+
+

कमरेड ! लाजिम्पाट दरबार छाडेरै जाने कि बोकेर जाने जनतामा ?

जनतामा फर्कनु अवश्य राम्रो कुरा हो । तर जनताको बीचमा के लिएर जाने ? तपाईंका जनता को हुन् ? उनीहरुले तपाईंलाई कस्तो देख्न रुचाउँछन् ? यसको समिक्षा गर्नुभएको छ ? कमरेडहरु, तपाईंहरु जनताकोमा लाजिम्पाट बोकेर जानुहुन्छ कि यतै छाडेर ? यहाँ लाजिम्पाट भन्नाले तपाईंका कार्यकर्ताको लागि एउटा तिर्थस्थल हुनुपर्ने हो । आस्थाको धरोहर हुनुपर्ने हो । समाजवादी चेतनाको मुहान हुनुपर्ने हो । तपाईंले त्यस्तो बनाउन सक्नुभएको छ ?

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७१ माघ २१ गते ११:३०

पहिलो संविधानसभाको निर्वाचनमा कास्कीबाट प्रत्यक्षतर्फ विजयी भएकी दुर्गा विक अघिल्लो साता एमाओवादी नेतृत्वको मोर्चाले गरेको बन्द सफल बनाउन पोखराको अमरसिंह चोकमा खटिएकी थिइन् । बन्दको अवज्ञा गर्न भन्दै दुईवटा मोटरसाइकल हान्निएर दुर्गा भएतिर आए । उनीहरुले दुर्गालाई प्रश्न गरे, ‘बन्द किन गरेको ?’ उनले प्रतिकार गर्नेलाई सुरुमा शब्दले सम्झाइन् तर उनीहरु अझै आक्रामकरुपमा आएपछि दुर्गालाई झनक्क रिस उठ्यो र हातमा भएको लौरोले प्रतिकार गर्ने मानसिकतामा पुगिन् । तर अचानक अर्को मनले सम्झियो, ‘मेरो घरमा नाबालक छोरो छ, मलाई केही भइहाल्यो भने उसलाई कसले हेर्छ ?’ दुर्गा पछि हटिन् ।

सुदर्शन खतिवडा
सुदर्शन खतिवडा

त्यसो त, दुर्गा यति कायर योद्धा भने होइनन् । सशस्त्र युद्धमा होमिएकी उनले धेरै मोर्चा सम्हालेकी छिन् । धेरै छापामार आक्रमणमा सहभागी भएकी छिन् । लामो सयम जेलनेल भोगेकी छिन् । बाल्यकालमै जनयुद्धमा होमिएकी उनी पहिलो संविधानसभाकी सम्भवतः केही एकाध कान्छी सभासदमा पर्दथिन् । अमरसिंहबाट रक्षात्मक मानसिकतामा घर फर्किएकी दुर्गा ती दुर्गा हुन् जसले युद्धको रणमैदानमा देवी दुर्गा जस्तै लडाईं लडेकी थिइन् । कुनै समय हातमा एम्बुसको स्वीच लिएर बस्दा संकेतसूचक साथीको विश्वासमा जीवनलाई समर्पित गर्ने दुर्गा आज सिंगो पार्टीप्रति नै अविश्वास गर्ने हदसम्म किन पुगिन् ? जीवनको अधिकांश उर्जाशील समय सुम्पिएर आस्थाको धरोहर मानिएको पार्टीप्रति विश्वासमा ह्रास किन आइरहेको छ ?

दुर्गा एक प्रतिनिधि पात्र हुन् यो समाजको । युद्ध सामान्य खेल थिएन । आमूल परिवर्तनको नारा बुलन्द गर्दै गाउँबस्तीदेखि शहरसम्म, युद्ध मोर्चादेखि जेलसम्म चहारेका समाजका कैयौं दुर्गाहरु अहिले किन रक्षात्मक अवस्थामा पुगेका छन् ? विगतलाई अमिलो मनले सम्झँदै समाजको चिन्ता छाडेर किन घरको चिन्तातिर फर्किएका छन् ? यही सेरोफेरोमा एमाओवादीको केन्द्रिय समितिको बैठकले पार्टी नेतृत्वलाई जनतासमक्ष पठाउने निर्णय गरेको छ । एमाओवादीको नेतृत्वले यी दुर्गाहरुको विश्वास जगाउन नसक्दासम्म उनीहरुको गाउँ फर्क अभियान अपेक्षाकृत सफल हुने देखिन्न ।

हो, युद्धमा सपना देखियो, सपना देखाइयो । कतिपय सन्दर्भमा लगामरहित सपना पनि देखाइयो । युद्धको बेला हरेक कुराहरु रहस्यमय हुन्थे । किनकी भूमिगत युद्धमा धेरै कुरा लुकेका हुन्छन् र लुकाइएको कुरालाई रहस्यमय दृष्टिले हेर्ने गरिन्छ । युद्धका सकारात्मक र नकरात्मक प्रभाव हुन्छन् । नकरात्मक कुरालाई ‘बाँदरको घाउ’ बनाएर आफ्नो व्यक्तिगत व्यवसाय फस्टाइरहेका अभियानकर्ताहरुलाई प्राथमिकता नदिएर निष्कर्ष निकाल्ने हो भने यो भन्न सकिन्छ, ‘हो, युद्धले शहरदेखि गाउँसम्म चेतनाको दियो बाल्यो । जागरणको लहर पैदा गर्‍योर प्रजाहरुलाई जनता बनायो ।’ जब प्रजाहरु जनता बन्छन्, महाराज एण्ड कम्पनीमा भुईंचालो जान्छ । त्यो भुईंचालो नेपालमा पनि गयो र २४० वर्षीय एकात्मक राजतन्त्र ढल्यो । राजतन्त्रसँगै राजतन्त्रको जुठोपिरोमा रमाइरहेकाहरुको सपना पनि सँगसँगै ढल्यो ।

त्यो राजतन्त्र, जुन व्यवस्थामा राजा भन्ने व्यक्तिलाई चरम आदर्शीकरण गरिएको हुन्छ, देवत्वकरण गरिएको हुन्छ । फलाम काट्न फलाम चाहिन्छ भनेझैं देवत्वकरण गरिएको राजतन्त्र ढाल्दै राजाको श्रीपेच फुकाल्न राजनीतिक पार्टीका नेतृत्वलाई पनि आदर्शीकरण र देवत्वकरण गरियो । दिनहुँ पुत्ला जल्ने गिरिजाप्रसाद शिखर पुरुषको उचाई पछ्याउन थाले । लाजिम्पाट, बल्खु र कोइराला निवास पनि सानातिना राजदरबारका रुपमा स्थापित भए । सौभाग्यवशः नारायणहिटीको राजतन्त्र त ढल्यो, तर दुभाग्र्यवशः यी भुरे टाकुरे निवासमा नयाँ राजाहरु जन्मिए । विधि, पद्धति र प्रणालीविहिन सत्ताभ्यास हुनथाल्यो । पंक्तिकार यतिबेला अन्य राजाहरुको बारेमा कुरा गर्दैछैन । ‘जसको बिहे, उसैलाई नले’ भन्दै संविधानसभालाई ‘टुहुरो’ बनाएर ‘जनता’मा फर्कने निर्णय गरेको एमाओवादी र त्यसको नेतृत्वको बारेमा पंक्तिकारले केही सवालहरु उठान गर्नेछ ।

जनयुद्ध समाजको विकृति विसंगति विरुद्ध थियो, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध थियो । त्यसैअनुसार अगाडि बढ्यो पनि । माओवादी युद्धमा थियो । संसदवादी र राजा मिलेर सरकार र सत्ता चलाईरहेका थिए । तर बिस्तारै राजनीतिक शक्ति सन्तुलन त्रिकोणात्मक भयो ।सँगै मिलेका शक्तिहरु पनि आमनेसामने भए । ‘माओवादी भर्सेस् राजा र संसदवादीहरु’ अनि ‘राजा भर्सेस माओवादी र संसदवादीहरु’ को समिकरणको लडाईंमा हजारौंले ज्यान गुमाए । रगतको खोलो बग्यो । अहिले पानीको ओभानो बन्दै दूधले नुहाएर टुँडिखेलबाट शान्तिका परेवा उडाउने सबै पात्रहरु रगतले रंगिएका अनुहार हुन् यदि ढोंग र पाखण्डको मुकुन्डो उतार्ने हो भने । युद्धमा हुनुपर्ने कुरा मात्रै भएनन् । नहुनुपर्ने कुरा पनि भए । आखिर युद्ध भन्ने चिज नै यस्तै अराजक हुन्छ । आकुल व्याकुल बनाउने त्रासदीपूर्ण समयलाई जितेर बृहत् शान्ति सम्झौता भयो ।

समय फेरियो । हिजो पक्ष प्रतिपक्ष हुनेहरु एउटै मञ्चमा आए । माओवादी ठूलो पार्टी बन्यो र जनताले छिट्टै पठाए पनि अवरोधका पर्खाल भत्काउँदै ऊ ढिलो मात्र सरकारमा पुग्यो । अनि दोहोरिन थाल्यो उही पुरानो विरासत ।

नेपालको इतिहासमा राणा शासनको विरुद्ध लड्दा जनताको छातीमा गोली हान्नेहरु ००७ सालपछि जनताको शासककै रुपमा पुनस्र्थापित भए । पञ्चहरु ०४६ सालपछि पुनः जनताको शासक बनेर आए । ०६२/६३ पछि पनि यही विरासत दोहोरियो । यो घिनलाग्यो उपक्रमलाई माओवादीले रोक्न सकेन । पुराना त्यागी कार्यकर्ता लाजिम्पाट दरबारलाई प्रजा लाग्न थाले । प्राथमिकतामा नयाँ सुकिला मुकिला र धेरै खरानी घसेकाहरु पर्न थाले । युद्धकालीन कार्यकर्ताका लागि नेतृत्व राजदरबारमा घेरिएका ‘महाराज’ जस्तै दुर्लभ बन्न थाले ।

पशुपतिमा आउने भक्तजन राति दुई बजेदेखि नांगो खुट्टा र भोको पेटमा लाइन लाग्छन् र ‘प्रभु’को दर्शन गर्छन् । किनकी उनीहरुले पशुपतिलाई आदर्श मान्छन् । तर ठिक उल्टो जनताको आदर्श बन्नुपर्ने राजनीतिक दलका नेताहरु आदर्श भन्दा पनि अभिशाप बन्न थाले । एमाओवादी वर्ग उत्थानमा कांग्रेस एमालेलाई पनि उछिनुला झैं बेरोकतोक दौडन थाल्यो । ‘जो चोर उसैको ठूलो स्वर’ बन्न थाल्यो । भ्रष्टहरु हावी हुन थाले । हिजो जनयुद्धकालमा १० हजार भ्रष्टाचार गरेको निहुँमा ‘जनअदालत’बाट सजायँ दिने नेताहरु इतिहासलाई धोती लगाउँदै आफैं भ्रष्टाचारमा उन्मत्त हुन थाले । यही सेरोफेरोमा एमाओवादी पार्टी पालुंगटार पुग्यो । संविधान बनाउन विशाल जनमत पाएको उसले जनमतलाई तिरस्कृत गर्दै विद्रोहको लाइन पारित गर्यो । ट्र्याक छाडेको रेल जस्तो सम्भावित दुर्घटनाको खोजीमा दायाँ बायाँ भौतिरिरह्यो माओवादी ।

बहुमत र निर्दलको चुनावमा हार बेहोरेपछि बिपीले कार्यकर्तासँग बाँढ्ने गरेको अनुभूति रोचक छ । उनले तत्काल विजय हासिल गरेपनि आफ्ना कार्यकर्ता शासन गर्न योग्य नरहेको र अझैं संघर्षबाट गुज्रनुपर्ने भन्दै सुनाएको प्रसंग राजनीतिमा रुचिपूर्वक अध्ययन गर्ने गरिन्छ । त्यसो त, ७१ दिनमा ढलेको पेरिस कम्युनको बारेमा माक्र्सको अनुभूति पनि रोचक छ । उनले मजदुर र किसानहरुले सत्ताभ्यासको खेल सिक्न अझै केही हारहरुबाट गुज्रनुपर्ने उल्लेख गरेको सन्दर्भ पनि चर्चा गर्ने गरिन्छ ।

यस्तै भयो एमाओवादीमा । बहुमत छ, तर राष्ट्रपति छैन, उपराष्ट्रपति छैन । बहुमत छ, सभामुख छैन । संसदको अंकगणितमा पोख्त संसदवादीहरुसँग असक्षम सावित भएपछि पनि एउटा घटनाको गल्ती अर्को घटनामा सच्याउन एमाओवादी धेरैपटक चुक्यो । सांसदको किनबेच गरेर देशको नदीनाला बेच्ने खेलमा समेत पोख्तहरुसँग एमाओवादीको खेल असमानहरुबीचको समान प्रतिस्पर्धा शिवाय केही रहेन । लाल र निपूर्णको सैद्धान्तिक श्रृंखला घोकेका माओवादीले यसलाई व्यवहारमा उतार्न जानेनन् । अभिभावकको जिम्मेवारी पाएको छ, टुँडिखेलबाट ‘हरुवा’ भन्दै चिच्याउन छाडेको छैन । फलेको वृक्षको हाँगो निहुरन्छ निरन्तर भन्ने कविशिरोमणिलाई पनि माथ गरे एमाओवादी नेतृत्वले । चेस खेल्ने अवसर पाएको छ, गोटी चलाउन जान्नु छैन । कटुवालसँगको कुस्ती त्यस्तै उदेकलाग्दो दुस्साहस थियो । एकजना मेजरसँग सम्बन्ध नबनाउने रक्षामन्त्री विद्रोहको गफ दिँदै ‘क्रान्तिकारी’ बन्ने असफल दौडमा कलाविहिन दौडिरहे ।

विद्रोहको नाममा लाखौं कार्यकर्ता सडकमा उतारिए । तर असक्षम र अदुरदर्शी शासकबाट प्रताडित बनेका अमरसिंहको हालतमा रुझेको बिरालो ठिमीको ओरालो झरेको जस्तै फर्किन बाध्य पारिए कार्यकर्ता । सिंगापुर पुगेर खुफिया एजेन्सीसँग सम्झौता गरेर झलनाथलाई बडो ‘राष्ट्रवादी’ प्रधानमन्त्री बनाउने खेल होस् वा बहुमत प्राप्त संविधानसभा भंग गराएर खिलराजलाई ‘बुख्याचा’ बनाउँदै ‘चराहरु’ तर्साउने खेल होस्, सबै घटनामा आफ्नै नेतृत्वमा ‘क्रान्तिकारी’ तरिकाले चुक्यो माओवादी ।

नेतृत्वको जीवनशैलीमा रातारात परिवर्तन आयो । चप्पल लगाएर काठमाडौं भित्रिएकाहरु पजेरो र महलमा घुईंकिन थाले । टुप्पाबाट पलाएको ‘घमण्ड’ले जनताको त परै जाओस् कार्यकर्ताकै आवाज नसुनिने बनायो । भृकुटीमण्डपमा कार्यकर्ताले कुर्सी फ्याँके । नेताहरुका भुरे टाकुरे दरबार भत्काउन आवाज उठ्यो । वरिपरि घेरिएका नन्दी, भृंगी र चौसट्ठी योगिनीहरुको घेराबन्दी तोड्न भनियो । धुपैरै र स्वार्थी भक्तजनहरुबाट सचेत हुन भनियो । नेताहरुले मिठो शब्दमा प्रतिबद्धता जनाए । छानबीन समितिहरु बने । तर ती सब नकाम भए । लहरो तान्दा पहरो थर्कने डरले शेरचन र बोगटी आयोगका प्रतिवेदनहरु गर्भमै ‘सहिद’ बनाइए ।

पार्टी टुक्रा टुक्रा भयो । चक्लेटमा फकाउन सकिने बालबालिका जस्ता भए नेताहरु, जुन शक्ति केन्द्रले पनि सजिलै खेलाउन सक्ने । अझैं पनि उनीहरुलाई लाग्यो, संसदवादी दलका नेताभन्दा त अझै पनि हामी ठिकै छौं । तर यो कुरा बुझेनन् कि कांग्रेस एमालेका नेताहरु जस्ता सामान्य भूमिगत जीवन र जेलबाट जन्मिएका नेता होइनन् उनीहरु । जनयुद्धबाट जन्मिएका नेताहरु ढुंगा हानेर र टायर बालेर जन्मिएकाहरुसँग आफूलाई तुलना गर्दै क्रान्तिकारी अभ्यास गरिरहे । झापा संघर्ष जस्तो एकाधको सफायाबाट जन्मेका पनि होइनन् उनीहरु । हजारौंको त्याग, तपस्या र बलिदानको जगमा जन्मेका हुन् । रगतको आहालबाट जन्मेका हुन् । अनि उनीहरुले यो पनि थाहा पाएनन् कि इतिहास जित्नेहरुले लेख्ने हो । युद्धलाई सुरक्षित अवतरण गर्न नसक्दा के हुन्छ ? जित्न सक्दा कसरी जनपक्षीय एजेन्डाहरु संस्थागत गर्दै समृद्धिमा जान सकिन्छ र हार्दा कसरी भैसी लखेटाईमा परिन्छ र प्रतिक्रान्तिको हिंस्रक आक्रमणमा कसरी जनपक्षीय एजेन्डाहरु सहिद हुन्छन् ? यी सबै कुराहरु नजरअन्दाज गरिए । अनि घाम अस्ताउने बेला बिस्कुन सुकाउन दौडधुप चल्न थाल्यो ।

जनतामा फर्कनु अवश्य राम्रो कुरा हो । तर जनताको बीचमा के लिएर जाने ? तपाईंका जनता को हुन् ? उनीहरुले तपाईंलाई कस्तो देख्न रुचाउँछन् ? यसको समिक्षा गर्नुभएको छ ? कमरेडहरु, तपाईंहरु जनताकोमा लाजिम्पाट बोकेर जानुहुन्छ कि यतै छाडेर ? यहाँ लाजिम्पाट भन्नाले तपाईंका कार्यकर्ताको लागि एउटा तिर्थस्थल हुनुपर्ने हो । आस्थाको धरोहर हुनुपर्ने हो । समाजवादी चेतनाको मुहान हुनुपर्ने हो । तपाईंले त्यस्तो बनाउन सक्नुभएको छ ? माओले आफ्नै छोरालाई चिनियाँ क्रान्तिपछि विदेशमा युद्ध लड्न पठाएका थिए । तर यहाँ एउटा सन्तान तह लगाउन नसक्ने लाजिम्पाटले समाज फेर्न सक्ला ? संसार बदल्न सक्ला ? एउटा प्रक्रिया र पद्धति स्थापित गर्न नसक्ने पेरिसडाँडाले देश फेर्न सक्ला ? एंगेल्सले भनेका थिए, बाँदरहरु श्रमका कारण कालान्तरमा मान्छे भए । करेसाबारीमा तरकारी फलाउने होचिमिन्हको फोटो टाँसेर मात्र श्रमिक भइन्न । श्रम छाड्दै गए कालान्तरमा मान्छे पनि बाँदर हुन के बेर ? प्रश्न गर्नेछन् जनताले । किनकी जनयुद्ध र जनआन्दोलनले जनतालाई प्रश्न गर्न सक्ने बनाएको छ ।

हिजो भ्रष्टाचार र राष्ट्रघातले कुरुप भएकाहरुको बीचमा बलिदानको राप र तापले तपाईंहरु सापेक्षित सुन्दर देखिनुभएको थियो । जनताले तपाईंलाई रोजे । तर पछिल्लो चुनावमा तपाईंहरुलाई जनताले कांग्रेस एमालेका नेताभन्दा कुरुप देखे र उनीहरुलाई रोजे । तपाईंहरुकै दर्शनअनुसार कुनै पनि घटनाको निर्णायक बाह्य भन्दा आन्तरिक पक्ष प्रदान हुन्छ । हारको कारण बाहिर मात्रै खोजेर हुन्छ ? समिक्षा गर्नुभएको छ ?

अनि जनताकोमा गुटहरु बोकेर जानुहुन्छ कि एकताबद्ध भएर जानुहुन्छ ? याद गर्नुहोस्, उधारोमा गुटको हिसाब मिलाएर जनतामा जाने अभ्यास घातक हुनसक्छ । म पनि १४ वर्षको उमेर प्रहरी हिरासत पुगेर जीवनको उर्जाशील समय युद्धमा खर्चेको एकजना तपाईंको कार्यकर्ता हुँ । म दुर्गा विकको समकालीन हुँ र उस्तै मानसिकतामा गुज्रिरहेको तपाईंको एकजना कार्यकर्ता पनि हुँ । मलाई थाहा छ, मैले तपाईसँग यी प्रश्नहरु गरिरहँदा तपाईंको विरोधी क्याम्पले अर्थपूर्ण मसला पाउन सक्ला विपक्षीको विरुद्धमा । तर हामीले बुझ्नै पर्छ, गल्ती काम गर्नेले गर्छ तर, गल्ती सच्याउने अगाडि बढ्छ, गल्ती सच्याउन नसक्ने गल्तीहरुकै पहाडले थिचिएर अस्तित्वविहिन हुन्छ । यसर्थ, जनताकोमा जाने भए लाजिम्पाटलाई कि फेरेर जानुहोस् कि छाडेर जानुहोस् । फेर्नेभए त्यो कमसेकम एउटा आदर्श बन्न सकोस् । समाजवादी चेतनाको केन्द्र बन्न सकोस् । तपाईंका जीवनशैली र व्यहार कार्यकर्ताका लागि आदर्श बनुन् । किनकी हावर्ड फास्टले भनेका छन्, जसले रुप पक्षलाई अस्वीकार गरेर सारको पछि लाग्छ, त्यसले सार नै छाड्छ । क्रान्तिकारीहरुका लागि सार पक्ष जस्तै रुप पक्ष पनि महत्वपूर्ण हुन्छ ।

तपाईंसँग गौरवशाली इतिहास छन् । तपाईंका प्रतिपक्षी कम्युनिष्ट भन्ने पार्टी एमाले बढी दक्षिणपन्थी भएको हो कि कांग्रेस बढी प्रगतिशील भएको हो, उनीहरु एकै ठाउँमा फरक छुट्याउन नसकिनेगरी उभिएका छन् । तपाईंले गरेको गल्ती दोहोर्‍याउँदै सार्वजनिक मञ्चबाट ‘हरुवा’ भन्दै उनीहरुले पनि तपाईंलाई धारे हात लगाइरहेका छन् । यो तपाईको लागि अवसर हुनसक्छ । आजको जनता विवेकशील र धैर्यवान पनि छन् । उनीहरु सापेक्षिक उत्तम विकल्प खोजिरहेका छन् । हिजोजस्तै साहस गर्ने हो भने भविष्यले तपाईंलाई माया गर्नसक्छ । समय फेरिएको छ । आवश्यकता फेरिएका छन् । बुझाई पनि फेरिएका छन् । धैर्य गर्नुहोस् । राजनीतिमा राजनीतिक संस्कार र धैर्यताले पनिअसाध्यै महत्वराख्छन् । भनिन्छ, मान्छे आदतको दास हुन्छ । तर आफैंप्रति निर्मम नहुने हो भने तपाईंलाई तपाईकै आदतले दास बनाउनेछ । त्यतिबेला स्वर्गबाट कार्ल माक्र्स फर्किएर आए पनि तपाईंलाई बचाउन सक्नेछैनन् ।

[email protected]

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?