Comments Add Comment

हेयर ड्रेसरको नजरमा प्रचण्ड सफाचट, रामशरण झूर !

prachanda and ramsaran
४ पुस, काठमाडौं । नेपालका नेताहरु आफ्नो ‘हेयर स्टायल’प्रति कतिको सचेत होलान् ? काठमाडौंका चर्चित हेयर ड्रेसर लक्ष्मी ठाकुरको नजरमा एमाओवादी अध्यक्ष प्रचण्ड ‘हेयर स्टाईल’ मा सबैभन्दा सचेत नेता हुन् ।
प्रचण्डको अनुहारमा ‘हेयर स्टायल’ सुहाएको बताउने ठाकुर ‘हेयर स्टायल’मा सबैभन्दा झूर नेताका रुपमा अर्थमन्त्री डा. रामशरण महतलाई लिन्छन् ।
कपालमै व्यक्तित्व लुकेको हुन्छ भन्ने ठाकुरलाई अर्थमन्त्री महतको कपाल र दाह्री सबैभन्दा अव्यवस्थित लाग्छ । ठाकुरको बुझाइमा कपाल र दाह्रीले डा. महतलाई फोहोरी देखाएको छ ।
तर, प्रचण्डलाई पनि सधैं एउटै किसिमको ‘हेयर स्टायल’ नबनाउन ठाकुरको सुझाव छ । उनी भन्छन्- ‘प्रचण्डले पनि अब आफ्नो ‘स्टायल’ परिवर्तन गर्नुपर्छ ।’

laxmee thakur

राजेश हमालको कपाल देखेर दर्शक वाक्क
अभिनेता राजेश हमालको लामो कपालले दर्शकसमेत वाक्क हुने बेला भएजस्तो लागेको छ ठाकुरलाई । उनी भन्छन् ‘अहिले पनि तत्काल कसैले राजेश हमालको स्केच बनायो भने कपालचाहीँ लामै बनाउँछ ।’
लामो कपाल हमाललाई ठिकै देखिए पनि चलेको हिरोले सधैं एउटै गेटअपमा देखिन नहुने ठाकुरको भनाइ छ । उनको भनाइअनुसार दर्शकको चाहना अनुरुप हिरोले आफ्नो गेटअप परिवर्तन गर्नुपर्छ । उनले भने- ‘राजेश हमालले ‘गेटअप’ परिवर्तन गर्न ढिला भैसक्यो ।’
नायक हमालले ‘हेयर स्टायल’ परिवर्तन गर्न चाहेमा आफूले उनको ‘लुक्स’ परिवर्तन गरिदिने उनले अनलाइनखबरसँग बताए ।Rajesh hamal

हिरोइनको कपाल लामो हुँदैमा राम्रो हुँदैन

नायिका रेखा थापा, केकी अधिकारी लगायतका हिरोइनहरु कपालको मामिलामा सचेत भएजस्तो लाग्छ ठाकुरलाई । तर, जसरी कपालको स्याहार गर्नुपर्ने हो, त्योअनुरुप नभएको ठाकुर बताउँछन् ।
नेपाली समाजमा महिलाको कालो र लामो कपाललाई राम्रो मान्ने चलन छ । तर, कालो र लामो भएकै आधारमा राम्रोको दर्जा दिनहुन्न भन्ने ठाकुर सेलीब्रेटीहरुले समयअनुसार ‘हेयर स्टाइल’ परिवर्तन गर्नुपर्ने बताउँछन् ।
बलिउड कलाकारहरु ‘हेयर स्टाइल’ को मामलामा निकै संवेदनशील हुने गरेको अनुभव गरेका ठाकुरले नेपालीहरु तुलनात्मकरुपमा कमजोर भएको अनुभव गरेका छन् ।

laxmee thakur and nandita

ग्राहकको खुसी पहिलो सन्तुष्टि
कुनै पनि ग्राहकको कपाल मिलाउनुअघि लक्ष्मी आफ्ना ग्राहकको अनुहार हेर्छन् । त्यसपछि तिनको लाइफस्टाइलमा ध्यान दिन्छन् । अनुहार अनुसारको कपाल भए मात्रै व्यक्तित्व झल्किन्छ भन्ने ठाकुर ग्राहकको सन्तुष्टिलाई जहिले पहिलो प्राथमिकतामा राख्छन् ।
कर्पोरेट क्षेत्रमा प्रायः एकैप्रकारको हेयर स्टाइल भएको अनुभव गरेका छन् ठाकुरले । उनको भनाइअनुसार अब कर्पोरेट क्षेत्रका व्यक्तिहरु पनि स्टाइलिस हुनुपर्छ ।

नेपालीहरु चुजी भएकोमा खुशी
कपालले नै मान्छेको व्यक्तित्व निधारण गर्छ भन्ने ठाकुर पछिल्लो समय नेपालीहरु ‘चुजी’ हुँदै गएकोमा खुुसी छन् । उनी भन्छन्-‘कपालले व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने भएकाले कपालका विषयमा सचेत हुनुपर्छ, पछिल्लो समय धेरै नेपालीहरु सचेत हुन थालेका छन् ।’

कपाल काटेरै पक्की घर र चिल्लो कार
laxmee 3नेपालमा केही गर्न सकिँदैन र राजनीतिक अस्थिरताले केही गर्न सकिएन भन्दै विदेश जानेहरु धेरै छन् । तर, करिअर खोज्न भन्दै विदेश जाने तयारीमा रहेका तन्नेरीहरुले एकपटक लक्ष्मी हेयर एण्ड ब्युटी स्टोरका लक्ष्मी ठाकुरलाई भेटे पुग्छ ।
ठाकुरको जीवन पढेर जोसुकैले अलिकति भए पनि उद्यमी हुने पाठ सिक्न सक्छन् । र, यही देशमा केही गर्ने भावना जाग्न सक्छ ।
ठाकुर एक सामान्य नागरिक हुन् । जसको काम हो कपाल काट्नु । तर, कपाल काटेकै कमाइले उनले काठमाडौमा तीनतले घर ठड्याएका छन् । उनी चिल्लो कार चढेर हिँड्छन् ।
चौध वर्ष अगाडि काठमाडौ छिरेका ठाकुरले ठमेेल, चण्डोल र महाराजगञ्ज हुँदै अहिले कोटेश्वरमा सुविधासम्पन्न हेयर कटिङ एण्ड ब्युटी स्टुडियो सञ्चालन गरेका छन् ।

काठमाडौंका सैलुन कस्ता ?
काठमाडौमा धेरै सैलुन खुले पनि कतिपयले राम्रो सेवा दिए जस्तो लाग्दैन उनलाई । सैलुन सञ्चालकले सफा लुगा लगाएर बस्नुको साथै सैलुनलाई पनि सफा बनाउनुपर्ने उनको भनाइ छ ।
‘कतिपय सैलुन सञ्चालक मैलो लुगा लगाएर बस्ने गरेका छन् । त्यसरी बस्न हुँदैन’ ठाकुरले अनलाइनखबरसँग भने ।
काठमाडौमा धेरै ब्युटीपार्लर खुले पनि ती पार्लरहरु व्यवसायिक बन्न नसकेको अनुुभव गरेका छन् उनले ।
उनको बुझाइमा काठमाडौंका कतिपय मान्छेहरु कपालकै लागि राम्रो पैसा खर्चिन तयार छन् । तर, ठाउँ भेटिरहेका छैनन् । मान्छेहरुले पैसा खर्च गरेर पनि राम्रो सुविधा नपाएकोमा दुखी भएका ठाकुर आफु हरेकलाई सेवा गर्न तयार रहेको बताउँछन् ।

सीप सिकियो, पढाइ पूरा भएन

एसएलसी सकेर कलेज पढ्नका लागि मुम्बई गएका थिए ठाकुर । कलेज पढ्दै गर्दा केही काम गर्ने सोच आयो । ‘जीवन निर्वाहका लागि केही नयाँ काम सिकौं भन्ने थियो’ केही सिकिराख्दा काम लाग्छ भन्ने सोचेको थिएँ,’ उनले विगत सम्भिmए ।

पहिला कपालसम्बन्धी प्रशिक्षण लिएका उनले ब्युटीसम्बन्धी पनि थुप्रै प्रशिक्षण लिएका छन् । हेयर एण्ड ब्युटी दुबैमा पोख्त ठाकुरले कामकै कारण पढाइ पूरा गर्न पाएनन् ।
कलेज पढ्दा पढ्दै मुम्बईमा काम सिके उनले । उनी हाँस्दै भन्छन् ‘काम सिकेपछि धेरै काम आउन थाल्यो । कामचाहिँ पूरा भयो तर, पढाइ अपुरै रह्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment