Comments Add Comment

चार वर्षमा डेढ करोड बढे टेलिफोन प्रयोगकर्ता

Mobile users, Yearly Graf
१४ फागुन, काठमाडौं । गुल्मी सिमलटारीकी ७० वर्षीया भीमकुमारी अर्याल हिजोआज मोबाइलमा व्यस्त हुन्छिन् । काठमाडौं, बुटवल, तम्घासमा रहेका छोरा, नाति र आफन्तसँग मोबाइलमा कुराकानी गर्ने उनको दिनचर्याजस्तै बनेको छ ।

सानो झोलामा राखेको मोबाइल भीमकुमारीको साथमा कहिल्यै टुट्दैन । केही समय अगाडि महिनौं सम्पर्क नहुने छोरा नातिसँग हप्तामा तीन/चार पटक सम्पर्क हुन थालेपछि उनी मख्ख छिन् ।

यो त केवल प्रतिनिधि उदाहरण मात्र हो । अहिले दुर्गम गाउँबाट समेत युवादेखि वृद्धासम्मले मोबाइलबाट टाढा रहेका आफन्तसँग कुराकानी गर्न थालिसकेका छन् । यो मुलुकभित्र टेलिफोन प्रविधिले मारेको फड्कोको उपज हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मंसिरसम्म ९७.६५ प्रतिशत जनसंख्याको पहुँचमा टेलिफोन सेवा पुगिसकेको छ । नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख रहेकोमा मंसिरसम्म दुई करोड ५८ लाख टेलिफोन सञ्जालमा आवद्ध भइसकेका छन् ।

टेलिफोन सेवामा भएको विकासले शहर र गाउँको दुरी घटेको छ । केही वर्ष अगाडिसम्म चिठीमार्फत खबर आदान प्रदान गर्नुपर्थ्याे । एक ठाउँको खबर अर्को ठाउँमा पुग्न महिनौं लाग्थ्यो ।

अब त्यो अवस्था रहेन । अहिले आफुले चाहेका बेला जहाँबाट जतिबेला पनि आफन्सँग कम शुल्कमै कुराकानी गर्न सकिन्छ । टेलिफोन सेवाको विस्तारले चिठी आदान–प्रदान गर्ने हुलाक कार्यालय अहिले कार्गो ओसार–पसारमा सीमित हुन पुगेका छन् ।

पछिल्लो समय मोबाइल आवश्यकता मात्र नभई रहरसमेत बनेको छ । दिनभर घरमा बस्ने वृद्ध–वृद्धाले समेत घरमा ल्याण्डलाइन फोन हुँदाहुँदै पनि मोबाइल चलाउने गरेको देखिन्छ ।

पछिल्लो समय टेलिफोन सेवा प्रदायक कम्पनीबीच प्रतिस्पर्धा चलिरहेको छ । यसको फाइदा सर्वसाधारण नागरिकलाई भएको छ । नेपाल टेलिकम, एनसेल, युटिएल, एसटीएम टेलिकम सञ्चार, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम लगायतले टेलिफोन सेवा प्रदान गरेका छन् ।

विगत पाँच वर्षकै अवधिमा टेलिफोन सेवा दुरगाउँसम्म पुगिसकेको छ । ०६७ मंसिरमा एक करोड ६ लाख ४१ हजार ४ सय ६६ जनाले टेलिफोन सेवा प्रयोग गर्थे । त्यो संख्या ०७१ मा आइपुग्दा बढेर दुई करोड ५८ लाख ७३ हजार १ सय ३७ पुगेको छ ।

मोबाइल सेवाको व्यापक विस्तार हुँदा समग्र टेलिफोन सेवाका ग्राहक बढेका हुन् । अहिले दुई करोड ५८ लाख टेलिफोनका ग्राहकमध्ये दुई करोड ३० लाख ग्राहक मोबाइलका मात्र छन् । ०६७ सालमा मोबाइल प्रयोगकर्ताको संख्या ९१ लाख ९५ हजार थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment