Comments Add Comment

माघ आठले अर्थतन्त्रमा निराशा, व्यवसायी भन्छन- लगानीको वातावरण विग्रियो

onlinekhaber
८, माघ काठमाडौं । लामो समयदेखिको राजनीतिक संक्रमणले थलिएको देशको अर्थतन्त्रले तत्काल सञ्चोको श्वास फेर्न नपाउने भएको छ । निर्धारित समय (माघ ८) मा संविधान नआउनु र संविधान आउने मिति अझै सुनिश्चित हुन नसक्नुले अर्थतन्त्रमा तत्काल सुधार आउने संभावना न्यून छ ।

माघ ८ मा संविधान आउँछ र त्यसपछि लगानीको वातावरण बन्छ भन्ने आशामा बसेका उद्योगी/व्यवसायी फेरि एकपटक निराश भएका छन ।
सहमतिमा संविधान बन्न नसकेको र प्रक्रियाबाट संविधान जारी गर्न प्रतिपक्षीले कडा प्रतिरोध गरेपछि निजी क्षेत्र निरास भएकोनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बताए ।

‘माघ ८ मा संविधान बन्छ र त्यसपछि देशको राष्ट्रिय एजेण्डका आर्थिक विषय हुनेछ भन्ने अपेक्षा थियो’ अध्यक्ष पाण्डेले भने- तर हाम्रो अपेक्षामा तुसारापात लागेको छ ।

माघ ८ पछि औद्योगिक वातावरण बिग्रने भन्दै उद्योगी व्यवसायीहरुले चिन्तीत छन लामो समयदेखि शान्ति र संविधानको पर्खाइमा बसेका लगानीकर्ताहरुको मनोवल नगिराउन सरोकारवालासँग उनको आग्रह छ ।

‘दोस्रो संविधानसभाको निर्वाचनपश्चात् दलहरूले समयमै संविधान दिने प्रतिबद्धता जनाएकोले औद्योगिक वातावरणमा समान्य सुधार आएको थियो ।’ उनले भने- वैदेशिक र स्वदेशी लगानी बढेको तथ्यांकले पनि औद्योगिक वातावरणमा केही सुधार भएको देखाउँछ । तर, अब यो अवस्था विगि्रने छ ।’

संविधान जारी गर्न नसकिए पनि माघ ८ गते संविधान निर्माणको प्रक्रिया सुरु गरेर भए पनि लगानीकर्तालाई विश्वास दिलाउनु पर्ने उनको माग छ ।
‘अब पनि बखेडा झिकेर संविधान निर्माण गर्न नदिने हो भने त्यसपछिको अवस्था देशको अर्थन्त्रले थेग्न सक्दैन’ उनले भने । संविधान आएको केही महिनामै स्वदेशी तथा विदेशी लगानीको ओइरो लाग्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि लगानीकर्ताहरु माघ ८ पर्खिएर बसेको बताए । ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । संविधान जारी भएन । अब पनि पर्ख र हेरको अवस्थामा नै छन ।’ उनले भने ।

नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको चासो बढिरहेको उनले बताए । ‘संविधान मात्रै बनोस, लगानीको ओइरो लाग्छ’ उनले भने ।

उद्योग विभागका अनुसार २०७१ मंसिरसम्ममा २०७० मंसिरको तुलनामा १ सय ७७ प्रतिशत बढी वैदेशक लगानी प्रतिबद्धता आएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनको परिणाम लोकतन्त्र र निजी क्षेत्रको पक्षपोषण गर्ने कांग्रेस रएमालेका पक्षमा आएपछि लगानीकर्तामा केही विश्वास आएको पाण्डे र श्रेष्ठको भनाई थियो । यस अवधिमा लगानीका लागि केही नीतिगत सुधार पनि भएको उनीहरुको बताउँछन ।

तथ्यांकगतरुपमा हेर्ने हो भने पनि चालू आर्थिक वर्षको मंसिरसम्ममा उद्योग विभागमा १ सय ४९ आयोजनाका लागि ३८ अर्ब ९७ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । गत वर्षको यसै अवधिमा १४ अर्ब २६ करोड रुपैयाँ मात्रै वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो ।

त्यस्तै, स्वदेशी लगानीका प्रतिबद्धताबाहेक पनि यो वर्षको मंसिरसम्ममा उर्जा क्षेत्रमा मात्र ३३ अर्ब ६८ करोड, सेवा क्षेत्रमा सवा २ अर्ब र पर्यटनमा १ अर्ब ७६ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

लगानीको प्रंस्ताव गर्ने १ सय ४९ आयोजनाले ५ हजार ४ सय ३९ रोजगारी सिर्जना गर्ने बताएका छन ।

‘लगानीले पर्खिएर बस्दैन’ चेम्बर अध्यक्ष श्रेष्ठले भने- ‘दलहरुले लगानीको मर्म बुझेनन । यसले अर्थतन्त्रमा ठूलो असर पारेको छ ।’ मुलुकमा लगानी बढ्न नसक्दा अपार संभावना भएका कृषि, उर्जा, पर्यटन र सेवालगायतका क्षेत्रहरुको विकास हुन सकेको छैन भने मुलुकले झिनो अंकको आर्थिक वृद्धिदर मात्रै प्राप्त गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment