२८ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा गाउँ तहदेखि भ्रष्टाचार बढेको बताएका छन् । उनले भ्रष्टाचार विरोधी नाराकै कारण भारतको दिल्लीमा आम आदमी पार्टीले जितेकोे बताए ।
२४ औं अख्तियार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले दिल्लीमा आपको जितले भ्रष्टाचारविरुद्ध जनताको रियास्सन प्रष्ट भएको बताए ।
उनले भने-‘भारतमा भाजपाले सबैतिर जितेको अवस्थामा सडकमै जन्मिएको आम आदमीले भ्रष्टाचारविरोधी स्लोगनकै कारण दिल्ली जस्तो शहरमा त्यति ठूलो भयो ।’
उनले अघि भने-‘हाम्रो देशमा पनि शान्ति लोकतन्त्र गुड गभर्नेन्स छैन, भ्रष्टाचार भइरहेको छ । विकासलाई अबौं पैसा आउँछ, त्यसको सदुपयोग हुन सकेको छैन । गाउँ सबैतिर भ्रष्टाचार बढेको छ ।’
आफूले भ्रष्टाचार नियन्त्रणको कुरा गरेको तर, केही नभएको टिप्पणीहरु आएको भन्दै उनले एक्लो प्रयासमा मात्र केही नहुने बताए । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालले भ्रष्टाचार बढेको देखाएको उनले भने-‘मेरो अनुभवले पनि के देखाएको छ भने एक्लैले गरेर नहुँदोहरेछ ।’
प्रधानमन्त्री कोइरालाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीतर्फ संकेत गर्दै तहकिकात गरिसकेपछि कारवाही गर्न र निर्दोष मानिसलाई कारवाही नगर्न आग्रह गरे । ‘निर्दोष परे भने उसको व्यक्तित्वलाई राम्रो असर पर्दैन’ प्रधानमन्त्रीले भने-‘यसलाई ध्यान दिन आग्रह गर्छु ।’
अख्तियारले ठूलालाई छाडेको र सानालाई मात्र पक्राउ गर्ने गरेका गुनासोहरु आएको भन्दै उनले अख्तियारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री कोइरालाले शान्ति र सहमतिका आधारमा अघि बढ्न आग्रह गरे । कणर्ाली तेस्रो लगायतमा भएको पीटीए र पीडीएलाई ‘लर्तरो कुरा होइन’ भन्दै प्रधानमन्त्रीले १० वर्षभित्रै मुलुकको कायापलट हुने दाबी गरे ।
प्रतिक्रिया 4