Comments Add Comment

श्रृंखलावद्धरुपमा ल्यापटप चोरी गर्ने गिरोह पक्राउ

Laptop-thip

३ माघ, काठमाडौं । राजधानीमा श्रृंखलावद्धरुपमा ल्यापटप चोरी गर्ने गिरोहका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका अरुण भन्ने रामभक्त श्रेष्ठ, उनका भाइ राजु श्रेष्ठ र रुपन्देहीका सुरज कुमाल छन् ।

उनीहरुले चौधरी ग्रुप, एभरेस्ट होटल नयाँ वानेश्वर, अन्नपूर्ण होटल दरबारमार्ग लगायतका १४ संस्थामा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार कोट पाइन्टमा ठाँटिएर उनीहरुले हाते झोला बोकेर सर्वसाधारणको आवत-जावत हुने विभिन्न कार्यालयमा खाजा खाने समयमा सेवाग्राही बनेर जाने र कर्मचारी नभएको मौकामा ल्यापटप बोकेर हिँड्ने गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले अरुण भन्ने रामभक्तलाई माघ १ गते चितवनबाट पक्राउ गरेको थियो । उनका साथबाट चोरीका ५ थान ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा अरुणले उपत्यकाका विभिन्न २८ स्थानवाट ३० वटा भन्दा बढी ल्यापटप चोरी गरेको बयान दिएका छन् । उनले चोरी गरेको प्यापटपहरु थानकोटको कोठामा जम्मा गर्ने र चितवन लैजाने गरेका थिए ।

आफूलाई खासाबाट ल्यापटप ल्याउने व्यापारी भनी चिनाउने रामभक्तले धेरै राम्रा र महँगा ल्यापटप नयाँ दिल्लीसम्म लगेर बिक्री गर्ने तथा अन्य चितवन र भारतका रक्सौल, लखनउ, गोरखपुरतिर बिक्री गर्ने गरेको पाइएको छ ।

चोरी गरी ल्याएका ल्यापटप राजु श्रेष्ठले विक्री गर्ने गरेको प्रहरीले बताएको छ । चोरीका ल्यापटप हुन् भन्ने थाहा पाई पाई किन्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

रामभक्त यसअघि पनि ल्यापटप चोरी अभियोगमा जिल्ला अदालत काठमाडौबाट धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment