Comments Add Comment

मनोज गजुरेलदेखि बद्री पंगेनीसम्मः संबिधान नबन्नुमा कसलार्इ दोषी देखे ?

keki-priyanka-sitarama-nd-i
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि प्रमुख दलका शीर्ष नेताहरुले ८ माघमा संविधान जारी गर्ने सहमति जनाए । कांग्रेस, एमाले, एमाओवादी, मधेशवादी लगायतका दलका नेताहरुले पटक पटक भनेका थिए ‘८ माघमा हामी संविधान जारी गर्छौं ।’

तर, नेताहरुले जनतालाई प्रतिबद्धता जनाएको माघ ८ आइपुगेको छ । तर, संविधान जनताले पाउने कुनै छाटकाट  देखिदैन । दलहरुले नै तोकेको मितिमा संविधान नआउनुको कारणलाई नेताहरुको कमजोरीको रुपमा बुझेका छन्  कलाकारहरुले ।
धेरै कलाकारले नेताहरुलाई देशको माया नभएको टिप्पणी गरे भने कतिले भत्ता पचाउनका लागि ढिला गरिएको समेत भने।

संविधान नआउँदा यसको मार नेपाली चलचित्र क्षेत्र र सांगीतिक क्षेत्रलाई पनि परेको छ । कमजोर व्यवसायका कारण आक्रान्त बनेको चलचित्र क्षेत्रलाई माघ ८ मा संविधान नआउने भएपछि झनै समस्या थपिएको छ ।

फेरि, अहिले दिनहुँ जसो हुन थालेका आन्दोलन र बन्दले चलचित्रमा लगानी गर्नेहरु निराश भैरहेका छन् । तोकिएको  मितिमा नेताले संविधान जारी गर्न नसक्नुको पछाडि कलाकारहरु आ-आफ्नै कारण पेश गर्छन् ।

म त निराश छु
केकी अधिकारी, नायिका

keki-adhikariसंविधानसभामा सभासदहरुले कुर्सी तोडफोड गरेको दृष्य देखेपछि त म निराश भएँ । हामीले कस्ता मान्छेलाई सभासद बनाएर पठाएछौं भन्ने पनि लाग्यो ।

आठ माघमा संविधान नआउनुको कारण राजनीतिक दलका नेताहरुमा देखिएको असहमति नै हो । सहमती हुन बाँकी रहेका बुँदाहरुमा सहमती गर्नेतर्फ उहाहरु कहिल्यै अग्रसर हुनु भएन । ‘मेरो गोरुको बार्‍है टक्का’ भनेर बस्नु भयो । फेरी पनि सहमती त गर्नुहोला, तर उहाँहरुले जनताको चित्त दुखाउनु भएको छ ।

संसारभर काम लागेको हाम्रो भोट नेतालाई काम लागेन
मनोज गजुरेल, हाँस्य कलाकार

manoj-daiहामी नेपालीहरु भोट हालेर जिताउन सिपालु छौं । हामीले प्रसान्त तामाङलाई भोट हालेर ‘इण्डियन आईडल बनायौं’, अनुराधा कोइरालालाई भोट हालेर  ‘सीएनएन हिरो बनायौं, तेरिया मगरलाई भोेट हालेर ‘डीआइडी लिटिल मास्टर’ बनायौं ।
दुःखको कुरा संविधानसभामा भोट हाल्यौं सभासद बनायौं तर, संविधान बनाउन सकेनौं । हाम्रो भोट संसारभर काम लागेपनि संविधानसभामा काम लागेन ।

जबसम्म जनताले ‘नो भोट’ को अधिकार पाउँदैनन्, तबसम्म यस्तै भइरहन्छ । संविधान नबन्नुमा सतही रुपमा हेर्दा कांग्रेस, एमाले, एमाओवादी लगायतका दलमा दम्भ देखिएजस्तो देखिन्छ ।

तर, त्यो मात्रै कारण होइन । खासमा भन्ने हो भने हाम्रो राजनीति अप्रत्यक्ष नियन्त्रणमा छ । कुनै महत्वपूर्ण निर्णय हाम्रा नेताले स्वविवेकले गर्न सक्दैनन् । सायद हाम्रो मुलुकको रिमोर्ट लिनेहरुले पनि चासो दिएनन् होला । अर्को कुरा हाम्रा नेताहरुले जनतालाई कहिल्यै जनता ठानेनन् । जन्तुको ब्यबहार गरे ।

संविधान नबन्दा आकासै खस्दैन
बद्री पंगेनी, लोकगायक

badri pangeniआजको मितिमा नयाँ संविधान नआउनुको मुख्य कारण राजनीतिक दलका नेताहरुमा देखिएको दम्भ नै हो । हरेक दलका नेताहरुमा आफ्ना कार्यकर्तालाई मात्रै जनता ठान्ने र सह-अस्तित्व अस्वीकार गर्ने समस्या छ ।

नेताहरुलाई राष्ट्रको माया कत्ति पनि रहेनछ भन्ने कुरा पटक-पटक पुष्टि भएको छ । यो देशमा फेरि पनि चुनाब हुन्छ, जनतासँग भोट माग्न जानुपर्छ भन्नेमा दलका नेताहरु सचेत भएको भए यो स्थिती आउने थिएन ।

८ माघमा संविधान नआउँदैमा आकासै खस्छ जस्तो लाग्दैन । ‘नहुने मामा भन्दा भ्रष्टाचारी मामा ठिक’ भने झैं आएको भए राम्रो हुन्थ्यो भन्ने मात्रै हो । मलाई लाग्छ फेरि दलहरु सहमती गर्दै अघि बढ्छन् ।

नेता धेरै बौद्धिक भए
सिताराम कट्टेल, हाँस्य कलाकार

sitaram-kattelसंविधान नबन्नुमा म यो उ भन्दिन । सबै दलका नेताहरुको कमजोरी छ । यसो हुनुमा हाम्रा नेताहरु अलि बढी बौद्धिक भए कि भन्ने लाग्छ । हाम्रा नेताहरुले चाहिने भन्दा धेरै पढेकाले यो समस्या आएको हो । यदि ठिक्क पढेको भए समयमै संविधान बन्थ्यो ।

हाम्रा नेताहरु कति बौद्धिक छन् भन्ने कुरा संविधानसभामा देखिएको भारोत्तोलनवाट पनि पुष्टि हुन्छ । मुख्य कुरा हाम्रा नेतालाई फेरी जनताकोमा जाँदा के भन्ने भन्नेमा पटक्कै चिन्ता छैन । जे भने पनि जनताले पत्याउछन् भन्ने छ । मियो बिनाको दाइँ जस्तो भयो हाम्रो देशमा ।

जनता पनि दोषी छन्
इन्दिरा जोशी, गायिका

indira-joshiआठ माघमा संविधान आउँछ भन्नेमा मलाइ पहिल्यैदेखि शंका थियो । अस्तिराती संविधानसभा भवनमा सभासदको बाँदर नाँच देखेपछि संविधान पक्का आउँदैन भन्ने लाग्यो ।

सबै दलका नेताहरु आ-आफ्नै स्वार्थमा छन् । समयमा संविधान नबन्नुको मुल कारण ब्यक्तिगत स्वार्थ नै हो । अर्को कुरा क्षेत्री, बाहुन, मगर, गुरुङ जति छन् सबैलाइ आफ्नै जातको कुरा चाहिएको छ । ती नेताहरुलाई त्यहाँसम्म पुर्‍याउने हामी नै हौं । त्यसकारण कमजोरी हाम्रो पनि छ ।

नेताहरु परिचालित भए
आकाश अधिकारी, निर्देशक

aakashआजको दिन संविधान नआएपछि आम नागरिकको जनजीवन एक कदम पछाडि धकेलिएको छ । विदेशीहरुले पनि राम्रो नजरले हेर्दैनन् । मलाई त लाग्छ हाम्रा राजनीतिक दलका नेताहरुमा जिम्मेवारी भन्ने चिजै रहेन ।

समय अनुसारको परिवर्तन स्विकार्न नसक्ने ब्यक्तिहरु हरेक दलमा हाभी हुँदै जानुले पनि संविधान निर्माणमा अवरोध भएको हो । हाम्रा नेताहरु राष्ट्रप्रति जिम्मेवार भएनन् ।

चुनावका लागि कसले गाडी दिन्छ, कसले पैसा दिन्छ भन्नेमा मात्रै हाम्रा राजनीतिक दलका नेता केन्दि्रत भइदिँदा यो समस्या आयो ।

नेताको बाँदरे चरित्र

प्रियंका कार्की, नायिका

pkयसमा राजनीतिक दलको मात्र नभएर हामी नेपाली जनताको पनि दोष छ जस्तो लाग्छ । हामीले कस्ता मानिसलाई भोट दिएर यो स्थानमा पुर्‍यायौं भन्ने लाग्छ मलाई ।

योग्यता नभएका मानिसलाई भोट दिने गल्ती हामी जनताले नै गरेका हौं । संविधान भनेको देशको मेरुदण्ड हो, तर यही मेरुदण्ड नुहँदा देश झनै पछाडि धकेलियो ।

अब, त चुनाव भयो भने पनि नराम्रो भित्र राम्रो मानिस खोज्नु पर्ने अवस्था आयो । माघ ८ गते संविधान आउँछ भनेर नेपालीको यूनिटी पनि भएको  थियो, अब यो फेरि फुट्छ ।

संविधान सभा भित्र सभासदहरुले देखाएको चर्तिकलाले त देशको नै छवि विश्वमा भएको छ । मलाई एक बिहानै कुर्सी भाचिएका र लडाई गरेका दृश्य हेर्दा छागाबाट खसेजस्तो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment