Comments Add Comment

प्रधानमन्त्रीले अपमान गरेको दलमर्दन कामीको दुखेसो

२२ पुस, काठमाडौं । दलित आयोगलाई पूर्णता दिनुपर्ने र दलितलाई मन्त्री बनाइनुपर्ने माग गर्दै बालुवाटार पुगेका दलित नेता दलमर्दन कामीले आफूलाई प्रधानमन्त्री सुशील कोइरालाले अपमान गरेको आरोप लगाएका छन् ।

समाजिक लोकतान्त्रिक पार्टीका नेता दलमर्दन कामीको नेतृत्वमा  सात जना दलीत नेताहरु मंगलबार बिहानै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । प्रधानमन्त्री व्यस्त रहेको भन्दै सुरुमा समय नदिएपछि दलित नेताहरु केहीबेर गेटमै रोकिए ।

पछि दुई मिनेटका लागि भन्दै प्रधानमन्त्रीका सहयोगी अतूल कोइरालाले भित्र बोलाएपछि प्रधानमन्त्री कोइरालाले उभिएरै ज्ञापन पत्र बुझेका थिए । ‘हामीलाई बस्न पनि भनिएन, ज्ञापनपत्र वाचन गर्न पनि दिइएन,’ कामीले अनलाइनखबरसँग भने ‘उभ्याएरै पठाइयो, चिया खाने कुरा त परै राखौं ।’

Dalmardan-Kami
दलमर्दन कामी

ज्ञापनपत्र बुझाउँदै दलित प्रतिनिधिमण्डलले मन्त्रिपरिषदमा दलितलाई समावेश गर्न र अझैसम्म दलित आयोगलाई पूर्णता दिन माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले दलितलाई मन्त्री बनाउँदैमा अधिकार पाइन्छ ? भन्दै प्रश्न गरेका थिए । ‘दलितलाई कति अधिकार दिने ? यति नै हो, अब आन्दोलन गर्ने हो भने भएको पनि खोसिन्छ,’ प्रधानमन्त्री कोइरालाको भनाइ उधृत गर्दै दलमर्दनले भने ।

प्रधानमन्त्री कोइरालाले ‘धनमानसिंह परियार मेरो नेता हो, दलितलाई अधिकार दिएकै छ’ भनेको उनले सुनाए । ‘हामीले प्रधानमन्त्रीबाट अपमानित भएको महसुस गर्‍यौं,’ कामीले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्रीलाई भेट्न दलमर्दनसहित कमला हेमचुरी, राजेन्द्र दयाल, भक्त विश्वकर्मा, शम्भु सिरुवा, प्रकाश विश्वकर्मा लगायतका दलित नेताहरु मंगलबार बिहान साढे ८ बजे बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment