Comments Add Comment

ऋण लिने हो ? ढीलो नगर्नुहोस्, ब्याजदर बढ्दैछ

Home

पुष्प दुलाल

१ माघ काठमाडौं । तपाई बैंकबाट कर्जा लिएर घर किन्ने सोचमा हुनुहुन्छ भने ढीलो नगर्नुहोस् । तत्काल घर कर्जा (होम लोन) लिनु नै तपाईका लागि फाइदाजनक हुन्छ । किनभने अहिले आठ प्रतिशतमै पाइने घर कर्जा एकमहिना पछि नपाइन सक्छ ।

लगानी योग्य पुँजी (तरलता) सन्तुलनमा अाएसँगै बैंकहरूले निक्षेपमा दिँदै अाएको र कर्जामा लिँदै अाएको  ब्याज दर बढाउने संकेत गरेका छन् ।

अहिले तपाईले स्टान्डर्ड चार्टड बैंकबाट घर कर्जा लिनुभयो भने ७.७५ प्रतिशत ब्याज तिरे पुग्छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि आठ प्रतिशत ब्याजदर मै घर कर्जा दिँदै आएको छ ।

धेरै वाणिज्य बैंकहरुले ९ देखि १२ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्दै आएका छन् । केही वर्ष अघिसम्म घर कर्जा लिन ग्राहकले न्यूनतम १४/१५ प्रतिशत ब्याज तिर्नुपर्थ्यो ।

बैंकिङ क्षेत्रमा थुप्रिएको अधीक तरलताका कारण निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याज पनि घटेको हो । तरलता कम हुँदा ब्याजदर बढ्ने र तरलता बढी हुँदा ब्याजदर घट्ने गर्छ ।

७.७५ देखि १७.९९ प्रतिशतसम्म

बैंकहरुले सार्वजनिक गरेको पछिल्लो ब्याजदर अनुसार पाँच वर्षसम्मका लागि प्रदान गरिने घर कर्जाको ब्याजदर न्यूनतम ७.७५ देखि अधिकतम १७.९९ प्रतिशतसम्म ब्याज लिने जनाएका छन् । अधिकांस बैंकहरुले ८ देखि १२ प्रतिशतमा ऋण प्रदान गरिरहेको जानकारी दिएका छन् ।

स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य, हिमालयन, प्रभू, नेपाल बैंकलगायतले १० प्रतिशत भन्दा कममा घर कर्जा प्रदान गरिरहेका छन् । एनआइसी एसियाले ८.४९ प्रतिशतदेखि १५.९९ प्रतिशतसम्ममा कर्जा प्रवाह गरिरहेको छ ।

माघ अन्तिमदेखि ब्याज बढ्न सक्छ

पछिल्लो समयमा सरकारले खर्च गर्न नसक्दा अहिले करिब ७५ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ । मोटो रकम सरकारी ढुकुटीमा थन्किएसँगै बैंकिङ क्षेत्रमा अधिक तरलताको चाप घट्दै गएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए ।

‘अधीक तरलताको चाप कम भएकाले डेढ वर्षेदेखि निरन्तर घटेको ब्याजदर माघ अन्तिमबाट बढ्ने देखिन्छ’ सीइओ दाहालले भने । तरलता कसिलो हुनेवित्तिकै बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर बढाउने उनले बताए ।

अधीक तरलता हुँदा बैंकहरुले लगानी गर्ने ठाउँ नपाएर थुपि्रएको रकम घर तथा गाडी किन्न सस्तोमा लगानी गरिरहेका हुन् । उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्ने वित्तिकै घर/गाडी लगायतका क्षेत्रमा ब्याजदर धेरै बढ्ने आँकलन गरिएको छ ।

अझै १४ अर्ब अधीक तरलता

पछिल्ला दिनहरुमो बैंकिङ क्षेत्रमा अधीक तरलताको चाप केही घटे पनि अझै १४ अर्ब रुपैयाँ अधीक तरलता भएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्र बैंकले पटक-पटक रिभर्स रिपोमार्फ प्रशोचन गरेको ३५ अर्ब तरलता बजारमै छ । यही माघ ४ गते पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने श्रेठले जानकारी दिए । ‘यो परिणामको तरलता प्रसोचना गर्नु भनेको तरलता घट्नु हो ।’ उनले भने- ‘तरलता घटेपछि ब्याजदर बढ्छ । तर, अहिले नै ब्याजदर बढ्छ भन्न चाहिँ सकिँदैन ।’

माघ ८ को प्रभाव

राजनीतिक अस्थिरताका कारण लगानीकर्ता उत्साहित हुन नसक्दा कर्जाको माग न्यून मात्रै बढ्ने भएकाले तत्काल तरलता कम भैहाल्छ भन्न नसकिने श्रेष्ठले बताए ।

‘माघ ८ मै संविधान बन्यो भने लगानीकर्ता उत्साहीत हुन्छन’ श्रेष्ठले भने- ‘कर्जाको माग अत्यधिक बढ्छ र तरलताको कम हुनसक्छ ।’ त्यसैले राष्ट्र बैंकले उपयुक्त मौद्रिक औजार प्रयोगको छलफल गरिरहेको उनले बताए ।

राष्ट्र बैंक नै ब्याज बढाउने पक्षमा

त्यसो त, राष्ट्र बैंक नै निक्षेपकर्ताले कम ब्याज पाएको भन्दै ब्याजदर बढाउन प्रोत्साहन गर्ने पक्षमा छ । गभर्नर डा. युवराज खतिवडाले नै सार्वजनिकरुपमा निक्षेपको ब्याजदर बढाउनुपर्ने धारणा राख्दै आएका छन् । ब्याजदर न्यून हुँदा पुँजी पलायनको खतरा राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ ।

उत्पादनशील क्षेत्रमा १४ प्रतिशतमात्रै कर्जा

नेपाल राष्ट्र बैंकले ०६८ असार मसान्तसम्म नै कूल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, अहिले पनि यो क्षेत्रमा १४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ ।

वित्तीय क्षेत्रको उल्लेख्य विकास भए पनि यो क्षेत्रले देशको कूल ग्राहर्स्थ उत्पादनमा ३.८ प्रतिशत मात्रै योगदान छ । सरकारले ०७६ सम्ममा जीडीपीमा वित्तीय क्षेत्रको योगदान ८ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

उक्त लक्ष पूरा गर्न सरकार र राष्ट्र बैंकले कृषि, उर्जा, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा कर्जा बढाउन थप दवाबमूलक नीति आवश्यक छ । जसले अनुत्पादक क्षेत्रमा विस्तार भएको कर्जाको ब्याजदर बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

कुन बैंकले कति ब्याजदरमा घर कर्जा दिन्छन् ?

बैंक पाँच वर्षसम्मको घरकर्जाको ब्याजदर (प्रतिशतमा)
स्टान्डर्ड चार्टड बैंक ७.७५ देखि १०
प्रभू बैंक ७.९९ देखि ९.५०
राष्ट्रिय वाणिज्य बैंक
हिमालयन बैंक ८.५०
नविल बैंक ९ देखि ९.७५
सानिमा बैंक ९ देखि १०
नेपाल बैंक ८.२४ देखि १०.५०
ग्लोवल आइएमइ बैंक ९ देखि१२
कृषि विकास बैंक १०
इन्भेष्टमेन्ट बैंक ११
एभरेष्ट बैंक १० देखि १४
लुम्बिनी बैंक ९.५० देखि १२
सिटिजन बैंक ९ देखि १४
बैंक अफ काठमाण्डू १३ देखि १४
नेपाल एसबिआई बैंक १३
सिद्धार्थ बैंक १२ देखि १३
एनएमबि बैंक ११ देखि १४.५०
एनआइसी एशिया बैंक ८.४९ देखि १५.९९
एनसीसी ११ देखि १३
माछापुच्छ्रे बैंक १० देखि १४
सनराइज बैंक ८.५० देखि ९
प्राइम बैंक १० देखि १२
लक्ष्मी बैंक ९ देखि १२
कुमारी बैंक ११ देखि १२
ग्रान्ड बैंक १२
एनबी बैंक ११ देखि १३
सिभिल बैंक ८.९९ देखि ९.९९
मेगा बैंक ९.५० देखि १२
जनता बैंक ११ देखि १२
सेञ्चुरी बैंक ९ देखि १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment