Comments Add Comment

लैनचौरमा बन्दैछ १० तलाको ‘होटल ली शेर्पा’

Gokarna-Forest-Resort

नविन अर्याल

२० फागुन, काठमाडौं । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको लगानीमा राजधानीको लैनचौरमा सुविधा सम्पन्न तारे होटल बन्ने भएको छ ।

स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै बनाउन लागिएको ‘होटल ली शेर्पा’ १० तलाको हुने छ । मार्च अन्तिम सातादेखि निर्माण सुरु हुने होटल टेबुलटेनिस कभर्ड हलको पछाडि चार रोपनी क्षेत्रफलमा फैलिने छ । होटलमा दुई अर्बको हाराहारीमा लगानी हुने अनुमान होटल व्यवस्थापन पक्षको छ ।

‘अहिले महानगरपालिकामा नक्सा पास गर्ने काम भइरहेको छ, नक्सा पास हुनसाथ निर्माण कार्य काम सुरु गरिहाल्छौं’ परियोजना संयोजक रमेश डंगोलले अनलाइनखबसँग भने- ‘निर्माण सुरु भएको तीन वर्षभित्र होटल सञ्चालनमा अउने छ ।’

होटलमा साधारण, डिलक्स र स्वीट गरी एक सय २० कोठा रहनेछन् । सानो एरियामा निर्माण हुने हुँदा होटल तीन वा चारतारे स्तरको हुने छ । होटलका सबै रुमहरु एट्याच बाथरुम सहित वातानुकिलत हुनेछन् ।

Le-Sherpa-Logoचल्तिका तीन/चार तारे होटलले उपलब्ध गराउने मूल्यमा ‘होटल ली शेर्पा’ले रुमहरु उपलब्ध गराउने जनाएको छ । होटलका मूख्य ग्राहकहरु विदेशी नागरिक तथा गैरआवासिय नेपाली हुने भए पनि स्वदेशीलाई पनि प्राथमिकता राखिने डंगोलले बताए ।

होटलको दशौं तलामा आकर्षक स्वीमिङ पुल रहने छ । जहाँबाट पानीको मज्जा लिँदै ठमेल तथा आसपासको क्षेत्र, हिमालहरु, सूर्योदय, सूर्यास्त, शिवपुरी निकुञ्ज, स्वयम्भुनाथ लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न पाइनेछ ।

ज्याकुजी, साउन, स्पा, मसाज, जीम लगायतका आवश्यक न्यूनतम सुविधाहरु होटलमा उपलब्ध गराइने छ । साथै, ठूलो कन्फ्ररेन्स हल, विभिन्न भेराइटीका रेष्टुरेन्टहरु पनि हुने छ । होटलमा क्यासिनो भने हुनेछैन् ।

‘क्यासिनो सहितको होटल निर्माण गर्नका लागि पाँचतारेमा जानुपर्ने हुन्छ, त्यसबाहेक बाहिर स्वीमिङ पुल चाहिन्छ’ डंगोलले भने- ‘कम्पाउन्डमा स्वीमिङ पुल र क्यासिनो सञ्चालन गर्न हामीसँग भएको जग्गाले पुग्दैन, जति जग्गा छ, यसैलाई अधिकतम उपयोग गर्दै सुविधायुक्त होटल चलाउने हो ।’

आङछिरिङ शेर्पा र लाक्पा सोनाम शेर्पा दाजुभाई मिलेर होटल सञ्चालन गर्न लागेका हुन् । होटलमा दुई तला अन्डरग्राउन्ड हुनेछ । लक्जरी होटलहरुले दिने सेवा सुविधा यस होटलमा पनि उपलब्ध हुने बताइएको छ ।

होटलको वातावरण प्रभाव मुल्याङ्कन (इआइए) गर्ने काम पनि अन्तिम चरण पुगेको छ । पर्यटन उद्योग महाशाखाबाट होटलको फाइल इआइएका लागि वातावरण मन्त्रालयमा पुगेको डंगोलले जानकारी दिए ।

होटल सञ्चालन गर्नुपूर्व ५० देखि १०० रुमसम्मका लागि प्रारम्भिक वातावरणीय परिक्षण (आईइइ) र सयभन्दा बढी रुम भएमा वातावरण प्रभाव मुल्याङ्कन (इआइए) अनिवार्य गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

पछिल्लो समय ठमेल तथा लैनचौर क्षेत्रमा होटल निर्माण तिब्र गतिमा बढिरहेको पाइन्छ । विश्वप्रख्यात होटल चेनहरु सेराटन, मेरियट तथा अलफ्टजस्ता ब्रान्डहरु यही क्षेत्रमा आउँदैछन् ।

आङछिरिङ शेर्पाले पनि पछिल्ला वर्षहरुमा होटलमा आफ्नो लगाउनी बढाउँदै लगेको छन् । उनले मुलुकका विभिन्न ठाउँमा होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका छन् भने झण्डै आधा दर्जन होटल निर्माणको तयारीमा छन् ।

शेर्पाको लगानीमा सोलुखुम्बुमा होटल सञ्चालन भइरहेको छ भने राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा पनि उनकै लगानी रहेको छ । राजधानीको महाराजगञ्जमा उनकै लगानीमा ‘ली शेर्पा रेष्टुरेन्ट’ सञ्चालनमा छ ।  यसका साथै उनले लाकुरीभञ्ज्याङ, पोखराको पामे, लुम्विनी लगायतका ठाउँहरुमा पनि उनले होटल निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment