१७ पुस, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा दलहरुले सहमति नगरे नयाँ संविधानको पहिलो मस्यौदा आफैंले बनाउने चेतावनी दिएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले दलहरुसामू दुई विकल्प प्रस्तुत गरेका हुन् ।
एक नेताका अनुसार नेम्वाङले पहिलो विकल्पका रुपमा संविधानका विवादित विषयमा चार दिनभित्र सहमति गर्न दलहरुलाई आग्रह गरेका छन् । यसमा सहमत नहुने भए संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन नेम्वाङले प्रस्ताव गरेका छन् ।
‘नियमावलीलाई निलम्बन गरे १० देखि १४ दिनभित्र म मस्यौदा बनाउँछु’ आफू शिव भगवानले जस्तै कालकूट विष खान तयार भएको भन्दै बैठकमा नेम्वाङले भने-‘चिक्त नबुझे पछि संशोधन गर्नुस् ।’

विगतमा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईलाई पनि स्वविकेकीय अधिकार दिएको भन्दै उनले दलहरुले नसक्ने हो भने आफूलाई अधिकार दिन आग्रह गरे ।
विगतमा दलहरुले अन्तरिम संविधानमा कुनै व्यवस्था नभएपनि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको स्मरण गराउँदै उनले भने-यो दलहरुले नसकेको होइन, नगरेका हुन् ।’
नेम्वाङको प्रस्तावले सिटौला झस्किए

सभाध्यक्ष नेम्वाङको प्रस्तावलाई प्रधानमन्त्री सुशील कोइराल र एमाले अध्यक्ष केपी ओलीले समर्थन गरे । दलहरुबीच केही दिन सहमतिको प्रयास गर्ने र सभाध्यक्षले माग गरेअनुसार मस्यौदाको अधिकार दिन सकिने कोइराला र ओलीको भनाइ थियो ।
तर, कांग्रेस महामन्त्री कृष्ण सिटौला भने झस्किए । उनी संविधान मस्यौदा समितिका सभापति समेत हुन् ।
सभाध्यक्षले आफैं मस्यौदा गर्छु भनेपछि आफ्नो समितिको औचित्य सकिने उनको बुझाइ थियो । सभाध्यक्षको दोस्रो विकल्प दलहरुलाई दबाव दिन भएको आफूले बुझेको उनले बैठकमा बताए ।
स्रोतका अनुसार सभाध्यक्षले आफैं मस्यौदा बनाउँछु भन्ने प्रस्ताव राखेपछि उनले सँगै बसेका पार्टी प्रमुख सचेतक चिनाकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक अग्नि खरेललाई यसबारे यसअघि छलफल भएको थियो भनेर सोधेका थिए । तर, दुबैले छैन भन्ने जवाफ दिए ।
दिलनाथले बोल्न पाएनन्
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा अनुपस्थित भए । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले बोलेपछि कमल थापाको साट्टा प्रमुख सचेतक दिलनाथ गिरीले बोल्न खोजे ।
तर, सभाध्यक्षले दिएनन् । प्रतिनिधि होइन, हर्स माउथबाट सुन्ने भनेर आफूले बैठक बोलाएको भन्दै नेम्वाङले राप्रपा नेपालका प्रमुख सचेतकलाई बोल्ने समय नै दिएनन् ।
हात्ती आयो हात्ती आयो फुस्सा !
बैठकमा एमाओवादी र मधेसी मोर्चाका नेताले भने सभाध्यक्षको प्रस्ताव समर्थन गरेनन् ।
माओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति गरेर मात्र संविधान बनाउनु पर्नेमा जोड दिए । कालकूट विष सभाध्यक्षलाई मात्र खान नदिने भन्दै उनले हामी सबैले खानुपर्छ भनेका थिए ।
मधेसी मोर्चाका तर्फबाट बोलेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रचण्डकै भनाइमा सहमति जनाए ।
बैठकपछि उनले सभाध्यक्षको प्रस्ताव राम्रो आशयबाट आाएको भए पनि तत्काल समर्थन गर्ने नगर्ने बताए ।
चार दलका प्रमुख नेता, सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले बोलेपछि बैठक कुनै निर्णय नगरी सकिएको छ ।
प्रतिक्रिया 4