
धेरैलाई लाग्न सक्छ, डनले परिचित दीपक मनाङ्गेका छोरा सिद्धार्थ गुरुङ पनि हक्की स्वभावका होलान् । सिद्धार्थको स्वभावका बारेमा मानिसका आ-आफ्नै तर्क र सोचाइ हुन सक्लान् । तर, अनलाइनखबरको क्यामेरा अघि आफ्नो कुरा राख्दै गर्दा सिद्धार्थमा हक्की स्वभाव भन्दा पनि तार्किक कुरा गर्ने युवकको झल्को आयो ।
तपाईको बुझाइमा चलचित्र क्षेत्र के हो ? अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै उनले भने-‘यो काठमण्डौको टुँडीखेलजस्तै भएको छ, जहाँ थुप्रै मानिस खेलको तयारी गर्न आउँछन् ।’
यो खेलको दौडमा आफू अघि बढ्नेमा सिद्धार्थ ढुक्क छन् । सिद्धार्थले चलचित्र ‘वन वे’बाट नेपाली रजतपटमा डेब्यू गरेका हुन् । यो चलचित्रमा आफू एक चकलेटी युवाको भूमिकामा रहेको उनको भनाइ छ । चलचित्र आफूमै घुमेको भन्दै सिद्धार्थले एक यात्राको कथालाई ‘वन वे’ ले प्रस्तुत गरेको बताए ।
बुबा दीपक मनाङे र अंकल राजकुमार राईको सहयोगका कारण आफू यो क्षेत्रमा आएको बताउँदै सिद्धार्थले भने-‘चलचित्रमा म पैसा कमाउन आएको होइन, म यहाँ खुशी हुन आएको हुँ ।’
तपाईलाई बुबाले लगानी गरेर हिरो बनाउनु भयो नि ? यो प्रश्नमा तर्क गर्दै सिद्धार्थले भने-‘हेर्नुहोस्, यसलाई यसरी लिँदा नकारात्मक हुन्छ, डाक्टर बन्न चाहने छोरालाई बाबुले ३०-३५ लाख लगानी गरिदिन्छ ।
छोराको इन्जिनियर बन्ने चाहनाका लागि बाबुले त्यसमा पनि लगानी गर्छ । मेरो खुशी चलचित्रमा छ भने मेरो बुबाले लगानी गरिदिनु गलत होइन ।’
जसरी बाबुले गर्दा छोरा डाक्टर र इन्जिनियर भयो भन्न मिल्दैन, त्यसैगरी मेरो बुबाले लगानी गरेर म चलचित्रको नायक भएँ भन्न पनि मिल्दैन’ ।
सिद्धार्थले आफूलाई बुझ्ने मानिसले राम्रो भन्ने र नबुझेका मात्रै कोही डराउने त कोहीले नराम्रो सोच्ने तर्क गरे । नेपाली चलचित्रमा लामो रेशको घोडा बन्ने सोचका साथ आएका सिद्धार्थ सानैबाट आफूले अभिनय सिकेको बताउँछन् । चलचित्रमा प्रवेश गर्नुभन्दा अगाडि पनि उनले कलाकार अनुप बरालसँग अभिनयको तीन महिने कोर्स गरेका थिए ।
तपाईलाई चिनाउँदा बुबाको नाम अगाडि आउँछ, यो कहिले हट्छ त भन्ने प्रश्नमा सिद्धार्थले भने-‘हो मलाई थाहा छ मेरो नामका अगाडि बुबाको नाम जोडिन्छ । तर, यो छाँया चाँडै हट्नेमा म ढुक्क छु ।’
उनले आफू २२ बर्षमा चलचित्रको नायक भएको भन्दै अब यसमै ‘ओरिजिनल’ चलचित्र गरेर अगाडि बढ्ने खुलाए ।
प्रतिक्रिया 4