Comments Add Comment

हुण्डाई र मारुतीले कारको भाउ बढाए

Hyundai_Maruti_Swift
भारतका ठूला दुई मोटर उत्पादक कम्पनी हुण्डाई र मारुती सुजुकीले आफ्ना सबैखाले गाडीको भाउ बढाएका छन् । भारत सरकारले उपलब्ध गराउँदै आएको कर सुबिधा हटाएपछि भारतीय गाडी निर्माताहरु धमाधम मूल्य बढाउने तयारीमा जुटेका छन् ।

मारुतीले न्यूनतम ७ हजार ८ सय ५० देखि ३१ हजार ६ सय भारुसम्म मूल्य बढाएको छ । कम्पनीका अनुसार ओम्नीभ्यानमा ७ हजार ८ सय ५० भारु, अल्टोमा ८ हजार ५ सयदेखि १२ हजार ७ सय भारुसम्म र वेगन आरमा १२ हजार ५ सयदेखि १५ सय ७ सय भारुसम्म मूल्य बढाइएको छ ।

स्वीफ्ट गाडीको भाउ १५ हजार ८ सय ५० भारुदेखि २५ हजार १ सय ५० रुपैयाँ भारुसम्म बढेको छ भने सेडान कार डिजायरको मूल्य १७ हजार ५ सय भारुदेखि २६ हजार ५ सय ५० भारुसम्म बढेको बताइइको छ ।

यसैगरी, सेलेरियो कारको मूल्यमा १३ हजार ६ सय भारुदेखि १७ हजार २ सय भारुसम्म बृद्धि भएको छ भने सियाज कारमा २२ हजार ४ सय ५० भारुदेखि ३१ हजार ६ सय भारुसम्म बढाइएको छ ।

हुण्डाईमा १ लाख २७ हजारसम्म बृद्धि

यसैगरी हुण्डाई मोटर इण्डियाले पनि कर छुट कटौतीको कारण देखाउँदै मूल्य बृद्धि गरेको छ । जसअनुसार इन्ट्रि लेभल कार इओनमा १५ हजार ४ सय १७ भारु बढेको छ भने लोकप्रिय आइटेन गाडीको भाउ २१ हजार ५ सय १ भारु बढाइएको छ ।

ग्राण्ड आईटेनको भाउ २२ हजार ५ सय ८ र आइ-२० को २९ हजार ८ सय १४ भारुसम्म बढाइएको छ । यसैगरी एक्सेण्ट सेडानको भाउ २५ हजार ५ सय ९७ भारु र सेडान भर्नाको भाउ २३ हजार ९ सय ६५ भारु बढाइएको छ ।

हुण्डाईको पि्रमियम एसयुभी गाडी सान्टाफेको मूल्य १ लाख २७ हजार भारु बढेको छ । नेपालमा हुन्डाईको इन्ट्रि लेभल कार इओएनको मूल्य १६ लाख ५६ हजार रुपैयाँ र सबैभन्दा महंगो सान्टा फे को १ करोड १८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

भारतमा कर छुटमा दिइएको सुबिधा कटौती गरेपछि जनवरीदेखि लागू हुने गरी धेरैजसो कार निर्माताले भाउ बढाउने तयारी गरेका हुन् । अन्य निर्माताहरुले भने अझै मूल्यबृद्धिको घोषणा गरिसकेका छैनन् ।

नेपालमा औपचारिक जानकारी छैन्

मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोक्रोपले भने अहिलेसम्म मूल्य बढाएको विषयमा औपचारिक जानकारी नआएको बताएको छ ।

‘भर्खरै मूल्य बढाइएको छ, अहिलेसम्म जानकारी आएको छैन, भारतमा मूल्य बढेपछि नेपालमा पनि स्वतः बढिहाल्छ’ कम्पनीका मार्केटिङ प्रमुख भक्त कटुवालले भने- ‘अब आयात गरिने गाडीमा भाउ बढेर आउँछ होला ।’

कटुवालका अनुसार भारतमा बढेको भाउको करिव ५ गुणाले नेपाली बजारमा गाडीको भाउ बढ्छ । यसलाई आधार मान्ने हो भने मारुती गाडीको भाउ नेपालमा ६२ हजार ८ सय रुपैयाँदेखि दुई लाख ५२ हजार ८ सय रुपैयाँसम्म भाउ बढ्ने छ ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि भाउ बढाउने विषयमा औपचारिक जानकारी प्राप्त नभएको बतायो । कम्पनीका मार्केटिङ म्यानेजर रुपेश श्रेष्ठले हुन्डाई गाडीको भाउ न्यूनतम १ लाख रुपैयाँदेखि बढेर आउने बताए ।

अहिले बजारमा भएका गाडीको भाउमा भने कुनै परिवर्तन नहुने श्रेष्ठको भनाई छ । सन् २०१५ मोडलमा मात्र भाउ बढ्ने अनलाइनखबरसँग बताए । हुन्डाईका महंगा गाडी कोरियाबाट समेत आउने हुँदा भारतमा बढेको मूल्यले सबै मोडललाई प्रत्यक्ष प्रभाव नपार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment