Comments Add Comment

चिनियाँ पर्यटक बढाउन पूर्वाधारमा लगानी थप्दै व्यवसायी

Pokhara Views (21)

१९ माघ, कास्की । पोखरा भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायीहरुले चिनियाँलाई लक्षित पूर्वाधार र लगानी बढाउने अभियान थालेका छन् ।

चिनियाँ पर्यटक बढेसँगै व्यवसायीहरुले उनीहरुलाई नै लक्षित गरी खानपान, बसोबासको प्रवन्ध गर्न लागेका हुन् । बाह्र महिनालाई पर्यटनका हिसावले सिजन र अफ सिजन भनी दुई भागमा बाँडिएको पोखराको पर्यटन उद्योग चिनियाँको बढ्दो आवागमनसँगै सबै महिना पर्यटकीय सिजनमा परिणत भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदीले चिनियाँका लागि प्रशस्त रेष्टुराँ, उनीहरुका लागि खाना र दोहोरो कुराकानीका लागि भाषा सुधारका अभियानमा व्यवसायीहरु रहेको बताए ।

चिनियाँ पर्यटकलाई लक्षित गरी रेष्टुराँका भान्छेहरुलाई सोही अनुसारका तालीम दिन जरुरी रहेको र टुर गाईड र पदयात्रामा जाने पथप्रदर्शकलाई भाषाको ज्ञान दिन जरुरी भएको उनको भनाई छ ।

चिनियाँ पर्यटकलाई अंग्रेजी भाषा बोल्न गाह्रो, पर्यटन व्यवसायीलाई चिनियाँ बोल्न, यस्तै दोहोरो समस्याबीच चिनियाँ पर्यटकलाई कोठाको मूल्य सुनाउनु पर्दा क्यालकुटेरलाई विकल्प बनाउन बाध्य हुनु परेको पोखराका पुराना होटलकर्मी गोविन्दराज पहारीले बताए ।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पोखरा चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि भाषाका कारण व्यवसायी र पर्यटक दुबैले समस्या भोग्नु परेको बताए ।

चिनियाँ पर्यटक खासगरी चिनिया खाना, छोटो र सजिलो खालको पदयात्रा तथा प्याराग्लाइडिङ जस्तो खेल भने पछि हुरुक्कै हुने उनको धारणा छ । चिनियाँ पर्यटकको नेचर खर्चालु र बढी टिप्स दिने खालको भएको अनुभव व्यवसायीसँग रहेको छ ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यवहादुर भुजेलले पोखरामा रहेका करीब एक सय पर्यटकीय स्तरका रेष्टुराँमध्ये १५ वटाले चिनिया खाना पस्कने गरेको जानकारी दिए ।

यसअघी पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा खासगरी बेलायती र अमेरिकी पर्यटकको रुचीलाई ध्यान दिँदै भान्छामा उनीहरुले मन पराउने परिकार मात्रै पाक्दै आएको थियो । अमेरिकी र बेलायतीहरुले अण्डा, पाउरोटी, पिज्जा लगायतका खानेकुरा मन पराउने भए पनि चिनियाहरु भने मासु र नुडल्सजस्ता खानेकुरा मन पराउने गर्छन् । एउटा कुखुराको मासु एकै जनाले खानसक्ने पनि उनीहरुको विशेषता हो ।

पूर्वाधार विस्तारसँगै पश्चिमाञ्चल होटल संघले चिनियाँ पर्यटकलाई लक्षित गरी उनीहरुकै भाषामा प्रचार सामग्री छाप्ने र चीन लगायतका तेश्रो मुलुकहरुमा ‘पोखरा : प्युर एण्ड पर्फेक्ट’ अभियान चलाउने उद्धेश्य समेत राखेको संघका पूर्व अध्यक्ष विप्लव पौडेलले बताए ।

विगत तीन वर्षदेखि पोखरा आउने पर्यटकको तथ्यांक राख्न छाडिएको छ, त्यही भएर पनि कति चिनियाँ पर्यटकले पोखराको भ्रमण गर्छन् भन्ने तथ्यांक भने उपलब्ध छैन । तर, पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१४ मा कूल ८९ हजार पाँच सय नौ चिनिया पर्यटकले नेपाल भ्रमण गरेका थिए । काठमाडौं आउने पर्यटकमध्ये झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको दाबी व्यवसायीको छ ।

पोखरा उपमहानगरपालिकाले मित्रराष्ट्र चीनका लिञ्जी र ग्वान्जावो सहरसँग भगिनी सम्वन्ध स्थापना गरेपछि त्यहाँ पोखराको प्रचार भएकाले पनि पर्यटन आवागमन वृद्धि भएको नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

उनका अनुसार चीनमा आयोजना हुने विभिन्न खाले मेलाहरुमा नेपालको थप प्रचार गर्न सके पर्यटन आवागमन अझै बढ्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment