Comments Add Comment

हप्तामा ५० अन्तर्राष्ट्रिय उडान गर्दै निगम

Nepal-Airlines-Airbus

नविन अर्याल

३० पुस, काठमाडौं । जहाज अभावमा हुँदाखाँदाका अन्तराष्ट्रिय उडान कटौती गरेर खुम्चिइरहेको नेपाल बायु सेवा निमगले हप्तामा ५० उडान गर्दै छ भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

तर, दुई नयाँ एयरबस ल्याएपछि पुरानो शाखलाई फर्काउने खाका बनाइरहेको नेपाल बायुसेवा निगमका लागि यो सपना त्यति धेरै टाढा छैन् ।

निगमले खरिद गर्न लागेका दुईवटा एयरबस ‘ए-३२०’ जहाजमध्ये पहिलो जहाज माघ २४ गते नेपाल आउँदैछ । अर्को जहाज पनि चैतको अन्त्यसम्म नेपाल आइपुग्ने बताइएको छ ।

यही बर्षभित्र निगमले अहिले उडान भरिरहेका चारवटा गन्तव्यलाई बढाएर ९ पुर्‍याउँदै छ भने उडान संख्या ५० पुग्ने छ । अहिले निगमले दुईवटा बोइङबाट हङकङ, दोहा, बैंकक र मलेसियामा उडान भरिरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज पुगेपछि मुम्बई, बैङलोर, दिल्ली, दुबई, चीनको गोन्झाओमा उडान सुरु गर्ने निगमका प्रवक्ता रामहरि शर्माले बताए । यी गन्तव्यहरुमा निगमको उडानसँगै बिदेशी बायुसेवा कम्पनीहरुको दबदबा केही कम हुने छ ।

Airliance destination from nepal(1)

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि प्रयाप्त जहाज नहुँदा विदेशी विमान कम्पनीहरुले यात्रुहरुसँग चर्को भाडा असुल्दै आएका छन् ।

प्रवक्ता शर्माका अनुसार पहिलो जहाजबाट फागुन ८ गते भारतको नयाँ दिल्लीमा उद्घाटन उडान हुने छ । दिल्ली उडानका लागि निगमले तालिकासमेत तयार पारिसकेको छ ।

विस्तारै भारतको मुम्बई र बैंगलोरमा पनि उडान विस्तार हुने निगमका उप-निर्देशक पुष्पलाल पोतेले जानकारी दिए । निगमले अहिले ल्याउन लागेको न्यारो बडी जहाज लगातार ६ घण्टा मात्र उड्न सक्छन । जसले गर्दा युरोप, जापान लगायत टाढाका गन्तव्यमा यी जहाजबाट तत्काल उडान सम्भव छैन् ।

निगमले चारवटा जहाज पुगेपछि हप्तामा दिल्ली १४, मुम्बई ३, बैङलोर ३, हङकङ ३, बैंकक ३, ग्वाङ्झाउ ३, दुबई ७, दोहा ७ मलेशिया ७ वटा उडान गर्ने तयारीमा रहेको छ ।

सुरुमा निगमले दुबईमा हप्ताको ४ वटा उडान भर्ने बताउँदै प्रवक्ता शर्माले विस्तारै ७ वटा उडान पुर्‍याउने लक्ष्य रहेको बताए । त्यस्तै, अहिले हप्तामा ४ वटा उडान भइरहेको दोहामा पनि ७ वटा उडान पुर्‍याउने तयारी छ ।

चारवटा जहाज पुगेपछि निगमले उडान गर्ने गन्तव्यहरू

गन्तव्य उडान संख्या (हप्तामा)
दिल्ली १४
मुम्बई
बैङलोर
हङकङ
बैंकक
गोन्झाउ
दुबई
दोहा
मलेशिया
कुल उडान ५०

नेपाली कामदारको पहिलो गन्तव्यका रुपमा रहेको मलेसियामा भने अहिले पनि निगमले दैनिक एक उडान भर्दै आएको छ । नयाँ जहाज आएपनि मलेसियामा भने उडान थप नगर्ने शर्माले जानकारी दिए ।

नेटवर्क धमाधम

निगमले मलेसिया, हङकङ, बैंककमा त्यहाँको प्यासेन्जर सेल्स एजेन्ट (पीएसए)को सहयोगमा आफ्नै कार्यालय खोलेर व्यवस्थापनको काम गर्दै आएको छ । कतारको दोहामा भने जनरल सेल्स एजेन्ट (जीएसए) मार्फत टिकट बिक्री गरिहेको छ ।

दुबई र भारतका लागि पनि जीएसएको प्रकृया अगाडि बढाइसकेको निगमले जानकारी दियो । भारतमा निगमको जीएसए लिने एजेन्टले तीनै ठाउँमा कार्यालय खोलेर सेवा प्रदान गर्ने छ । चीनको गोन्झाओका लागि पनि जीएसएको प्रकृया अघि बढ्दै छ ।

‘निगमले सिमित साधनबाट अधिकतम सेवा उपलब्ध गराउँदै आएको छ’ प्रवक्ता शर्माले भने । निगमले दैनिक १४ घण्टासम्म जहाजलाई उडाएर यात्रुहरुलाई सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment