Comments Add Comment

स्तरीय पर्यटकका लागि पोखरामा खुल्दैछ बहुराष्ट्रिय पेभिलियन हिमालयज

Pavillion

नविन अर्याल
७ फागुन, काठमाडौं । खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा लक्जरी बुटिक रिसोर्ट सञ्चालनमा आउने भएको छ । ब्रिटिस र नेपाली ब्यबसायीकोे संयुक्त लगानीमा पोखराको पुम्दीभुम्दीमा ‘दी पेभिलियन हिमालयज’ रिसोर्ट सञ्चालन हुने भएको हो ।

करिव २८ करोड लगानीमा निर्माण हुने रिसोर्ट बैशाख अन्तिम सातासम्म सञ्चालनमा आइसक्ने बताइएको छ । रिसोर्टमा सञ्चालकद्धय ब्रिटिस लगानीकर्ता डग्लस मेग्लाजनको ७५ प्रतिशत र नेपाली लगानीकर्ता इनसुवा तामाङको २५ प्रतिशत लगानी रहने छ ।

सामाजिक अभियान्ता मेग्लाजनले हङकङको मल्टिनेशनल कम्पनी ‘पेभिलियन हिमालय हङकङ लिमिटेड’ मार्फत रिसोर्टमा लगानी गर्न लागेका हुन् । उनी राइट फर चिल्ड्रेन नेपालका को-फाउन्डर हुन् । रिसोर्टबाट हुने आम्दानीको ७५ प्रतिशत रकम समेत सामाजिक क्षेत्रमा खर्च गर्ने बताइएको छ ।

रिसोर्टमा १५ वटा छुट्टा-छुट्टै लक्जरी भिल्लाहरु रहने महाप्रबन्धक राजिव श्रेष्ठले बताए । रिसोर्टका सबै भिल्लाहरुमा बुटीक स्वीट रुमहरु रहनेछन् ।

Untitled-1

‘रिसोर्टको अहिले निर्माण कार्य तिब्र गतिमा भइरहेको छ’ महाप्रबन्धक श्रेष्ठले अनलाइनखबरसँग भने- ‘अहिलेसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको हुँदा बैशाख अन्त्यसम्म सञ्चालनमा ल्याइसक्छौं ।’

एयरपोर्टबाट करिव २० मिनेट गाडीबाट हिँडेपछि रिसोर्टमा पुगिन्छ । राजधानीको द्धारिकाज होटललाई जस्तै ब्रान्डिङ गरेर रिसोर्टमा खर्चालु पर्यटक भित्राउने लक्ष्य व्यवस्थापन पक्षको छ । रिसोर्टमा करिव ६० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

द्धारिकाज होटलमा पुरानो नेपाली कलाबाट साजसज्जा गरिएको छ भने पेभिलियन हिमालयजमा प्ररम्परागत डिजाइनमा र आधुनिक विलासिताको संयोजन रहने बताइएको छ ।

रिसोर्ट पूर्णतया अर्गानिक तथा इकोफ्रेन्ड्ली हुने महाप्रबन्धक श्रेष्ठको दाबी । उनका अनुसार ६५ रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टमा आफ्नै अर्गानिक फार्म हुने छ । जहाँ तरकारी देखि दुधका लागि गाई-भैंसी तथा मासुका लागि माछा, कुखुरा, खसी-बोकासम्म पालिने छ ।

hotel

रिसोर्टमा स्वीमिङ पुल, स्पा, जीम, ज्याकुजी, साउन लगायतका सुविधाहरु हुने बताइएको छ । रिसोर्टको पछाडि जंगल रहने छ भने अगाडि खेतबारी हुने बताइएको छ ।

पाहुनाहरुलाई टिपिकल नेपाली तथा कन्टिनेन्टल अर्गानिक खाना खुवाउने श्रेष्ठले बताए । ‘पिस एन्ड क्वाइट’ वातावरणमा पाहुनालाई स्वागत गर्छौं’ उनले भने- ‘रिसोर्टमा सेवा-सुविधा समेत पाँचतारे स्तरको हुनेछ ।’

अन्तर्राष्ट्रिय चेन पेभिलियनले फ्रान्स, थाइल्यान्ड, इन्डोनशिया लगायतका देशहरुमा बुटिक होटलहरु सञ्चालन गर्दै आएको छ । उक्त अनुभव पेभिलियन हिमालयज रिसोर्टमा लगाउने श्रेष्ठले बताए ।

त्यसो त महाप्रबन्धक श्रेष्ठले द्धारिकाज होटलमा संगालेको अनुभव समेत रिसोर्टमा लगाउने छन् । उनले करिव ९ वर्ष द्धारिकाज होटलमा महाप्रबन्धकको रुपमा काम गरेको अनलाइनखबरसँगको कुराकानीमा बताए ।

The-Pavilions-Grande Villa
The-Pavilions-Grande Villa

रिसोर्टले आफै अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गरेर हाइइन्ड पर्यटक भित्राउने योजनामा रहेको छ । रिसोर्टको ब्रान्ड भेलू घटाएर कोठा तथा सेवाहरु बिक्री नगर्ने बताउँदै श्रेष्ठले एउटै मूल्य कायम गरेर पर्यटकलाई सेवा प्रदान गर्ने बताए ।

रिसोर्टमा एउटा रुममा दुईवटा बेडहरु हुनेछन् । जहाँ पर्यटकले एक रातको प्रतिबेड एक सय ८० डलर तिर्नुपर्ने हुन्छ । पुरै रुम एक जनाले लिएमा २ सय ३५ डलर तिर्नुपर्नेछ भने दुईजना बसेमा ३ सय ६० डलर तिर्नुपर्ने हुन्छ ।

रिसोर्टले अहिले देखि नै बुकिङ खुल्ला गरेको छ । अहिले रुमहरु बुकिङ गर्ने पर्यटकले तीन प्रतिशत छुटमा खान बस्न पाउने बताइएको छ । नेपालमा खर्च गर्न भनेर आउने पर्यटकलाई खर्च गर्ने वातावरण तयार पारिदिने रिसोर्टको मुख्य योजना रहेको श्रेष्ठ बताउँदछन् ।

 Pavilions-Classic Villa

Pavilions-Classic Villa

‘नेपालमा सस्तामात्र होइन, खर्चालु पर्यटक पनि आउने गर्छन, तर यहाँका व्यवसायीहरुले पहिल्लै मूल्य घटाएर प्याकेज बिक्री गर्छन’ श्रेष्ठले भने- ‘सस्तोमा राम्रो प्याकेज पाएपछि पर्यटकले किन धेरै पैसा तिर्न खोज्छ र ?’ व्यवसायीबीचको ‘प्राइस वार’का कारण पर्यटकबाट राम्रो आम्दानी गर्न नसकिएको उनले सुनाए ।

पेभिलियन हिमालयमा पेभिलियन्स क्लासिक, डिलक्स भिल्ला, पेभिलियन ग्रान्डी र घर फेमिली कटेज गरी चार प्रकारका भिल्लाहरु रहनेछन् ।

पेभिलियन्स क्लासिक भिल्ला थकित पाहुनाका लागि उपर्यूक्त हुने बताइएको छ । यसमा इनस्वीट बाथरुम, आफ्नै ब्रन्डा रहने छ । शान्त, सौन्दर्य तथा कोमल वातावरणका लागि यस भिल्लामा आधुनिक तथा परम्परागत विशेषताहरु समावेश गरिने छ ।

Deluxe-Villa
Deluxe-Villa

डिलक्स भिल्लामा बरण्डा, इनस्वीट बाथरुम, टप्स, सिसाको ढोका, सेप्रेड टब, ज्याकुजी लगायतका सुविधाहरु हुनेछ । गोपनियताका लागि छुट्टै ठाउँको समेत व्यवस्था गरिएको छ । यहाँ वस्दा विलासिताको अनुभव हुने दाबी रिसोर्ट व्यवस्थापनको छ ।

पेभिलियन ग्रान्डी भिल्ला विशाल, शान्त र आरामदायी रहेको छ । नेपाली परम्परागत डिजाइनमा आधुनिक विलासिताको संयोजन यो भिल्लामा गरिएको छ । यसमा पनि निजी बरण्डा, टब, ज्याकुजी, छुट्टै भोजन कक्ष, इनस्वीट लक्जरी वाथरुम लगायत रहने छन् ।

घर फेमिली कटेज विशेषगरी परिवारसँग घुम्न आउने पर्यटकका लागि तयार पारिएको हो । एउटा सिंगै परिवार बस्न मिल्ने गरि यो भिल्ला निर्माण गरिने छ । यसमा पनि आधुनिक सुविधाहरु, आरामदायी पर्निचरहरुको व्यवस्था गर्ने बताइएको छ ।

Ghar-Family-Cottage
Ghar-Family-Cottage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment