पछिल्लो समय फेसबुक जस्ता सामाजिक संजालहरुले किशोर किशेारी तथा युवा विद्यार्थीहरुमा पढाइप्रतिको लगाव घटाएको र इन्टरनेटको लत बढाएको विभिन्न खाले अध्ययन तथा अनुभवहरुले देखाएका छन् ।
तर एक नयाँ अनुसन्धानले भने फेसबुकले विद्यार्थीहरुलाई परीक्षामा सफल बनाउन वा राम्रो अंक प्राप्त गर्नका लागि सहयोग गर्ने देखाएको छ ।
फेसबुकले विद्यार्थीहरुलाई सामाजिक दायरा विस्तार गर्न मात्र नभै पढाइमा समेत राम्रो अंकका साथ सफल हुन मद्धत गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।
अमेरिकाको इओवा स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले १६ सय जना विद्यार्थीहरुको फेसबुक व्यवहारको अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।
शोधकर्ता रहेका सहप्राध्यापक रेनोल जुन्कोले आफ्नो सामाजिक परिधिमा प्रतिबद्ध रहने विद्यार्थीहरु आफ्नो संस्थाप्रति समेत प्रतिबद्ध रहने र त्यो नै विद्यार्थीहरुको प्राज्ञिक सफलताको प्रमुख भाग रहेको बताए ।
अध्ययनका क्रममा विद्यार्थीहरुले सोसल नेटवर्किङ साइट प्रयोग गरेर बिताउने गरेको समय र त्यसमा पनि फेसबुकमा विभिन्न खाले गतिविधिहरु गरेर बिताउने गरेको समयको विश्लेषण गरिएको थियो ।
विभिन्न सामाग्रीका लिंकहरु फेसबुकमा शेयर गर्ने तथा फेसबुकमा साथीहरुको क्रियाकलापमा ध्यान दिने लगायतका कार्यहरुले विद्यार्थीहरुलाई अध्ययनको सफलतामा सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ ।
फेसबुकमा समय बिताउँदैमा मात्र त्यसले विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पार्छ भनेर ग्यारेन्टी गर्न नसकिने भन्दै आफ्नो शैक्षिक क्रियाकलापमा समेत फेसबुकको उपयोग गर्न सकेमा मात्र त्यसले उपलब्धि प्रदान गर्ने शोधकर्ताको भनाइ छ ।
सूचना प्रविधिको अहिलेको युगमा विद्यार्थीहरुलाई इन्टरनेट तथा सामाजिक संजालबाट विमुख गराउनु सम्भव नरहेको भन्दै यस्ता माध्यमको सदुपयोगका लागि विद्यार्थीहरुलाई आत्मनियन्त्रणको सिप तथा विवेक प्रदान गर्नका लागि शिक्षक तथा अभिभावकहरु क्रियाशील हुनुपर्ने सल्लाह शोधकर्ताहरुको छ ।
फेसबुकले विद्यार्थीको पढाइमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि यो अध्ययनको रिपोर्ट एप्लाइड डेभलप्मेन्टल साइकोलोजी जर्नलमा छापिएको छ ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4