Comments Add Comment

प्रचण्डले फेरि उठाए सर्वपक्षीय सम्मेलनको माग

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

१० पुस, काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा बाहिर रहेका शक्तिहरुलाई संविधान निर्माणमा सहभागी गराउन सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव चार दलको बैठकमा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा प्रचण्डले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका हुन् ।

‘एकपटक असफल भयो भन्दैमा यो एजेण्डालाई अस्वीकार गर्नु हुँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै उनका स्वकीय  सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने-‘बैद्य माओवादीसहितका शक्तिलाई सर्वपक्षीय सम्मेलनमार्फत संविधान निर्माणमा प्रक्रियामा संलग्न नगराई शान्ति प्रक्रिया र सविधान निर्माणको कोर्स पूरा हुँदैन ।’

बैद्य माओवादीको माग अनुसार गत भदौ ३१ गते सर्वपक्षीय सम्मेलन तय भएको थियो । तर, कर्मकाण्डी सम्मेलन गर्न लागेको भन्दै बैद्य माओवादीले अन्तिममा सर्वपक्षीय सम्मेलन बहिस्कार गरेको थियो ।

बैद्य माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नवगठित नेकपा माओवादीले अहिले पनि सर्वपक्षीय सम्मेलन माग गर्दै आएका छन् ।

सहमति खोज्न कार्यदल गठन

चार दलको बैठकले संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख चार दलले कार्यदल गठन गरेको छ । उच्चस्तरीय कार्यदलमा कांग्रेसका महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसवादी दलका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।

कार्यदललाई दुई दिनको समयसीमा दिइएको छ । ‘सीमित समयभित्र राम्रो गृहकार्य गरेर छिटो भन्दा छिटो कसरी संविधान जारी गर्ने भनेर गृहकार्य गर्न कार्यदल गठन भएको हो’ रावलले भनेका छन् ।

कार्यदलले गृहकार्य गरिरहँदा शीर्ष नेताहरुको छलफल पनि जारी राख्ने सहमति भएको छ ।

चार दलको बैठकअघि प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment