चलचित्र निर्देशक तथा गायक अराज केशव र गायिका प्रश्ना शाक्य कानुनी रुपमा नै अलग भएका छन् । चलचित्र ‘विर्खेलाई चिन्छस्’का निर्देशक अराज र गायिका तथा आरजे प्रश्ना शाक्यले १ बर्ष अगाडि कानुनी रुपमा अलग हुने बाटो रोजेका हुन् ।
सम्बन्ध फेरि जोडिन्छ कि भन्ने सोचाइका साथ खबर बाहिर नल्याएको अराजले अनलाइनखबरसँग भने । तर, अब बाहिर ल्याउँदा खासै असर पर्दैन कि भन्ने लागेर अराज आफूहरु अलग भएको बताउँदैछन् ।
वि.सं २०६५ सालमा धुमधामसँग बिहे गरेको यो जोडी अलग हुने बाटोमा किन पुग्यो त, अराज भन्छन्-‘हामी सहमतीमै अलग भएका हौं । यसमा कुनै कारण नै छैन ।’ अराज अलग हुनुको मुख्य कारण विचार नमिल्नुलाई लिन्छन् ।
पूर्व धरानकी प्रश्ना र पश्चिम महेन्द्रनगरका अराजविच विचार मिलेन । दुबैले आफ्नो परिवारलाई छाड्न सक्ने अवस्था भएन । जसका कारण एकसाथ बस्नु भन्दा अलग हुनु नै सही हुने सोचमा पुगे यी दुई । एक मात्र छोरा अराज परिवारसँग टाढा बस्न सकेनन् । जसका कारण दुबैले सहमतीमा टाढा हुने निष्कर्ष निकाले ।
अराज र प्रश्नाको सम्बन्ध गायन क्षेत्रमा लाग्दाबाट नै भएको हो । दुबैजना मिल्ने साथी थिए । लामो समयसम्म एकसाथ रहँदा दुबैमा माया पलायो । मित्रतालाई प्रेममा बदल्ने सोचमा पुगे दुबैजना । अराज संझन्छन्-‘२ बर्षसम्म हामीले प्रेम गर्यौ । मित्रताबाट टाढा भाग्न सकिएन र हामीले प्रेमको बाटो रोज्यौं ।’
काठमाण्डौ जिल्ला अदालतमा पुगेर दुबैले अलग हुने बाटो रोजे । प्रश्ना अहिले गायन कलासँगै एफ.एममा कार्यक्रम चलाउँदै आएकी छिन् । अराज अब निर्देशक बन्ने सोचका साथ अगाडि बढिरहेका छन् ।
उनले दोश्रो चलचित्र ‘जिग्री’ निर्देशन गर्न लागेको जानकारी दिए । चलचित्र ‘विर्खेलाई चिन्छस्’को विभिन्न कार्यक्रममा अराज र प्रश्ना एकसाथ थिए । तर, त्यो उनीहरुको व्यवसायीक सम्बन्ध मात्र थियो, व्यक्तिगत दुरी टाढा भैसकेको थियो ।