारणका लागि विभिन्न मासु पसलहरुमा समेत अष्ट्रिच किन्न पाइन्छ । आन्तरिक बजारमा माग राम्रो भए पनि उत्पादन बढाउन नसक्दा माग धान्न गाह्रो परेको बताउँछन् शर्मा ।

शर्माका अनुसार अहिले दाङमा ७ सय, सूर्यपुरामा ६ सय र गंगोलियामा सानो-ठूलो गरेर २५/२६ सय अष्ट्रिच चराहरु रहेका छन् । कम्पनीले अष्ट्रिच पालन गर्नका लागि गंगोलीमा २२ विगाहा, सूर्यपूरामा ७० विगाहा र दाङमा सय विगाहाभन्दा बढी जग्गा लिएको छ ।

Ostrich (1)

तीन ठाउँमा फरक-फरक प्रयोग

कम्पनीले दाङमा रहेको फार्ममा माउ अष्ट्रिचमात्र राख्ने बताएको छ । जहाँ ३ हजारवटा माउ अटाउन सक्छन् । सन् २०१६ सम्म त्यहाँ ३ हजार अष्ट्रिच पुर्‍याउने लक्ष्य रहेको शर्माले सुनाए ।

त्यसैगरी सूर्यपुरामा कमर्सियल अष्ट्रिच चरा उत्पादन गर्ने फार्मको रुपमा विकास गरिँदैछ । अहिले पनि नमुनाका रुपमा कमर्सियल अष्ट्रिच उत्पादन भइरहेको छ । कन्ट्याक्ट फार्मिङअन्तर्गत स्थानीय किसानहरुलाई समेत सहभागी बनाएर उत्पादन सुरु गरिएको शर्माले बताए ।

शर्माका अनुसार त्यहाँ उत्पादन गरिएका अष्ट्रिच स्थानीय किसानलाई निश्चित मूल्यको ग्यारेन्टी दिएर पाल्न दिइने छ । अष्ट्रिचलाई चाहिने दाना र स्वास्थ्य सुविधा पनि फार्मले उपलब्ध गराउने छ ।

अष्ट्रिच बिक्री गर्ने समय आएपछि किसानहरुले अष्ट्रिच फार्मलाई फिर्ता दिनेछन् । अनि फार्मले अष्ट्रिच पालेबापत कबुल गरेको रकम उपलब्ध गराउने छ । यसले स्थानीयहरुलाई समेत स्वरोजगार बन्ने अवसर मिल्ने विश्वास कम्पनीले लिएको छ ।

गंगोलीमा रहेको फार्मलाई कम्पनीले अण्डाबाट चरा कोरल्ने, दाना उत्पादन गर्ने र अष्ट्रिच काटेर बजारमा पठाउने काममा प्रयोगमा ल्याउने बताएको छ । यहाँ कोरलिएका अण्डा तीन महिनासम्म पालेर अन्य फार्ममा पठाइने छ ।

आफै दाना उत्पादन

कम्पनीले अष्ट्रिचलाई आवश्यक पर्ने दाना आफै उत्पादन गर्ने बतायो । यसका लागि स्थानीय ७ सय किसानहरुबाट घाँस खरिद गर्ने गरिएको छ । यहाँ पालिएका अष्ट्रिच चरा र अष्ट्रिच काट्ने ठाउँ अन्तर्राष्ट्रिय गुणस्तरको रहेको दाबी गर्दै शर्माले अष्ट्रिचको काँचो मासुसमेत खान सकिने ठोकुवा गरे ।

त्यसो त कम्पनीले दानाका लागि घाँस रोप्ने किसान र अष्ट्रिच पाल्ने किसानको संख्या बढाएर स्वरोजगार बढाउने लक्ष्य राखेको छ । अहिले पूर्वदेखि पश्चिमसम्मका १२/१३ जनाले यहाँबाट अष्ट्रिच चरा लगेर पालिरहेका छन् ।

अष्ट्रिच पालनको राम्रो ज्ञान नभएको हुँदा उनीहरु असफल हुने हुन कि भन्ने आफूहरुलाई पीर रहेको शर्माले बताए । उनीहरु सफल भएमा आफूहरु समेत सफल हुने कम्पनीको भनाइ छ । उनीहरु सफल भएमा थप अरु किसानलाई पनि अष्ट्रिच पालनमा आकषिर्त गरेर उद्यमी बन्न सघाउने लक्ष्य राखिएको छ ।

अहिले कम्पनीले गंगोटीबाट मासु प्रसोधन गरेर बजारमा पठाउने गरेको छ । उक्त मासु राजधानीमात्र नभई देशभर पुग्ने गरेको शर्माको भनाई छ । अष्ट्रिचको व्यवसायिक सम्भावना राम्रो भए पनि व्यवसाय सुरुवात गर्नुपूर्व राम्रो ज्ञान हुनुपर्ने उनी बताउँछन् ।

Ostrich (6)

अष्ट्रिच पाल्न सीप चाहिन्छ

‘नेपालमा अरुले गरेको देखेपछि जाने पनि नजाने पनि देखासिकी गर्ने प्रवृति देखिन्छ, अष्ट्रिचको सम्बन्धमा केहीमा त्यस्तो प्रवृति देखियो’ शर्माले भने- ‘अरुको देखेर मात्र होइन, राम्रो ज्ञान लिएर दृढ विस्वासका साथ जुनसुकै व्यवसाय गरे पनि सफल भइन्छ, अरुले गरेकै व्यवसाय गर्नुपर्छ भन्ने छैन ।’

अष्ट्रिच फार्म व्यवसायिक रुपमा मात्र नभएर अवलोकनको गन्तव्य समेत बनेको छ । अष्ट्रिच हेर्नका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पुग्ने गर्छन् । छिमेकी मुलुक भारत र लुम्विनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटक समेत अष्ट्रिच अवलोकन गर्न फार्ममा पुग्ने गरेका छन् ।

कतिपय स्कुल/कलेज तथा किसानसँग जोडिएका संस्थाहरुले अष्ट्रिच फार्ममा अध्ययन भ्रमणमा समेत लैजान गरेका छन् । यसले अष्ट्रिचको प्रचार-प्रसार हुनुका साथै यसको व्यवसायिक सफलतामा समेत सघाउ पुर्‍याएको शर्माको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment