Comments Add Comment

‘दौडिएपछि कि खेलाडी भइन्छ, नभए निरोगी भइन्छ’

सञ्जय पण्डित नेपालका लामो दुरीका धावक -२४९५ कि.मि.) को कृतिमानी बनाउन सफल व्यक्ति हुन् । विश्वका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली म्याराथुन धावक/अल्ट्रा धावक -खेलाडी) पण्डितको दौड र हिमाल आरोहणसम्बन्धी रोचक अनुभव यस्तो छ :

Sanjay-pandit

म बुबाका कारणले दौड क्षेत्रमा आएँ । बुबाले पढाउने स्कुलमा म र दाजु पढ्थ्यौं । हामीले हरेक बिहान ४.३० बजे उठेर दौडिनु तथा शारीरिक कसरत गर्नुपर्दथ्यो । बुबाले भन्नुहुन्थ्यो दौडिएपछि कि खेलाडी भइन्छ, नभए निरोगी भइन्छ ।
काठमाडौंको अन्तराष्ट्रिय म्याराथुन दौडिँदा पहिलोपटक सहभागितमा नै १६ औं पोजिसनमा आएँ । ४२ कि.मि. को म्याराथुनमा टप ३० भित्र छिर्न नसक्नेहरु अहिले म्याराथुनका चर्चित खेलाडी भएका छन् । त्यो दौडले नै मलाई लामो दुरीको धावकका रुपमा स्थापित हुन जग बसालिदियो ।

स्वर्गद्धारीदेखि काठमाडौंको दौडमा म दुई ठाउँ मा बेहोस हुन पुगें डिहाइड्रेसन भएर त्यो दुरी (४३९ कि.मि.) पार गर्न ७ बोतल स्याइन चढाउनुपरेको थियो ।

विश्वप्रसिद्ध आरोही आप्पा शेर्पा तथा मिङ्मा शेर्पाको डकुमेन्ट्रीले पनि मलाई दौडतर्फ आर्कषित गर्‍यो । नेपालबाट म्याराथुन धावक तथा अल्ट्रा धावकले सगरमाथा आरोहण गरेको रेकर्ड छैन । मैले त्यसैलाई इस्यू बनाउँदै सारा प्यूठानी बासीको प्रतिनिधित्व गर्दै सगरमाथा तथा हिमालतर्फ आफ्ना पाइला बढाउन सफल हुँदै गएँ ।

सय कि.मि. भन्दा धेरै निरन्तर कुनै व्यक्ति समुहमा अथवा एक्लै दौडन्छ भने त्यसलाई अल्ट्रा धावक भनिन्छ । यो बैज्ञानिक हिसावमा पनि अत्यन्त गाह्रो काम हो । अल्ट्रा मिन्स नेपालीमा साहसिक अर्थात जस्तोसुकै परिवेशमा पनि दौडने चाहे त्यो हिमालमा होस्, चाहे पाहडमा, चाहे तराईमा नै किन नहोस्, यसलाई साहसिक दौड भनिन्छ ।

बेलायती एकजना धाविका लिजी हाकर सगरमाथाको कालापत्थरदेखि काठमाडौं रंगशालासम्म दुई दिन २३ घण्टा लगाएर दौडिइन् । उनले अल्ट्रा धाविकाको रुपमा उच्च विन्दुवाट दौडिएर लो विन्दुमा आउने वल्ड रेर्कड गरिन् । मै उनीजस्तै २४९५ कि.मि.को लामो यात्रा तय गरिसकेको छु । जिरी-काठमाडौं, काठमाडौ-खासा, लुक्ला-आइल्याड पिक जस्ता लामो दुरीका दौड सम्पन्न गरिसकेको छु ।

काठमाडौं अन्तराष्ट्रिय म्याराथुन, रियल इन्टरनेस्नल म्याराथुन, कास्पोक म्याराथुन , तेन्जिङ्ग हिलारी म्याराथुन, मनासलु २१३ कि.मि. म्याराथुन जस्ता दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दौडमा दौडिइसकेको छु । पोजिसनको कुरा गर्दा त्यति सुखत छैन । सहभागितामा नै सीमित छ ।

आरोहणले मृत्युलाई बोलाउँछ

आरोहण निकै गाह्रो हुन्छ । किनकि दौड तथा खेलमा मर्ने सम्भावना हुँदैन । तर, आरोहणमा पल-पल मृत्युले बोलाइरहेको आभास हुन्छ ।

म सगरमाथा आरोहणमा दुईपटक गएँ । तर, २०१२ मा ८६८५ मि.सम्म मात्र सफल आरोहण गरी फर्के । त्यसपछि २०१३ मा पृथ्वीकै सर्वोच्च शिखरमा आˆनो पाइला राख्न सफल भएँ ।

संसारले प्राणघातक हिमाल भनेर चिनेको मनासलु (८१६३ मि.), अफ्रिकाको सर्बोच्च शिखर किलिमञ्जरो, युरोपको सर्बोच्च शिखर माउण्ट यलब्रुस, अष्ट्रेलियाको सर्बोच्च शिखर माउण्ट कोजियस्को तथा आइल्याण्ड पिक रसियाको चिकागो हिमाल, छुकुङ्ग्री, नागार्जुन लगायका हिमालहरुको आरोहणको मैले अनुभव लिएको छु ।

कीर्तिमानीको कुरा गर्दा सगरमाथा आरोहण गर्ने नेपालका प्रथम म्याराथुन धावक/अल्ट्रा धावक, मनासलु आरोहण गर्ने विश्वकै म्याराथुन धावक/अल्ट्रा धावक, अफ्रिकाको सर्बोच्च शिखर आरोहण गर्ने दक्षिण एसियकै तिव्र गतिको आरोही धावक – ६ घण्टा १३ मिनेट) , युरोपको सर्बोच्च शिखरमा ६ मिनेट ०३ सेकन्ड अर्ध नाङ्गएिर र अष्ट्रेलियको उच्च शिखर कोजियस्कोमा नेपाली दौरा सुरवाल र ढाका टोपीमा उल्टो हिँडेर आधार शिविर, थ्रेड बो देखि अष्ट्रेलियाको उच्च शिखरसम्मको दुरीमा कीर्तिमानी राख्न सफल भएँ ।

अहिलेसम्म ती हिमालहरुमा कुनै मानवले यस्तो कार्य गरेको छैन । मानौं यो प्रकृतिका लागि पनि चुनौतिको विषय हो । मेरा बुबाआमाको आर्शिवाद, मलाई सहयोग गर्ने शुभचिन्तकहरुको आर्शिवाद अनि नेपालको राष्ट्रिय झण्डाले समेटिँदा मलाई जस्तोसुकै चिसो अनि कठिनाइले पनि असर पारेन ।

आरोहण सोख हो, दौड पेशा

आरोहण मेरो पेशा होइन, सोख मात्र हो । सञ्जय पण्डितले दौडका कारणले सगरमाथा चढ्ने हैसियत बनाएको हो । मलाई राम्रोसँग ज्ञान छ, मानिसहरुले ४६-४७ वर्षमा पनि ओलम्पिक, एसियन गेम खेलेर पदक भित्राएको रेकर्ड छ । म अहिले बल्ल २५ वर्षको भएँ ।

संसारमा असम्भव भन्ने केही छैन भन्ने मैले पनि त्यही बुझेको छु । मानौं केही दिनका लागि दौडमा सन्यास लिएको छु, एक दिन दौडिएर नै अर्को कीर्तिमान कोर्ने रहर छ ।

मैले सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने प्रण गरेको छु । चार महादेशको उच्च्ा हिमाल आरोहण गरिसकेको छु । अब केही दिनभित्र दक्षिण अमेरिकाको उच्च शिखर आकाङ्गुवा तथा त्यसलगत्तै उत्तर अमेरिकाको डेनाली आरोहणको तयारीमा छु । २०१५ भित्र अन्टान्टिर्का महादेशको भिन्सन को आरोहण गर्ने अन्तिम लक्ष राखेको छु ।

एक करोड खर्च भइसक्यो

मै खेलाडीको हैसियतमा दर्जनौं हिमाल आरोहण गरिसकें । अहिलेसम्म आरोहणमा मात्र करिव एक करोड दश लाख खर्च गरिसकें । यसमा विशेष रुपमा प्यूठान निवासी दाजुभाइ, प्रमुख राजनितीक दलका नेताहरु, मलाई माया गर्ने शुभचिन्तकहरु, नेपाल सरकार, खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय, रा.खे.प., गोल्डेनगेट इन्टरनेस्नल कलेज, आ.एम.इ, सेभेन समिट ट्रेक एजेन्जी, कान्तिपुर भ्याली कलेज, नेपाली युवा उद्यमी मञ्च, नेपाल ओलम्पिक कमिटी, एन आर एन, सम्पूर्ण सञ्चारकर्मी तथा प्यासिफिक कलेज अष्ट्रेलियाको प्रमुख हात छ ।

वियोग र संयोगका क्षणहरु

मैले मनासलु आरोहण गर्दा म संगै सुत्ने स्पेनको माटि्रनलगायत विश्व प्रसिद्ध आरोही तथा सगरमाथा आरोहणमा आफ्नै गाइड सोलुखुम्बुको लोप्साङ् शेर्पालाई गुमाउनुको क्षण जीवनको कालो रात र अत्यन्त दुःखदायी क्षण हुन् ।

सगरमाथाको शिखरमा पाइला राख्नु, किलर माउण्टेन मनासलुमा पाइला राख्नु, यलब्रुसको शिखरमा नाङ्गएिर नेपालको राष्ट्रिय झण्डा फर्फराउनु, दौडिएरै किलिमञ्जरोको आरोहण गर्नु तथा नेपाली पोसाकलगाएर उल्टो हिँड्दै अष्ट्रेलियाको सर्वोच्च शिरमा पुग्नु मेरा सुखद क्षणहरु हुन् ।

म अहिले कान्तिपुर इन्टरनेस्नल कलेजमा एम. वि.ए. तहको तेस्रो सेमेस्टरमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको छु ।
मैले तीन करोड नेपालीको प्रतिनिधित्व गरेर अफ्रिकाको हिमाल, युरोपको हिमाल सगरमाथा तथा अष्ट्रेलियाको हिमालमा ज्यानको कुनै प्रवाह नगरी नेपालको राष्ट्रिय झण्डा फर्फराएको छु यसमा मेरो कुनै व्यक्तिगत आकाङ्क्षा र स्वार्थ छैन । छ त केवल राष्ट्रका लागि कीर्तिमानीको भोको छु ।

मलाई नेपाल सरकार खेलकुद मन्त्रालय पर्यटन मन्त्रालयले मेरो कार्यको मूल्याङ्कन गरी सहयोग गर्नेछ भन्ने आशा राखेको छु । साथै हरेक युवायुवतीलाई यो सन्देश प्रवाह गर्न चाहन्छु कि कुनै पनि कार्यको निरन्तरता भइरहयो भने जस्तोसुकै कठिन कार्य पनि असम्भव हुँदैन । त्यसैले तपाई पनि सफलता प्राप्त नहुन्जेल निरन्तर लागि रहनुहोस् ।

-कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment